३० चैत्र २०८१ शनिबार
image/svg+xml २३:५८ अपराह्न
स्वास्थ्य

फागुनमा ५ लाखको पाठेघर क्यान्सर परीक्षण

महिलामा धेरै संख्यामा हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम सुरु भएको छ। सरकारले निःशुल्क रूपमा परीक्षण गर्ने यो कार्यक्रम देशव्यापी अभियानको रूपमा भइरहेको परिवार कल्याण महाशाखा परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखाले जनाएको छ।

फागुन १ गतेदेखि देशका ७५३ वटै स्थानीय तहबाटै यो नसर्ने रोगको परीक्षण गरिरहेको छ। त्यही परीक्षण कार्यक्रममा महिलामा बढी हुने पाठेघरको मुखको क्यान्सरको परीक्षण भइरहेको जनाएको छ।

पाठेघरको मुुखमा क्यान्सर सुरु हुन लागेको या सुरु भइसकेको अवस्थामा पहिचान गरी समयमै थप उपचार गर्ने उद्देश्यले नसर्ने रोग परीक्षण अभियानअन्तर्गत पाठघेरको मुखको क्यान्सरको परीक्षण कार्यक्रम समावेश गरेको परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखाकी वरिष्ठ सामुदायिक नर्सिङ अधिकृत अमृता पहाडीले बताइन्।

पाठेघरको मुखको क्यान्सर परीक्षणअन्तर्गत भिआइए (भजाइनल इन्सपेक्स विथ एसिटिक एसिड) परीक्षण विधिबाट हुन्छ। यो विधिअन्तर्गत पाठेघरको मुखमा विशेष उपकरणबाट पाठेघरको मुखमा विशेष रसायन राखिन्छ।

रसायन राखेर हेरेपछि आउने परिवर्तन या दागको आधारमा पाठेघरको मुखको क्यान्सरको पहिचान र सम्भावित जोखिमको पहिचान गरिन्छ। यो पहिचानपछि सामान्य अवस्थामा तत्कालै स्थानीय स्तरमै उपचारको समेत व्यवस्था गरिएको छ। स्थानीय तहमा उपचार गर्न सम्भव नभएमा रेफर गर्ने व्यवस्था गरिएको छ। यो परीक्षणका लागि आवश्यक जनशक्तिलाई तालिम दिइसकेको शाखाले जनाएको छ।

कार्यक्रम सुरु भएदेखि यता देशभरबाट परीक्षणको रिपोर्ट संकलन भइरहेको र हुने क्रममा रहेको प्रजनन शाखाले जनाएको छ। यो अवधिमा करिब ८० हजार जना महिलाको परीक्षण भइसकेको छ। सरकारले पाठेघरको मुखको परीक्षण स्थानीय स्वास्थ्य केन्द्रबाट गत वर्षदेखि नै सुरु गरेको भए पनि यो वर्ष थप जनचेतना जगाउने उद्देश्यले नसर्ने रोग परीक्षण अभियानमै समावेश गरेको शाखाले जनाएको छ।

यो वर्ष सरकारले करिब पाँच लाख जना ३० वर्ष माथिदेखि ४९ वर्षभित्रका महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य लिएको छ। गत आवभित्र यो विधिबाट नेपालभरमा ६० हजार ९५७ जनाको भिआइए विधिबाट, ९ हजार १३७ जनाको एभपिभी डिएनए टेस्ट विधिबाट र २१ हजार ४०९ जनाको प्याप स्मेयर विधिबाट गरी ९२ हजार ७३ जनाको पाठेघरको मुखको क्यान्सरको परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयको साप्ताहिक कार्य ब्रिफिङ गर्ने क्रममा देशभर पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रमबारे जानकारी दिएका हुन्।

सरकारले सन् २०१० देखि नै अन्य विधिमार्फत पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्दै आएको भए पनि गत वर्षदेखि भिआइए तथा अन्य विधिबाट पाठेघरको मुखको क्यान्सर परीक्षण सबै स्थानीय निकायबाट सुरु गरेको हो।

पाठेघरको समयमै परीक्षण गरेर महिलामा हुने पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्न सकिने भएकाले सबै महिलाहरूले यो अभियानमा गई स्वास्थ्य परीक्षण गराउन प्रजनन स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

योबाहेक स्थानीय स्वास्थ्य केन्द्र, प्रदेश तथा संघीय अस्पतालमा समेत यो परीक्षण हुने भएकाले पाठेघरको नियमित परीक्षण गर्न सामुदायिक नर्सिङ अधिकृत पहाडीले सुझाइन्। उनले भनिन्, ‘पाठेघरको मुखको क्यान्सरको जाँच गर्ने विधि सजिलो छ, छिटो पहिचान भएमा उपचार पनि सजिलो छ।’

तथ्यांकअनुसार नेपालमा फोक्सोपछि पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्छ। ग्लोबो क्यानको पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक २१ सय ६९ जनामा महिलामा पाठेघरको मुखको क्यान्सर हुन्छ। यो क्यान्सरको कारण प्रतिवर्ष १३ सय बढीको मृत्यु हुने गरेको छ।

प्रकाशित: १० फाल्गुन २०८१ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App