पहिले दाँत तथा मुखको सफाइ नपुगेर गिँजामा संक्रमण हुन्थ्यो। संक्रमित गिँजासँगै दाँत किराले खाने समस्या पनि बढ्थ्यो। पछिल्लो समयमा गिँजामा हुने संक्रमण र नसर्ने रोगले हुने संक्रमणका कारण दाँतको अखेटो खिइने समस्या बढेको दन्त विशेषज्ञले जनाएका छन्।
‘पहिला मुखको सफाइ नपुगेर हुने संक्रमणले गिँजा र दाँत बिग्रन्थ्योे, अहिले नसर्ने रोगले दाँतको सकेट (अखेटो) नै खिइने समस्या बढेको छ’, वीर अस्पताल डेन्टल विभागका प्रमुख डा. प्रमोद कोइरालाले भने। चिनी चक्लेट, मैदाका खाना खाएर तुरुन्तै मुख सफा नगरेमा केही घन्टादेखि एक दिनभित्रै मुखमा कीटाणु उत्पन्न भई दाँतमा एसिड (अम्लीय पदार्थ) उत्पादन हुन गई दाँत खिइन्छ या गिँजा पाक्छ। गिँजा संक्रमित हुँदै गएमा दाँतको अखेटो पनि खिइन्छ। अखेटो खिइएपछि दाँत झनै झर्छ।
दन्त विशेषज्ञका अनुसार दाँतको अखेटो खिइनुअघि गिँजा पाक्ने, दाँत खिइने, दाँतको बिचमा खाली भाग हुने जस्ता लक्षण देखिन्छन। दाँत अडिने अखेटो खिइएपछि दाँत हल्लिएर झर्छ। यस्ता लक्षण देखिनेबित्तिकै उपचारमा पुगेमा समयमै यस्तो समस्या नियन्त्रण गर्न सकिने विभागका प्रमुख डा. कोइराला बताउँछन्।
वीर अस्पतालमा यस्ता बिरामी प्रतिदिन नयाँ–पुराना गरी दैनिक औसत ४० जना आउने गरेको विभागका प्रमुख डा. कोइराला बताउँछन्। यो हिसाबले मासिक एक हजार ४० जना दाँतको अखेटो खिइने समस्या लिएर आउँछन्।
उनका अनुसार धेरैजसो बिरामी ढिला गरी उपचारमा आइपुग्दा दाँत नै गुम्छ या थप जटिल समस्या हुन्छ। पहिलेका मानिसले राम्रोसँग दाँत, मुख र गिँजाको सफाइ नगर्दा यस्ता समस्या बढी आउँथ्यो भने पछिल्लो समय मानिसमा बढ्दै गएको नसर्ने रोगका कारण गिँजामा संक्रमण हुन गई दाँतको अखेटो खिइन्छ।
मधुमेह, हाइपोथाइरोइड, उच्च रक्तचाप, उच्च रक्तचापको औषधी सेवन, मधुमेह, मुटु तथा मिर्गौला जस्ता रोगका कारणले पनि गिँजामा संक्रमण भई दाँतको अखेटो खिइने समस्या बढेको देखिन्छ। नसर्ने रोगका कारणले दाँत छोड्ने समस्या हुने बिरामी पनि ढिला मात्र आइपुग्दा दाँत गुमाउनुपरेको डा. कोइराला बताउँछन्। उनका अनुसार उच्च रक्तचाप र मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा प्रतिरक्षा बढाउने औषधी दिइएको हुन्छ।
मिर्गौला प्रत्यारोपण गरेका र मधुमेहका बिरामीको शरीरमा प्रतिरक्षा कमजोर हुन्छ र मुखभित्र संक्रमण भई गिँजा सुन्निने समस्या हुन्छ। मधुमेह भएका बिरामीमा सेतो रक्तकोष कमी हुन गई शरीरमा प्रतिरक्षा कमजोर हुँदा पनि गिँजा सुन्निने समस्या हुन्छ। उच्च रक्तचापको औषधी सेवन गर्नेमा गिँजा पाक्ने समस्या हुने गरेको डा. कोइरालाले बताए।
गिँजाको समस्या लिए उपचारमा पुग्नेमध्येमा ५० प्रतिशतमा दाँतको सकेट खिइने समस्या देखिएको छ। दाँत, मुख तथा गिँजाको सफाइ नपुग्दा सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन गर्नाले पनि गिँजाको सक्रमण हुँदै दाँतको सकेट खिइन्छ। यीमध्ये सबैभन्दा बढी असर धुमपान तथा मदिरा सेवन गर्नेमा हुन्छ।
कुनै पनि कारणले गिँजामा समस्या आएमा समयमै उपचारमा जान चिकित्सक सुझाउँछन्। विशेषगरी मुटु, मिर्गौलाका रोगी, हाइपोथाइराइड, उच्च रक्तचापको औषधी सेवन गरिरहेका, बाथ तथा मधुमेहका बिरामीले नियमित रूपमा दाँत तथा मुखको परीक्षण गरिरहेमा गिँजा संक्रमण भई दाँतको अखेटो खिइने समस्या आउँदैन।
यस्तो समस्यामा सुरुमा उपचारबाट संक्रमण निन्यत्रण गरिन्छ। समस्या जटिल भएमा शल्यक्रिया, नक्कली दाँत प्रत्यारोपण जस्ता उपचार हुन्छ। यसका साथै पेरियोडन्टल सर्जरी गरी गिँजा फर्काएर मिलाउने, दाँत खाली भएको भागमा दाँत प्रत्यारोपण जस्ता शल्यक्रिया गरिन्छ।
प्रकाशित: २४ माघ २०८१ ०९:०७ बिहीबार




-1200x560-600x400.jpg)
