जिल्लामा रेबिजविरुद्धको खोप नहुँदा बिरामी समस्यामा परेका छन्। उनीहरू खोप लगाउन जिल्लाबाहिर जान बाध्य छन्। जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार तीन हप्तादेखि अस्पतालमा रेबिज खोप छैन।
यसबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी दिँदा पनि खोप उपलब्ध भएको छैन। उनले भने, ‘तीन हप्तादेखि यहाँ रेबिजविरुद्धको खोपको अभाव छ। खोप अभावबारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेका छौँ।’
जिल्लाका तीन ठाउँमा रेबिज खोप दिइन्छ। सदरमुकामको जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप दिइने गरिन्छ। तर, अहिले अस्पताल र स्वास्थ्य केन्द्रमा खोप नहुँदा जनावरले टोकेर आएका बिरामी जिल्लाबाहिर जान बाध्य छन्।
कुनै जनावरले टोकेमा एक व्यक्तिले तीन मात्रा रेबिज खोप लगाउनुपर्छ। तर खोप नहुँदा बिरामीलाई फर्काउनुपरेको छ। कुकुर, बिरालोजस्ता घरपालुवा जनावर र स्याल, ब्वाँसोजस्ता जंगली जनावरले टोकेमा रेबिज खोप लगाउनुपर्छ।
रेबिज भाइरसबाट लाग्ने रोग हो। यो मुख्य रूपमा जनावरमा लाग्छ, तर सङ्क्रमित जनावरबाट मानिसमा पनि सर्छ। यो भाइरस सङ्क्रमित जनावरको र्यालमा हुन्छ र टोक्दा मानिसमा सर्छ। सङ्क्रमित र्यालले आँखा, मुख वा खुला घाउबाट पनि सङ्क्रमण हुन सक्छ।
रेबिज लागेमा ज्वरो, झमझमाहट, टोकेको ठाउँमा दुखाइ हुन्छ। पानी र हावासँग डराउने, चिडचिडाहट, रिसाउने जस्ता लक्षण देखिन्छन्। रेबिजले आँखा, नाक, मुख र शरीरमा घाउ बनाउँछ र अरूलाई पनि सर्न सक्छ। बिरामीले पानी पिउँदा घाँटी दुख्छ। रेबिजले स्नायु प्रणाली र श्वासप्रश्वासमा बाधा पुर्याउँछ। यसले हृदयाघात र मृत्यु पनि निम्त्याउन सक्छ। रासस
प्रकाशित: ४ जेष्ठ २०८२ ०९:०५ आइतबार