खोटाङ सदरमुकामस्थित जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको छ। हाल १५ शय्यामा सञ्चालित अस्पतालललाई प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि नै ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो।
खोटाङबाट प्रदेशसभा सदस्य निर्वाचित भइ भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका स्वास्थ्यमन्त्री भूपेन्द्र राईका अनुसार गत सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको हो। गत वैशाख १ गते आफूले अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने मन्त्री स्तरको विभागीय निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको राईले बताए।
स्वास्थ्य सेवामा जिल्लावासीको सहज पहुँच विस्तार गर्न अस्पताललाई स्तरोन्नति गरी १५ शय्याबाट ५० मा पुर्याइएको राईले बताएका छन्। जिल्लावासीलाई नयाँ वर्ष ०८२ को उपहारस्वरुप अस्पताल स्तरोन्नतिको निर्णय गरेर मन्त्रिपरिषदमा पेस गरेको राईले बताए। आफ्नो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृति प्रदान गरेसँगै अस्पतालको स्तरोन्नति भएको मन्त्री राईले बताए।
पहाडी जिल्ला खोटाङ प्रदेशका १४ मध्ये विकटमा पर्ने जिल्ला हो। प्राथमिकस्तरबाहेक ठूलो सामान्य रोगको उपचार सेवा लिन पनि जिल्लावासी नागरिक उदयपुर सदरमुकाम गाईघाट, धरान, विराटनगर र काठमाडौं जानुपर्ने बाध्यता छ। जटिल खालको उपचार र आकस्मिक घट्नामा पर्दा त महँगो खर्चमा हेलिकोप्टर चार्टर नगरी खोटाङवासीलाई सुखै छैन। ५० अस्पताल शय्यामा स्तरोन्नतिको निर्णय भएसँगै त्यो बाध्यता कम हुने अपेक्षाले खोटाङवासी हर्षित भएका छन्।
स्तरोन्नतिको निर्णय अनुसार अब अस्पतालमा यसअघि आठौँ तहका डाक्टरसहित ३० जनाको दरबन्दी बढेर ११ औँ तहका विशेषज्ञ डाक्टरसहित ५० जना दरबन्दी स्वीकृत भएको छ। नयाँ व्यवस्था अनुसार ११ औँ तहका कार्यालय प्रमुख (मेसु)को कमाण्डमा विभिन्न ८ जना विशेषज्ञ डाक्टरले अस्पतालमा सेवा दिनेछन्। प्रदेश स्वास्थ्य मन्त्रालयले तत्कालै स्वीकृत दरबन्दी अनुसार चिकित्सक अस्पतालमा खटाएर स्वास्थ्य सेवा सुरु गर्ने जनाएको छ।
हाललाई २० जना विशेषज्ञ चिकित्सक स्वास्थ्यकर्मी अस्पताल पठाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आगामी आर्थिक वर्ष सुरु भएपछि खोटाङवासीलाई पर्याप्त स्वास्थ्य सेवा प्रदान गर्ने गरी जनशक्ति र भौतिक उपकरणको जोहो गर्ने प्रदेश सरकारले जनाएको छ।
अस्पताललाई स्तरोन्नति गर्न पटकपटक जिल्लावासीले माग गर्दै आएका थिए। जस अनुसार पूर्वाधार तयार गर्न अत्याधुनिक भवन निर्माणसमेत भइरहेको छ। सङ्घीय सरकार, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले सुविधासम्पन्न भवन निर्माण गर्न ०७८ असार २४ गते नै ठेक्का लगाइसकेको छ। मूल्य अभिवृद्धि कर (भ्याट) सहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा भवन निर्माणको जिम्मा श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले पाएको छ।
४ तले भवन ३० महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि तोकिएको म्याद ०८० पुस २४ भित्र भवन निर्माण नसकिएपछि ०८१ मङ्सिर २९ गतेसम्मका लागि ११ महिना म्याद थप गरिएको थियो। तर, थप म्यादभित्र पनि भवन नसकिएपछि पुनः आउँदो असार मसान्तसम्मको म्याद थपेर काम भइरहेको छ।
अस्पताल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले भवनको काम हलसम्म ७५ प्रतिशत हाराहारी सम्पन्न भएको बताए। भवन निर्माणको अन्तिम चरणमा पुगेको र ५० शय्यामा स्तरोन्नति पनि भएकाले अब धेरैजसो उपचार सेवा खोटाङवासीले जिल्लाबाटै पाउने अपेक्षा पलाएको उनको भनाइ छ।
स्वीकृत स्तरोन्नति अस्पतालमा आकस्मिक, ओपीडी, शल्यक्रियाा, एक्सरे, फार्मेसी सेवा पाइनेछ। प्रसूति शल्यक्रिया, आईसीयु, क्याविनसमेतको सेवा दिइने अस्पतालमा मुटु, मिर्गौला, हाडजोर्नी, छाला तथा यौन सौन्दर्य, जेनेरललगायत सबैखाले उपचार सेवाको व्यवस्था हुने अध्यक्ष राईले बताएका छन्।
प्रकाशित: १४ जेष्ठ २०८२ १४:२५ बुधबार





