१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

उफ..., कति गर्मी !

उखरमाउलो गर्मीले तराईको जिल्ला कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । प्रचण्ड गर्मीले यहाँको जनजीवन कष्टकर बन्दैछ । जेठको सुरुवातसंगै गर्मी निरन्तर बढ्दै गएको छ । गर्मीले मजदुर, कृषक, विद्यार्थी तथा वृद्धवृद्धा बढि प्रभावित भएका छन् ।  प्रचण्ड गर्मीले गर्दा सर्वसाधारणहरु घर बाहिर निस्कनै छाडेका छन् । जल तथा मौसम मापन विज्ञान विभागको कपिलवस्तु ईकाई रामनगरका रामु रेग्मीका अनुसार जिल्लाको सातायताको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन हुँदै आएको छ । न्युनतम तापक्रम पनि ३० डिग्री सेल्सीयसको हाराहारीमा रहने गरेको छ ।  

गर्मीका कारण दैनिक कामकाजमा समेत समस्या बढेको छ । गृहणीहरु किनमेलका लागि समेत बाहिर निस्कन छाडेका छन् । दिउँसो सवारी साधन र पैदल यात्रुसमेत सडकमा निकै कम देखिएका छन् । उता गर्मीले गर्दा सरकारी कार्यालयमा समेत सेवग्राहीको चाप घटेको छ । निकै भीडभाड हुने मालपोत, बिद्युत्, प्रशासन लगायतका कार्यालयमा सेवाग्राहीको संख्या पहिलाको तुलनामा कम छ ।  

दैनिक ज्यादा मजदुरी गरी परिवारको गुजारा चलाउँदै आएका मजदुरहरु समस्यामा परेका छन । तौहिलावमा बर्षौ देखि रिक्सा चलाएर पेट पाल्दै आएका जमिदार मुसलमाले चर्काे गर्मीले रिकस चलाउन गाह्रो परेको बताए । ‘काम गर्ने सकिन्न, यो उर्खमाउलो गर्मीले बस्न खान दिएन’ उनले मुखमा रहेको पसिना पुच्दै भने ।  

ओदारीका कृषक रामबृक्ष केवटले ३ कट्ठामा लगाएको तरकारी गर्मी र सुख्खाका कारण सुकेको बताए । गर्मीकै बढेका कारण जिल्लाका कपिलवस्तु, बुद्धभुमी र बाणगंगा नगरपालिका तथा यशोधरा र सुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका छन् । गर्मीले गर्दा अस्पतालहरुमा बिरामीको चाप निकै बढेको छ । खडेरीले गर्दा मुहान सकेर ठाउँठाउँमा खानेपानीको समस्या परेको छ ।

जिल्ला स्थित तौलिहवा, पिपरा, बहादुरगंज अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुग्नेमा वृद्धवृद्धा तथा बालबालिकाको संख्या बढि छ । तौलिहवा अस्पताल अकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुले दैनिक ३० देखि ५० जना झाडा पखाला, पेट दुख्ने र रिङटा लाग्ने, छालाका बिरामीहरु उपचारका लागि आउने गरेको बताए । अहिले तौलिहवा अस्पतालमा दैनिक सयदेखि ढेड सय जनासम्म गर्मीका कारण लाग्ने विभिन्न रोगका बिरामीहरु ओपिडी सेवा मार्फत् उपचार गराई रहेका छन् ।  

चिकित्सकहरुले अनिवार्य काम बाहेक दिउँसो घाममा बाहिर नहिड्न र प्रसस्त सफा पानी पिउन सुझाव दिएका छन् । बासी, सडेगलेका, म्याद नाघेका र बाहिर राखिएका वस्तु नखान र तातो हावा, चर्को घाममा छाता लिएर मात्र बाहिर निस्कन चिकित्सकले आग्रह गरेका छन् ।

 

प्रकाशित: ३० जेष्ठ २०८२ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App