१४ पुस २०८२ सोमबार
image/svg+xml
स्वास्थ्य

सरकारी खर्चमा विदेशमा नेताको उपचार हुनै छाड्यो

पाँच वर्ष अघिसम्म नेपालका नेता तथा उच्च ओहोदाका व्यक्तिहरू केही भयो कि उपचारको लागि विदेश पुगिहाल्थे। त्यो पनि सरकारी सेवा सुविधामा। 

तर, विगत तीन चार वर्षयता नेता तथा उच्च पदस्थ व्यक्तिहरू उपचारको लागि सरकारी सुविधामा विदेश जाने क्रम रोकिएको वीर अस्पताल मेडिकल बोर्डले जनाएको छ। यो अवधिमा आगलागीमा परेर गम्भीर बिरामी परेका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीबाहेक अन्य नेता सिफारिस लिन नआएको वीर अस्पताल मेडिकल बोर्डका सदस्य अरुण महतले बताए।

‘दुई वर्ष अघि नेपालमा उपचार सम्भव नभएपछि सांसद चन्द्र भण्डारी भारत जानु भएको थियो, त्यसपछि कुनै पनि नेता सिफारिस लिन आउनु भएको छैन,’ महतले भने। 

पाँच वर्षअघि सरकारले नीतिगत रूपमै नेपालमा सम्भव हुने उपचारको लागि विदेश जाँदा सुविधा नपाइने नियमावली कार्यान्वयन गरेपछि सरकारी खर्चमा उपचार गर्न विदेश जाने क्रम रोकिएको जानकारहरू बताउँछन्।

पूर्व स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा भिआइपीको नाममा अनावश्यक रूपमा विदेश गएर उपचार गर्न नपाइने प्रस्ताव पहिलो पटक संसद्मा पेस भएको थियो। संसदबाट पारित भएपछि उनकै पालामा नियमावली बनेको थियो। नियमावली बने पनि समयमै लागु हुन सकेको थिएन। पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यो नियमावलीलाई लागु गर्न सुरु गरेका थिए। उनकै कार्यकालमा भिभिआइपी र भिआइपीको उपचारको लागि १५ सदस्यीय उपचार समिति गठन भएको थियो। 

यो उपचार समितिमा राष्ट्रिय चिकित्सा प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्र बस्नेत संयोजकत्वमा डा. भगवान् कोइराला र डा. राम कण्ठ माकाजुलगायत सदस्य छन्। 

उक्त नियमावली कार्यान्वयन भएयता निजी खर्चमा उपचारमा गएको हुनसक्ने तर सरकारी खर्चमा जानको लागि माग नभएको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बस्नेत बताउँछन् । ‘घुम्न जाने बहानामा उपचारमा गएको हुन सक्छन्, त्यो जानकारी छैन,’ उनले भने, ‘तर राष्ट्रिय मेडिकल बोर्डको सिफारिसमा उपचार गर्न गएको देखिँदैन।’

नेपालमा पछिल्लो समयमा विकास भएको विशिष्ट चिकित्सा सेवा र आवश्यक उपकरणको उपलब्धताको कारण विशिष्ट व्यक्ति तथा नेताहरू समेत नेपालमै उपचार गर्न थालेको डा. बस्नेतको तर्क छ। ‘एकाध नेता निजी निर्णय र निजी खर्चमा गएका हुन सक्छन्। अन्यथा नेपालमै उपचार गरेको हुनु पर्छ,’ उनले भने। 

तर, वीर अस्पतालमै राखिएका भिआइपी र भिभिआइपी उपचार कक्षमा भने नेता तथा उच्च पदस्थ व्यक्ति नआइरहेको डा. बस्नेत बताउँछन्। उनकाअनुसार यो वर्ष नआए पनि अघिल्ला वर्षहरूमा भने केही नेता आएका छन्। 

वीरमा आउनेमा पूर्व राष्ट्रपति राम वरण यादव एक साता नै भर्ना भई उपचार गराएका थिए। त्यसै गरी अन्य नेताहरू पनि आएर उपचार गरेको उपकुलपति बस्नेतले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार २०७९ सालमा अर्थ मन्त्रालयले सरकारी खर्च मितव्ययी हुनु पर्ने निर्देशिका जारी गरेको कारण पनि विदेशमा उपचार सुविधा लिनेको संख्या कम हुँदै गएको बताए । ‘राष्ट्रिय मेडिकल बोर्डले नेपालमा सम्भव हुने उपचारको लागि विदेश जाने सिफारिस नै दिँदैन, यो कारण पनि रोकिएको हुनसक्छ,’ उनले भने। 

तर नेपालको निजी र सरकारी दुवै अस्पतालमा गर्ने खर्च चाहिँ नेपाल सरकारकै खर्चबाट हुने गरेको उनले बताए । पाँच वर्ष अघिसम्म नेपालमा विदेश उपचार गर्न जाने नेता तथा मन्त्रीको लागि वार्षिक रूपमा करोडौँ खर्च हुन्थ्यो। अहिले त्यो घटेको छ। 

प्रकाशित: १३ जेष्ठ २०८२ १८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App