जुम्लामा पाठेघरकाे मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आइपुगेको छ। आउँदो माघ २७ गते आइतबारदेखि सुरु हुने एचपीभी खोप यहाँ आइपुगेको हो।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार ८ हजार ९ सय २० भाइल खोप आइपुगेको छ। पर्याप्त खोपको मात्रा आइपुगेकाले मापदण्ड भित्रका कुनै पनि किशोरीहरू खोप लगाउनबाट वञ्चित नहुने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए।
२६ गतेभित्रै हरेक गाउँपालिका केन्द्रसम्म खोप पठाइसक्ने तयारी भइरहेको उनले बताए। यता जनस्वास्थ्य अधिकृत प्रेम सोमाइले भने, ‘जुम्लामा चाहिने जति खोप आइपुगेको छ। २५ गते हरेक पालिका केन्द्रमा पुग्छ। २६ गते खोप केन्द्रमा पुगेर २७ गतेबाट खोप लगाउन सुरु हुनेछ।’
निकट भविष्यमा महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै एचपीभी खोप अभियान सुरु हुन लागेको स्वास्थ्यकर्मी बताउँछन्। एचपीभी खोपका लागि १ सय १ वटा खोप केन्द्र तोकिएको छ।जसमध्ये ३ सय ३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू परिचालन गरिने जनस्वास्थ्य अधिकृत सोमाइले बताए।
खोप अभियानका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू सबैलाई तालिम दिइने छ। भने, ८ हजार आठ सय २९ जना छात्रालाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिइने छ। पाठेघर मुखको क्यान्सरविरुद्ध एचपीभी खोप शतप्रतिशत प्रभावकारी देखिएको छ। त्यसलै १० देखि १४ वर्षसम्मकम किशोरीलाई अनिवार्य लगाइने बताए।
जनस्वास्थ्यकाे तथ्यांक अनुसार जुम्लामा १० देखि १४ वर्षसम्मका १ हजार पाँच सय ८६ जना विद्यालय बाहिर रहेका छन् भने विद्यालय भित्रका ७ हजार दुई सय ४३ छन्। जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जनालाई खोप लगाइने छ।गुठीचौर गाउँपालिकाका पाँच सय २०,हिमा गाउँपालिकाका एक हजार १३ जना, कनकासुन्दरीका नौ सय ६७ जनालाई खोप दिइने छ। पातारासीका एक हजार एक सय ५८ जना, सिंजाका नौ सय सात जना, तातोपानीका एक हजार एक सय ५३ र तिलाका एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाइने छ।
जनस्वास्थ्य कार्यालय जुम्लाले एचपीभी खोपको बारेमा सचेतना र्याली निकाल्नुका साथै पर्चा, पम्पलेट दुर्गमका गाउँबस्तीहरूमा पुर्याइसकेको छ।
प्रकाशित: २४ माघ २०८१ १३:३६ बिहीबार





