२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

एसियामा कोभिडको नयाँ लहर : सिंगापुरमा १४ हजार बढी संक्रमित, चीनमा उच्च सतर्कता

एसियाका धेरै देशमा कोभिड-१९ का संक्रमितहरू फेरि बढ्न थालेका छन्। सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा नयाँ संक्रमितहरूको संख्या निकै बढेको छ। यो वृद्धिका लागि ओमिक्रोनको नयाँ भेरियन्ट जे.एन.१ र यसका उप-भेरियन्ट एल.एफ.७ र एन.बी.१.८ जिम्मेवार छन्।

मे महिनाको सुरुमा सिंगापुरमा १४ हजार भन्दा बढी संक्रमितहरू फेला परेका थिए। अप्रिलको अन्तिम साता यो संख्या करिब ११ हजार एक सय थियो। त्यहाँ संक्रमितहरू २८ प्रतिशतले बढेका छन्। अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि ३० प्रतिशतले बढेको पाइएको छ।

रिपोर्टहरूका अनुसार अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढे पनि गम्भीर (आईसीयू) बिरामीको संख्या भने घटेको छ। अधिकारीहरूले यी नयाँ भेरियन्टहरू पहिलेभन्दा बढी खतरनाक वा छिटो फैलिने कुनै प्रमाण नभएको बताएका छन्। तर उनीहरू भन्छन्, ‘यसले कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिसहरूलाई असर गर्न सक्छ।’

चीन र थाइल्याण्डका सरकारहरू कोभिडको अवस्थाप्रति सजग छन्। चीनमा जाँचका लागि जाने बिरामीहरूमा कोभिड संक्रमण दोब्बर पाइएको छ। चाइनिज सेन्टर फर डिजिज एण्ड प्रिभेन्सनको तथ्यांकले ‘कोभिडको लहर चाँडै तीव्र हुन सक्छ’ भनेको छ। यसैगरी थाइल्याण्डका दुई क्षेत्रमा कोभिड संक्रमितहरू तीव्र रूपमा बढेका छन्। मानिसहरूलाई बूस्टर खोप लगाउन सुझाव दिइएको छ।

जे.एन.१ भेरियन्ट ओमिक्रोनको बी.ए.२.८६ को एक प्रकार हो, जुन सन् २०२३ को अगस्टमा पहिलोपटक देखिएको थियो। डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई ‘रुचिको भेरियन्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० वटा उत्परिवर्तन छन्, जसले रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउँछ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ‘जे.एन.१ पहिलेभन्दा सजिलै फैलिन्छ, तर यो धेरै गम्भीर छैन।’ यो विश्वका धेरै ठाउँमा सबैभन्दा सामान्य भेरियन्ट बनेको छ। जे.एन.१ का लक्षणहरू केही दिनदेखि हप्तासम्म रहन सक्छन्।

अध्ययनहरूका अनुसार जे.एन.१ लाई निष्क्रिय गर्न प्रतिरक्षा प्रणालीलाई कठिनाइ हुन्छ। पहिलाका खोप वा संक्रमणबाट बनेका एन्टिबडीहरू यसविरुद्ध कम प्रभावकारी छन्। तर एक्स.बी.बी.१.५ मोनोभ्यालेन्ट बूस्टर खोपले जे.एन.१ सँग लड्न मद्दत गर्छ। विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘एक्स.बी.बी.१.५ मोनोभ्यालेन्ट बूस्टरले शरीरमा एन्टिबडीहरू बढाउँछ र जे.एन.१ बाट हुने रोगलाई १९ प्रतिशतदेखि ४९ प्रतिशतसम्म रोक्न सक्छ।’ यो बूस्टर खोप विशेष रूपमा ओमिक्रोनको एक्स.बी.बी.१.५ उप-भेरियन्टलाई लक्षित गरेर बनाइएको हो। एजेन्सी

प्रकाशित: ५ जेष्ठ २०८२ १६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App