पुरुष हुन् या महिला, दुवैका लागि प्रजनन स्वास्थ्य अधिकार समान हुन्छ । तर नेपालमा पुरुष प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी विशेषज्ञ चिकित्सक एकजना पनि नभएको नेपाल मेडिकल काउन्सिल र जनस्वास्थ्यविद्हरु बताउँछन् ।
जनस्वास्थ्यविद् डा. लक्ष्मी तामाङ नेपालमा हालसम्म पुरुष प्रजनन तथा यौन स्वास्थ्यसम्बन्धी एकजना पनि विशेषज्ञ चिकित्सक नभएको बताउँछिन् । र, उनका अनुसार नेपालमा यससम्बन्धी सेवा दिइरहेका कुनै पनि चिकित्सक विशेषज्ञ होइनन् ।
नेपाल मेडिकल काउन्सिलका सदस्य कालुसिंह खत्रीले हालै राजधानीमा आयोजित एक कार्यक्रममा काउन्सिलमा अहिलेसम्म पुरुष प्रजनन तथा यौनसम्बन्धी विशेषज्ञ (एन्ड्रोलोजिस्ट) दर्ता नभएको बताए । उनका अनुसार नेपालमा पुरुष प्रजनन तथा यौन रोगसम्बन्धी विशेषज्ञ नभए पनि यो रोगको उपचार भने भइरहेको छ । पुरुष प्रजनन तथा यौनसम्बन्धी विशेषज्ञ नभए पनि यसको उपचार भने अन्य विशेषज्ञ चिकित्सकले गरिरहेको उनले बताए । ‘यससम्बन्धी विशेषज्ञ चिकित्सक नभए पनि अन्य चिकित्सकले उपचार गरिरहेका छन, उपचार नै रोक्नु परेको छैन,’ उनले भने । तर यससम्बन्धी विज्ञ चिकित्सक भए उपचारमा विशिष्टीकृत सेवा र गुणस्तर कायम हुने खत्री बताउँछन् ।
नेपालमा यससम्बन्धी पढाइ पनि नहुने र विशेषज्ञ पनि नभएको तामाङ र खत्री बताउँछन् । ‘विकसित राष्ट्रहरुमा हरेक रोग र शरीरका अंगअंगहरुको विज्ञ चिकित्सक हुन्छन्, नेपालमा अझै त्यस्तो भइसकेको छैन,’ खत्रीले भने । हरेक अंगको विशेषज्ञ सेवा आफैंमा महंगो पर्ने नेपालजस्तो निम्न आय भएको देशमा चिकित्सक आफैं पनि टिक्न कठिन पर्न जाने हुनाले पुरुष प्रजनन तथा यौन विशेषज्ञ नभएको खत्रीको तर्क छ ।
जनस्वास्थ्यविद् तामाङ भने कुल जनसंख्याको ४९ प्रतिशत पुरुषका लागि एउटा पनि विशेषज्ञ चिकित्सक नहुनुले पुरुष नै मर्कामा परेको बताउँछिन् । उनका अनुसार पुरुष प्रजनन विशेषज्ञ चिकित्सक नभएपछि समस्यामा परेका पुरुष कहिले छालारोग विशेषज्ञ त कहिले मूत्र तथा मिर्गौला रोग विशेषज्ञसँग उपचार सेवा लिन विवश छन् । ‘पुरुषमा पनि यौन तथा प्रजनन समस्या हुन्छ तर उसले कहिले छारारोग विशेषज्ञको भरमा त कहिले मूत्ररोग विशेषज्ञको भरमा उपचार गराउनु पछछ,’ उनले भनिन् ।
तामाङका विचारमा महिलामा जस्तै यौन तथा प्रजनन स्वास्थ्य समस्या पुरुषमा पनि हुन्छ तर पुरुषले मनोसामाजिक सोचका कारण यो समस्या भन्दैनन् । जसका कारण बाँझोपन हुनुको आरोप महिलामाथि लाग्ने गरेको छ । यसबाहेक पुरुषमा हुने यौन दुर्बलता तथा अन्य जटिलताको दोष पनि महिलामाथि थुपारेर सम्बन्धविच्छेदसमेत हुने गरेको देखिन्छ । यस विषयमा छुट्टै अनुसन्धान हुन नसक्नुले पनि समस्याबारे आमजानकारी नभएको हो । तामाङ भन्छिन, ‘नेपालमा गत वर्ष ४० हजार जोडीको सम्बन्धविच्छेद हुनुमा आपसी यौन सम्बन्धमा आएको समस्या हुन सक्छ ।’
महिलाको यौन तथा प्रजनन अधिकारका लागि नेपालमा पर्याप्त नीतिगत व्यवस्था र कार्यक्रम भए पनि पुरुषको हकमा त्यस्तो कुनै व्यवस्था र कार्यक्रम नहुनुले यो अधिकारका लागि पुरुष प्रताडित भएको तामाङ बताउँछिन् । पुरुषको लागि केही संख्यामा भए पनि पुरुष प्रजनन स्वास्थय विशेषज्ञ चिकित्सक हुनुपर्ने उनको तर्क छ । ‘पुरुषको पनि प्रजनन तथा यौन समस्याको उपचार पाउने अधिकार सुरक्षित हुनुपर्छ, उनीहरु समस्यमा छन तर भन्दैनन्,’ उनले भनिन् ।
प्रकाशित: ११ जेष्ठ २०८२ १८:१९ आइतबार





