३० वैशाख २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

उदयपुरमा माघ २८ देखि फागुन २ सम्म एचपिभी खोप अभियान

खोप अभियानबारे जानकारी गराउँदै सुपरभाइजर चिरञ्जिवी निरौला। तस्विरः महेश्वर

महिलाको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने ह्युमन प्यालोमा भाइरस (एचपिभी)विरुद्धको खोप दिने कार्यतालिका सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले भर्खरै जारी गरेको सूचनामा यही माघ २३ देखि फागुन २ गतेसम्म खोप अभियान चलाउने कार्यतालिका सार्वजनिक गरेको हो।

स्वास्थ्य कार्यालयको सूचना अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थनीय तहमा २ चरणमा खोप अभियान चलाउने निधो भएको छ। पहिलो चरणमा २३ देखि र दोस्रो चरणमा २८ गतेदेखि खोप अभियान चलाइने छ। पहिलो चरणमा सदरमुकाम त्रियुगा र बेलका नगरपालिका तथा रौतामाई गाउँपालिकामा २३ देखि २५ गतेसम्म ३ दिन अभियान चल्ने छ। त्यसैगरी लिमचुङबुङ गाउँपालिकामा २३ र २४ गते खोप लगाइने छ।

दोस्रो चरणमा माघ २८ देखि फागुन २ गतेसम्म खोप दिने कार्यतालिका छ। जस अनुसार कटारी नगरपालिकामा २८ देखि फागुन २ गतेसम्म ५ दिन खोप दिइनेछ भने चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा २८ देखि १ गतेसम्म ४ दिन अभियान चल्ने छ। ताप्ली गाउँपालिकामा २८ देखि ३० गतेसम्म ३ दिनमा खोप दिइसक्ने कार्यतालिका छ।

कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरेर खोप दिने कार्यक्रम रहेको छ। जसका लागि सरकारी तथा सामुदायिक र सँस्थागत (निजी) विद्यालयमै स्वास्थ्यकर्मी टोली खटाएर खोप दिइनेछ। त्यसका लागि जिल्लाका ८ वटै स्थानीयतहका २ सय ८३ वटा विद्यालयमा खोल केन्द्र राखेर चलाइने अभियानबाट २० हजार १ सय २२ जना छात्राहरू एचपिभी खोपबाट लाभान्वित हुने सुपरभाइजर चिरञ्जिवी निरौलाले बताए।  

जिल्लाभरी कक्षा ६ को छात्रा सङ्ख्या ३ हजार ६ सय ९ र ७ देखि १० सम्म पढने छात्राहरू १३ हजार ४६ जना रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयले दिएको छ। विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका बालिकाहरूलाई पनि खोप दिइने लक्ष रहेको छ। विद्यालयबाहिर रहेका बालिकाको सङ्ख्या २ सय २ जना छन् भने ११ देखि १४ वर्ष उमेर समूहका किशोरी सङ्ख्या ३ हजार २ सय ६५ जना रहेको स्वास्थ्यले जनाएको छ। उनीहरूलाई पनि कुनै न कुनै माध्यमबाट खोप दिलाउने लक्ष्य कार्यालयले लिएको निरौलाले बताए।  

‘एचपिभी खोप अभियान २०८१’ सफल पार्न स्वास्थ्य कार्यालयले जिल्ला खोप समन्वय समिति, स्थानीय सञ्चारकर्मी र सरोकारवालालाई यसअघि नै एकठाउँ राखेर यसअघि नै अभिमुखीकरण दिइसकेको छ। कार्यालयका खोप सुपरभाइजर निरौलाका अनुसार महिलाको बच्चादानीको मुखमा हुने क्यान्सर रोकथामका लागि यो अभियान जिल्लामा पहिलो पटक सञ्चालन गर्न लागिएको हो।  

जनस्वास्थ अधिकृत रामभरोस ठाकुरका अनुसार अभियान सफल पार्न जिल्लाभरी ३ सय ९६ खोप केन्द्र सञ्चालन गरिने र त्यसका लागि ४ सय ३ जना स्वास्थकर्मी र ७ सय ९९ जना स्वयंसेवक जनशक्ति परिचालन गरिने छ। त्यसका लागि आवश्यक तालिम दिएर यन्त्र उपकरणसहित सम्बन्धित स्थानीयतहमा खटाईसकिएको पनि ठाकुरले बताए।  

नेपाली महिलाहरूमा बच्चादानीको मुखको क्यान्सर हुनुको ८० प्रतिशत कारण एचपिभी भाइरल नै हो भन्ने तथ्य पुष्टि भईसकेको छ। बच्चादानीको क्यान्सरले मुलुकमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क स्वास्थ मन्त्रालयसँग रहेको पनि ठाकुरले बताएका छन्।  

नेपाल सरकारले एचपिभी खोप दिनुका मुख्य ३ वटा लक्ष्य लिएको छ। पहिलो १० देखि १४ वर्ष उमेर समूहरका किशोरीमध्ये कम्तीमा ९० प्रतिशतलाई खोप दिने, दोस्रो ३० वर्ष माथिका महिलामध्ये ९० प्रतिशतको बच्चादानीको मुखको क्यान्सर पत्ता लगाउन परीक्षण गर्ने र तेस्रो क्यान्सर देखिएका महिलामध्ये ९० प्रतिशतको उपचार सफल पार्ने लक्ष्य छ।

प्रकाशित: २१ माघ २०८१ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App