११ माघ २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

ओपिडी सेवा बन्द हुँदा उपचार नपाएर फर्कन बाध्य बिरामी

सदरमुकाम बेनीस्थित प्रदेश अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि बिरामी समस्यामा परेका छन्। आवासीय चिकित्सकको आन्दोलनको माग सम्बोधन नभएपछि नेपाल चिकित्सक सङ्घले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेका हुन्।

आन्दोलनका कारण ओपिडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन्। गण्डकी प्रदेशमा दुई वर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिबार र सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन हुनेगरी बिहान ७:०० देखि बेलुका ८:०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो। शनिबार बिहानै अस्पतालमा उपचार गराउन आए पनि ओपिडी सेवा बन्द भएपछि उपचार नगरी फर्कनुपरेको धवलागिरि गाउँपालिका–२ लुलाङबाट आएका भबिराम विकले बताए।

‘अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिकमा जाँच गर्नुपर्ने भयो, घरमा नियमित प्रयोग गर्ने औषधिसमेत पाउन सकिएन,’ उनले भने। शुक्रबारदेखि नै अस्पतालको ओपिडी सेवा बन्द भएपछि गाउँबाट उप छुट्टै उपचार गराउन आएका बिरामी उपचार नगरी फर्कनुपरेको छ। अस्पतालका डा. रामु सापकोटाले गम्भीर समस्या भएका बिरामीलाई आकस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रूपमा बन्द भएको जानकारी दिए।

प्रदेश अस्पताल बेनीमा कार्यरत चिकित्सकले ओपिडी सेवा बन्द भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षणपत्रमार्फत जानकारी गराएका छन्। आवासीय चिकित्सकलाई सरकारी आठौँ तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि आन्दोलन थालेपछि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित भएको छ। रासस

प्रकाशित: १४ वैशाख २०८२ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App