सरकारले नीति तथा कार्यक्रममा चितवनको भरतपुर अस्पतालसहित चारवटा ठाउँमा एमबिबिएस तहको अध्यापन गराउने विषय समावेश गर्यो। सोही नीतिअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसका कक्षा सञ्चानल भए, तर चितवनको भरतपुर अस्पताल र वीर अस्पतालमा भने एमबिबिएसको कार्यक्रम रोकिएको छ।
एमबिबिएसका कक्षा सञ्चालनका लागि मापदण्ड पूरा भए पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले (न्याम्स) अनुमति नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले जानकारी दिए। ‘यहाँ २०६९ सालदेखि स्वास्थ्यका शैक्षिक कार्यक्रम सुरु भएका हुन्। अहिलेसम्म आउँदा एमबिबिएस पढाउन सम्पूर्ण मापदण्ड पुगिसकेको छ’, अध्यक्ष पौडेलले भने, ‘अध्यापनका लागि अनुमति दिएमा हामी कक्षा सञ्चालन गर्न सक्छौँ।’
सरकारले २०८१/८२ को रातो किताबमा एमबिबिएसको कक्षा सञ्चालनका लागि चारवटा अस्पताललाई पाँच करोड रूपैयाँ बजेट विनियोजनसमेत गरेको थियो। सोहीअनुसार भरतपुर अस्पतालले कक्षा सञ्चालन गर्न गत जेठमा विज्ञापनसमेत खुलाएको थियो। न्याम्सले अनुमति नदिएपछि कार्यक्रम रद्द गर्नुपरेको अध्यक्ष पौडेलले बताए।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले कक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगबाट अनुमति लिनुपर्ने हुन्छ। यी दुई संस्थाबिच समन्वय हुन नसक्दा वीर र भरतपुरमा एमबिबिएसका कार्यक्रम रोकिएको उनको बुझाइ छ। ‘न्याम्सले चिकित्सा शिक्षा आयोगसँग गर्ने प्रक्रिया समयमा गर्न नसक्नु र सरकारले बजेटको सुनिश्चितता गर्न नसक्दा हाम्रा कार्यक्रम रोकिए’, उनले भने, ‘न्याम्सले अनुमति दिए स्रोतको सुनिश्चितता हामी गर्छौं।’
सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा पनि यसै वर्षदेखि एमबिबिएस पठनपाठनको तयारी गरिरहेको छ, तर मापदण्ड पुगेको र बजेटसमेत परेको समयमा न्याम्सले अनुमति नदिँदा कक्षा सञ्चालन गर्न नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल बताउँछन्।
उनका अनुसार भरतपुर अस्पतालमा एमबिबिएसका लागि आवश्यक पर्ने प्रोफेसर छन्। ‘हामीसँग तत्कालका लागि केही एसोसिएट प्रोफेसर भए पुग्छ’, उनले भने, ‘भौतिक संरचनासमेत मापदण्डअनुसार तयार भइसकेका छन्।’
एमबिबिएसका लागि सरकारले पचास जनाको कोटा दिएको थियो। राजधानी बाहिर एकजना विद्यार्थीले ४५ लाख रूपैयाँ तिर्नुपर्ने हुन्छ। विद्यार्थीको शुल्क र अस्पताल विकास समितिको बजेटबाट एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि आवश्यक बजेट पुग्ने दाबी उनको छ। यहाँ अहिले बिएसी नर्सिङ, बिएनएस, एमडिएमएसका कक्षा सञ्चालन छन्। फेलोसिपमार्फत नवजात शिशु र स्पाइनल सर्जरीसम्बन्धी एमडिएमएसका कक्षा सञ्चालन भएको उनले बताए।
भरतपुर अस्पताल संघीय अस्पतालमा पर्दछ। यहाँ दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गर्दछन्। अस्पताल प्रशासनले एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीलाई भेट्ने र अनुरोध गर्ने गरिरहन्छ। केही दिनअघि भरतपुर अस्पतालमा आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एमबिबिएसका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
‘एमबिबिएस कार्यक्रम एकेडेमिक कार्यक्रम हो। स्वास्थ्य मन्त्रालयसँग मात्रै हैन, चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित कार्यक्रम हो। अघिल्लो वर्ष आयोगले नै स्वीकृत नदिँदा यो अस्पतालले एमबिबिएस पढाउन पाएन। यो वर्ष हामीले अहिल्यै आयोगलाई पत्र लेखेर अनुमति मागिसकेका छौं’, उनले भनेका थिए।
विगतमा प्रतिष्ठान नहुँदा भरतपुरले एमबिबिएस कार्यक्रम नपाएको उनले बताए। प्रतिष्ठान नभए पनि मन्त्रालयकै पहलमा भरतपुरमा एमबिबिएस सञ्चालन हुने उनको भनाइ थियो। अहिले रहेका प्रतिष्ठानहरूलाई पनि एकीकृत ऐन बनाएर सञ्चालन गरिने योजना रहेको उनले बताए।
प्रकाशित: ७ जेष्ठ २०८२ १०:४० बुधबार





