२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘कुष्ठरोग उल्मूलन चुनौतीपूर्ण देखिएको छ’

नेपालमा हालसम्म करिब दुई लाखकोे सङ्ख्यामा कुष्ठरोगका बिरामी रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  नेपालले विसं २०६६ मा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम कुष्ठरोगलाई जनस्वास्थ्य समस्याका रूपमा नरहेको घोषणा गरिसकेको छ ।

कुष्ठरोग उल्मूलनसम्बन्धी विश्वव्यापी लक्ष्यअनुरुप नेपालले सन् २०३० भित्र कुष्ठरोग उल्मूलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त लक्ष्य पूरा गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रयासरत छ । विगत दश वर्षयत प्रत्येक वर्ष औषतमा दुई हजार ८६७ जनाका दरले नयाँ बिरामी फेला परेका मन्त्रालयले जनाएको छ ।

नेपालमा १८ जिल्लामा मापदण्डभन्दा बढी अर्थात् प्रतिदश हजारमा एकजना कुष्ठरोगी फेला परिरहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले डा विकास देवकोटाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा भेटिएका छन् । मुलुकका ७७ जिल्लामध्ये १८ जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेकाले यसको उल्मूलन चुनौतीपूर्ण देखिएको उनले बताए।

नेपालमा कुष्ठरोगका कारणले झण्डै दुई लाख जना व्यक्ति प्रभावित भएका जनाउँदै डा देवकोटाले त्यसमध्ये करिब ३० हजार अपाङ्गता भएका व्यक्ति रहेका अनुमान गरिएको बताए।

नेपालमा कुष्ठरोग प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यको आर्थिक स्थिति चिन्ताजनक रहेको मन्त्रालयका अधिकारहरू बताउछन् । प्रभावित व्यक्तिमध्ये कम सङ्ख्यामा मात्र रोजगारी प्राप्त गरेका छन् भने रोजगारीका लागि आवश्यक पर्ने सीप र अनुभव नभएका व्क्ति बढी रहेका मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन तथा अन्य सङ्घ, सङ्संस्थासँगको सहकार्यमा मन्त्रालयको स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मातहत रहेको कुष्ठरोग नियन्त्रण तथा व्यवस्थापन शाखाबाट कुष्ठरोगको उल्मूलन गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्घीय सरकारबाट जारी भएको राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८ २०८२) कार्यान्वयनमा छ । सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कुष्ठरोगका कारण बिरामी परेका व्यक्तिलाई नि:शुल्क औषधि उपलब्ध गराएको छ ।

नेपाल विश्व स्वास्थ्य सङ्गठनको २३ वटा प्राथामिकता प्राप्त मुलुकमध्येमा परेको छ भने विगत दश वर्षमा प्रत्येक वर्ष करिब दुई हजार ८६७ नयाँ बिरामी दर्ता हुने गरेका सचिव डा देवकोटाले जानकारी दिए। “सन् २०२३ मा मात्र दुई हजार ५२२ नयाँ बिरामी दर्ता भएका थिए । जसमा एक हजार ४९ जना अर्थात् ४२ प्रतिशत महिलाको सङ्ख्या थियो”, उनले भने।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुष्ठरोग उन्मूलनका लागि नयाँ रणनीति निर्माण गरिने बताएका छन्। आज यहाँ आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’मा उनले सन् २०३० सम्म यो रोग उन्मूलनका लागि प्राथमिकता निर्धारण गर्दै आवश्यक रणनीति अख्तियारको आवश्यकता औँल्याए।

मन्त्री पौडेलले यस सम्मेलनले अब बन्ने रणनीतिमा स्पष्टता ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे। धेरै सङ्घसंस्थाको सहकार्यका बाबजुत उन्मूलन अभियानले तीव्रता लिन नसकेको स्वीकार गर्दै उहाँले त्यसका लागि कानुनी र सामाजिक दुवै पक्षमा काम गर्नुपर्नेमा जोड दिए।

“हामीले प्राथमिकतालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने गरी निर्धारण गर्न सकेका छैनौँ  । आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन । परिस्थिति बुझेर त्यसअनुरुपको योजना निर्माण भएको छैन”, मन्त्री पौडेलले भने, “यस सम्मेलनले सन् २०३० सम्म यो रोग नेपालबाट सधैँका लागि उन्मूलन गर्ने सङ्कल्प गर्न जरुरी छ । यहि सङ्कल्पका साथ अघि बढौँ ।”

उनले कुष्ठरोग उन्मूलनका लागि आवश्यक कानुन निर्माणसँगै समाजमा जनचेतना अभिवृद्धिको पाटो महत्त्वपूर्ण भएको बताए। प्रभावित समाजमा खुल्न नसक्दा उन्मूलनमा चुनौती देखिएकाबारे चर्चा गर्दै उहाँले स्थानीय तहसँग समन्वय र सहकार्य आवश्यक पर्नेमा जोड दिए।

मन्त्री पौडेलले मधेस प्रदेशमा प्रभावितको सङ्ख्या बढी देखिनुको कारण खोज्नुपर्ने र सोहीअनुरुप रणनीति बनाउने बताए। साथै दातृ निकायलाई प्राथमिकताका साथ बिरामीप्रति विश्वास दिलाउन सुझाव दिए।

“पहिल्यै उन्मूलन भइसकेको भन्ने कुरा पनि आइरहेको छ । फेरि यो समस्या किन देखियो भन्ने विषयसँग जोडेर त्यसअनुसारको रणनीति तय गर्नुपर्छ”, उनले भने, “यसको कानुनी पक्षबाट बाध्यात्मक स्थिति निर्माण गर्न सकिएन भने हामीले सामाजिक पक्षबाट जुन सहयोग खोजेका छौँ त्यो प्राप्त हुँदैन ।”

मन्त्रालयका सचिवले डा देवकोटाले यो रोग उन्मूलनका लागि उच्चस्तरको राजनीतिक प्रतिबद्धताको आवश्यकता औँल्याए। उनले प्रभावित व्यक्तिको समावेशीकरण वृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए।  

के हो कुष्ठरोग ?

कुष्ठरोग छालामा फुस्रो दाग देखिने र छालाको वरिपरिको भागलाई नष्ट गर्ने प्रकारको सङ्क्रमण हो । उक्त रोगका कारण व्यक्ति शारीरिक रूपमा अपाङ्ग हुनसक्ने सम्भावना हुन्छ । यो रोग सहज रूपमा निको हुने र सबैभन्दा कम सर्ने भएपनि रोग लागेर निको भएका व्यक्ति अपमानको सिकार हुन बाध्य भएका छन् ।  

शारीरिक रूपमा देखापर्ने असरका कारण कुष्ठरोगबाट पीडित अधिकांश व्यक्ति मानसिक रोगबाट गुज्रन परिरहेको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो । मानसिक रूपमा हुने डर, त्रास र भयका कारण व्यक्तिलाई समाजमा अस्वीकार नगर्ने, र नकारात्मक दृष्टिले हेर्ने संस्कारको अन्त्य हुनुपर्ने चिकित्सकहरू बताउँछन् । कुष्ठरोग एउटा शारिरिक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा पनि असर पार्ने सङ्क्रमणका रूपमा रहेको छ । सिर्जना राई/रासस

प्रकाशित: २५ वैशाख २०८२ १७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App