११ माघ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिटिस्क्यान बिग्रिएपछि टिचिङका बिरामी मर्कामा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई महिनादेखि बिग्रिएको सिटीस्क्यान मेसिन नबन्दा बिरामी मर्कामा परेका छन्। अस्पताल स्रोतका अनुसार समयमै टिचिङ अस्पतालभित्रको सिटीस्क्यान नबनेपछि निजी अस्पताल धाउन बाध्य छन्। टिचिङको आकस्मिक कक्षमा सिटीस्क्यान भए पनि अस्पतालका बिरामीले पालो पाउन सम्भव नभएपछि उनीहरू अस्पतालनजिकका निजी रेडियोलोजी सेवामा जाने गरेको भेटिन्छ।

अस्पतालका अनुसार यो अस्पतालमा दैनिक ६० देखि ८० जनाको सिटिस्क्यान हुन्छ, तर नियमित सिटीस्क्यान बिग्रिएपछि आकस्मिक कक्षमा रहेको सिटीस्क्यानले नियमित प्रक्रियाबाट आएका सबै बिरामीको सिटीस्क्यान गर्न सक्दैन। यस कारणले उपचारमा पुगेका धेरै बिरामी मर्कामा परेपछि अन्यत्र जाने गरेको अस्पताल स्रोतले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. घनश्याम गुरुङले सिटीस्क्यान बिग्रिएपछि मर्मतका लागि पटक–पटक प्रयास गरे पनि अहिलेसम्म मर्मत हुन नसकेको बताए। ‘कुनै कम्पनी ट्युब र बोर्ड दुवै बिग्रिएको छ भन्छन् भने कुनै कम्पनी बोर्ड मात्र बिग्रिएको छ भन्छन्। ‘बोर्ड बिग्रिएको हो कि ट्युब बिग्रिएको हो कि दुवै बिग्रिएको हो, अहिलेसम्म यकिन हुन सकेको छैन’, उनले भने।

सिटीस्क्यान बोर्ड र ट्युब दुवै बिग्रिएमा मर्मत खर्च मेसिनकै जस्तो महँगो पर्ने भएका कारण मर्मत गर्दा अस्पताललाई लाभ नमिल्ने उनी बताउँछन्। मेसिनको यकिन समस्या पत्ता लगाई शीघ्र रूपमा विकल्प खोज्ने तयारी भइरहेको निर्देशक गुरुङले बताए। ‘ट्युब मात्र बिग्रिएको हो भने आजभोलि नै मर्मतका लागि सूचना दिन्छौं। दुवै बिग्रिएको हो भने विकल्प खोज्नुपर्छ’, उनले भने। डा. गुरुङका अनुसार अस्पतालमा हाल बिग्रिएको सिटीस्क्यान मेसिन नौ/दश वर्ष पुरानो हो’, उनले भने।

प्रकाशित: ११ माघ २०८१ ०८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App