लिमचुङबुङ गाउँपालिकाको आधारभूत अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नं. ३ बाराहास्थित गाउँपालिका प्रशासनिक कार्यालय भवनदेखि करिब ५ सय मिटर दूरीमा निर्माणाधीन भवन ९५ प्रतिशत सम्पन्न भईसकेको छ ।
५ शैय्याको आधारभूत अस्पताल भवन २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७७ चैत २५ गते योजना सम्झौता भएको थियो । ०८० चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्ने भवन बनाउन आवश्यक कच्चा पदार्थ निर्माण स्थलसम्म पु¥याउन भौगोलिक कठिनाइ, सडकको दुरावस्था र अन्त्य विविध कारणले सम्झौता अवधिभित्र नसकिएकाले अरु २ वर्ष म्याद थपिएको छ ।
भवन निर्माण स्थलको जमिन भिरालो र सडकले नछोएको हुनाले त्यहाँसम्म निर्माण सामग्री र कच्चा पदार्थ ढुवानी गर्न नयाँ ट्र्याक खन्नुपरेको थियो । त्यसले पनि काम ढिला सुरु भएको थियो । कच्चा पदार्थ ढुवानी गर्नका लागि ५ सय मिटर नयाँ ट्र्याक खोल्नै ३ महिना लागेको निर्माण कम्पनीले जनाएको छ । कम्पनी प्रतिनिधि दिपक तिम्सीनाका अनुसार निर्माण सामग्री लान ट्र्याक खन्नुपरेको तथा अस्पताल बनाउने जमिन पाखो भएकाले सम्याएर घडेरी खार्न नै ६ महिना लागेर काम ढिला हुन गयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा किरण राईले अस्पताल भवन निर्माणको अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारी भइरहेको बताए । उनका अनुसार भवनको भौतिक कार्य सकिइसकेको र झ्याल ढोका रङरोगनलगायत फिनिसिङको काम गर्न मात्र बाँकी रहेकाले छिट्टै सकेर नयाँ भवनबाट अस्पताल सुचारु हुनेछ । नवनिर्मित भवन बचाउन रिटेनिङ वालको काम पनि अन्तिम चरणमा पुगेको हाकिम राईले बताए ।
७ करोड ७७ लाख १३ हजार ९ सय ५३ रुपैँया लागत मूल्यको भवन बनाउन निर्माण व्यवसायीबिच प्रतिस्पर्धा गराउँदा ४ करोड ८० लाख १९ हजार ३ सय ७१ रुपैँयामा ठेक्का लागेको लेखापाल नविन राईले बताए । उनका अनुसार लागत इस्टीमेटभन्दा १ करोड ४२ लाख ९५ हजार ४ सय ८८ रुपैँया कम मूल्य (विलो)मा ठेक्का लागेको भवनको हालसम्म भुक्तानी ३ करोड ७६ लाख ६५ हजार १ सय २२ रुपैँया भईसकेको छ छ ।
गाउँपालिका अध्यक्ष मेजरकुमार राईले लिमचुङबुङमा ४ वर्षअघिदेखि नै ‘एलबी कार्की स्मृति आधारभूत अस्पताल’ सञ्चालनमा ल्याएर गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा दिँदै आएको बताए । नयाँ अस्पताल भवन बनाउन निःशुल्क जमिन दान दिएका चित्र कार्की परिवारको सम्मानस्वरुप आधारभूत अस्पताललाई ‘एलबी कार्की स्मृति अस्पताल’ नामाकरण गरिएको अध्यक्ष राईले बताएका छन् ।
हाल बाराहाको पुरानो स्वास्थ्य चौकी भवनमा अस्पताल सञ्चालन भइरहेको छ । पुरानो भवन र साँघुरा कोठाका कारण अस्पताल सञ्चालन गर्न निकै कठिनाइ भइरहेको गाउँपालिकाका कर्मचारी ज्ञानेन्द्र राईले बताएका छन् । नयाँ भवन बनेलगत्तै स्थानान्तर गरेर व्यवस्थितरुपमा अस्पताल सुचारु गर्न पाए सेवाग्राही र स्वास्थ्यकर्मी दुवैलाई सहज हुने राईले बताए ।
प्रकाशित: १२ चैत्र २०८१ १४:४९ मंगलबार