२७ मंसिर २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

गुणकारी फल मेवा

गर्मी मौसमलाई फलफूलको मौसम मानिन्छ। गर्मीमा आउने फललाई स्वास्थ्यका लागि हितकर मानिन्छ। गर्मी मौसममा शरीरमा पानीको पनि कमी हुने हुनाले फलफूलको बढी सेवन लाभदायक मानिन्छ। गर्मीमा पाचन समस्या र डिहाइड्रेसनको समस्या पनि बढ्ने गर्छ। प्रायः सबै फलफूल भिटामिन्स र एन्टिअक्सिडेन्टले भरपूर हुन्छन्। गर्मी मौसमका लागि मेवा लाभदायक फल रहेका स्वास्थ्यविज्ञहरू बताउँछन्।

मेवा स्वादिष्ट एवं पौष्टिक तत्त्वले भरिएको फल हो। यो फल खानाले हाम्रो स्वास्थ्यमा धेरै फाइदा गर्छ। मेवालाई भिटामिन ‘ए’ को उपयुक्त स्रोत मानिन्छ। मेवामा भिटामिन ‘ए’ का साथै भिटामिन सी, भिटामिन ई पनि पाइन्छ।

मेवामा प्रचुर मात्रामा पानी, प्रोटिन, कार्बोहाइड्रेट, क्षार तत्त्व, क्याल्सियम, फस्फोरस, आइरन आदि पाइन्छ। प्राकृतिक रूपमा यसमा फाइबर, क्यारोटिन र मिनरल्स पनि भरपूर मात्रामा पाइन्छ। त्यस्तै यसमा पोटासियम र फोलेटसहित धेरै आवश्यक पोषक तत्त्व पाइन्छन्। राम्रो स्वास्थ्य कायम राख्न र रोगहरूबाट हामीलाई जोगाउन यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

मेवा खानाले पाचन प्रणाली सुधार हुन्छ र कब्जियत कम हुन्छ। त्यस्तै यसमा पाइने भिटामिन ‘सी’ र अन्य एन्टिअक्सिडेन्टको उच्च मात्राले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। यसले हाम्रो शरीरलाई विभिन्न संक्रमण र रोगबाट बचाउँछ।

मेवा खानाले हाम्रो मुटुलाई स्वस्थ राख्छ मद्दत पुग्छ। यसमा पाइने फाइबर, पोटासियम र एन्टिअक्सिडेन्टले कोलेस्ट्रोलको स्तर कम गर्न, हृदयरोगको जोखिम कम गर्न र मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। यसमा पाइने एन्टिइन्फ्लेमेटरी तत्त्वले मधुमेह र क्यान्सरजस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सहयोग गर्छ।

स्वादमा गुलियो भए तापनि यसमा सुगर नाम मात्रको हुने गर्छ। त्यसकारण मेवा मधुमेह रोगीका लागि राम्रो आहारका रूपमा एक उत्कृष्ट विकल्प हो। यसका साथै जो मधुमेह रोगी छैनन्, यसको सेवनले मधुमेहको खतरा टाल्न सक्छ।

मेवा खानाले हाम्रो छालाको स्वास्थ्यमा सकारात्मक टेवा पुग्छ। यसमा पाइने भिटामिन ‘सी’ र अन्य एन्टिअक्सिडेन्टले छालालाई चाउरिनबाट जोगाउँछ। साथै यसमा पाइने भिटामिन ‘ए’ तथा पपाइन तत्त्वले छालाको रŒमा निखार आउनुका साथै चमक पनि बढाउँछ। पाकेको मेवा अनुहारमा लगाउँदासमेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ।

त्यति मात्र होइन, मेवामा पाइने भिटामिन ‘ए’को उच्च मात्राले हाम्रो आँखा स्वस्थ राख्न सहयोग गर्छ। मेवा आँखाका रोगीका लागि निकै फाइदाजनक मानिन्छ। यसमा प्रचुर मात्रामा भिटामिन ‘ए’ पाइने भएकाले आँखाको ज्योति कम हुनबाट जोगाउँछ। यसको सेवनले रतन्धो रोगको निवारण हुन्छ र आँखाको ज्योति बढ्ने गर्छ।

कपाललाई बलियो बनाउनका लागि मेवाको रस उपयोगी हुन्छ। मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्छ।

मेवाको नियमित सेवनले अरूचि हट्छ, कब्जियत निको हुन्छ र भोक बढ्दै जान्छ। मेवा मांसाहारलाई गलाउन काम आउँछ। त्यसैले माछामासु खाएपछि मेवा खाँदा राम्ररी पच्छ। यसको प्रयोग सौन्दर्य प्रशाधनमा समेत गरिन्छ। लामो समयसम्म मेवा खानाले बोसो कम हुन्छ, कम्मर पातलो हुँदै आउँछ।

विशेषज्ञका अनुसार क्यान्सरबाट जोगाउनका लागि मेवाको बिउ उपयुक्त मानिन्छ। मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ। यसको फलभित्रको गेडालाई पिँनेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्दत पुग्ने बताइन्छ।

त्यस्तै अधिक तौल हुँदा मोटोपन घटाउनका लागि मेवा खानु उपयुक्त हुन्छ। उच्च रक्तचापको समस्या भएका बिरामीका लागि काँचो मेवा खानु फाइदाजनक हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बिरामीका लागि पनि मेवा खानु उपयुक्त मानिन्छ।

मेवामा एन्टी–अक्सिडेन्ट, फिटोन्युट्रियन्ट्स र फ्लेवोनायड्स प्रचुर मात्रामा हुन्छन्। यसका साथै, यसमा पाइने भिटामिन ‘सी’, बिटा क्यारोटिन र भिटामिन ‘ई’ले शरीरमा क्यान्सरको सेल बन्नबाट रोक्छ। केही अध्ययनअनुसार मेवा सेवनले कोलन र प्रोजेक्ट क्यान्सरको खतरालाई कम गर्न सकिन्छ। त्यसकारण हामीले आफ्नो आहारमा मेवा समावेश गर्नुपर्छ।

मेवा खानाले थुप्रै प्रकारका रोगबाट छुट्कारा मिल्छ। तर मेवा खाँदा हामीलाई यति धेरै फाइदा भए पनि कुनै अवस्थामा भने मेवा खानु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।

गर्भावस्थामा मेवा खानु हुँदैन। मेवामा लेटेक्स पाइन्छ। जसले पाठेघर साँघुरिने जोखिम हुन्छ। गर्भ पतन, प्रशव पीडा र बच्चालाई असहजता हुन सक्ने जोखिम हुन्छ। त्यस्तै स्तनपान गराइरहेका महिलालाई पनि मेवा नखुवाउन सुझाव दिने गरिन्छ। मेवाको अधिक सेवन जन्डिसको कारण बन्न सक्छ।

त्यस्तै नाकमा समस्या भएका, दमका रोगी र श्वाससम्बन्धि समस्या भएका बिरामीले पनि मेवा खानुहुँदैन। अधिक मेवा खाँदा पत्थरीको जोखिम बढ्छ। एक वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि मेवा खुवाउनु हुँदैन।

प्रकाशित: १३ वैशाख २०८२ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App