१४ माघ २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पताल युरोलोजी विभागका सबै मेसिन बिग्रिएर शल्यक्रिया ठप्प

वीर अस्पतालको युरोलोजी विभागमा दैनिक चार सय बिरामी उपचारका लागि पुग्छन्, जो मिर्गौला तथा पिसाबनली, प्रोस्टेट र पत्थरी समस्याका हुन्छन्। उनीहरूमध्ये करिब १० प्रतिशत कुनै न कुनै शल्यक्रिया गर्नुपर्ने अवस्थाका हुन्छन्, तर वीरमा विगत ६ महिनाको अवधिमा पालैसँग शल्यक्रिया गर्दै आएका मेसिन बिग्रिएपछि नियमित शल्यक्रियाका बिरामी प्रभावित भएका छन्।

अस्पतालको युरोलोजी विभागका प्रमुख डा. रविन बस्नेतका अनुसार ६ महिनाअघि दुईवटा लेजर मेसिन बिग्रिएका हुन्। बाँकी दुईवटा लिथोप्लास र गिलिटर टिक्टर गरी चारवटा मेसिन बिग्रिएका हुन्। तीमध्ये गिलिटर लिथोपलास एक साताअघि मात्र बिग्रिएको हो। सबै मेसिन बिग्रिएपछि जटिल तथा आकस्मिक शल्यक्रियाका बिरामीको हकमा चिरेरै भए पनि शल्यक्रिया गर्नुपर्ने स्थिति रहेको डा. बस्नेतले बताए। बिग्रिएका मेसिन न मर्मत हुन सकेका छन्, न त नयाँ खरिदबाट प्रतिस्थापन।

बिग्रिएका मेसिनमध्येमा लेजरले पेटमा प्वाल पारेर ठूलो पत्थरी फुटाउने, क्यान्सरको शल्यक्रिया गर्ने र पिसाब नलीमा अड्किएको पत्थरी फुटालेर निकाल्ने प्रविधिका मेसिन हुन्। यी मेसिन धेरै पुराना र दैनिक धेरै संख्यामा शल्यक्रिया हुने भएकाले छिटै बिग्रिएका हुन्। धेरै प्रयोग भएकैले भित्रका पार्टपुर्जा पनि उत्तिकै बिग्रने गरेको डा. बस्नेतले सुनाए। तर समयमै भित्री औजार पनि आपूर्ति नहुँदा यो विभागले धेरै समस्या झेल्नुपरेको बताए।

विभागमा चारजना युरोलोजिस्टका भरमा सातामा औसत ६५ वटा शल्यक्रिया हुने गरेको छ। गत वर्षको तथ्यांक हेर्ने हो भने यो विभागबाट मात्र ३६ सय शल्यक्रिया भएको थियो। सबैभन्दा बढी शल्यक्रिया भएकै कारण उपकरण बेलाबखत बिग्रने गरेको उनी बताउँछन्। हाल बिग्रिएर रहेका मेसिन कम्तीमा आठदेखि १५ वर्ष पुराना छन्।

उपकरण बिग्रिएपछि पटकपटक प्रशासनमा अनुरोध गर्दा पनि समयमा पुराना मर्मत र नयाँ खरिद हुन नसकेको बस्नेतले सुनाए। ‘पटकपटक प्रशासनमा मौखिक रूपमा भनें, लिखित रूपमा पनि भनें, तर सामान बनेन, नयाँ खरिद भएन। बिरामीहरू दिनहुँ हामीलाई थर्काउँछन्,’ उनले भने।

सबै उपकरण बिग्रिएपछि अति आकस्मिकबाहेक अन्य शल्यक्रिया रोकिएको डा. बस्नेतले बताए। पालैसँग बिग्रिएका उपकरणको प्रक्रिया पुर्याउने क्रममै ढिलाइ भएको अस्पतालको खरिद एकाइले जनाएको छ। खरिद एकाइकी प्रमुख लीला राईका अनुसार महालेखापरीक्षकको खरिद प्रक्रियाअनुसार नयाँ उपकरण खरिद गर्नुअघि मेसिन बिग्रिएको पुष्टि हुनुपर्छ, त्यसपछि कुन कम्पनीको किन्ने हो त्यो कम्पनीबाट खरिद गर्न खोजिएको हालको मूल्य कम्पनीको लेटर हेडमा मूल्य हुनुपर्छ। लेटरहेडमा आएको मूल्य नेपालस्थित सोही कम्पनीको डिलरमार्फत खरिद हुनुपर्छ।

सुरुमा बिग्रिएको मेसिनको पुष्टि गर्न समय लागेको त्यसपछि नेपालस्थित जर्मनी कम्पनीको बिक्रेताले लेटरहेडसहितको मूल्य पठाउन अनुरोध गरे पनि अहिलेसम्म दिन नसकेकाले समयमै खरिद हुन नसकेको खरिद एकाइ प्रमुख राईले बताइन्। पहिलो मेसिनका लागि स्थानीय कम्पनीले पहिलोपटक दररेट पत्र पठाए पनि आधिकारिक मूल्यभन्दा बढी रेटमा पठाएकाले प्रक्रिया अघि बढ्न नसकेको राई बताउँछिन्। ‘जर्मनी कम्पनीकै लेटरहेडमा दररेट मगाउनुपर्छ। यहाँको कम्पनीले सहयोग गरिरहेको छैन,’ उनले भनिन्। बजार मूल्यभन्दा बढी दररेटमा खरिद गरेमा महालेखापरीक्षकबाट अप्ठेरो पर्ने उनको भनाइ छ।

तर पछिल्लो सानो मेसिनको दर रेट भने आइतबार नै आइसकेको र छिटै खरिद प्रक्रिया अघ बढ्ने राईले जानकारी दिइन्। ‘ठूलो मेसिन ठूलो ढुंगा फुटाउनका लागि हो। सानो मेसिन आए पनि काम चल्छ,’ उनले भनिन्।

प्रकाशित: १४ जेष्ठ २०८२ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App