सिन्धुलीकी ४६ वर्षीय मनमाया विक ६ वर्षदेखि पिसाब चुहिने समस्याले प्रताडित थिइन । मनमायालाई रोग के हो रु थाहा हुने कुरै भएन । न त कसैलाई आफ्नो समस्या सुनाउँथिन् ।
पछिपछि दिनरात चुहिरहने पिसाबको समस्याबारे देख्नेले थाहा पाइहाले । ‘कसैको नजिक जाँदा पनि गाउँघरमा सबैले गन्धे भनेर हेप्थे,’ उनी दुखेसो पोख्छिन् । तर, उनको उपचारसम्म ध्यान नै पुगेन । दिनरातको घरायसी काममा उनी व्यस्त बनिरहिन् । अर्कातिर ६ वर्षसम्म चुहिने पिसाबले उनलाई कहिल्यै चैन रहन दिएन ।
‘राति निथ्रुक्क बिछ्यौना भिज्थ्यो । सिरानीमा बाक्ला थाङ्ना राखेर सुत्थेँ । बिहान उठ्दा सबै थाङ्ना भिजेका हुन्थे,’ मनमाया सम्झिन्छिन्,‘दिनरात, महिना, वर्ष हुँदै ६ वर्ष भएछ ।’ ६ वर्षसम्म त्यो समस्याले उनी ग्रस्त रहिन् । तर अस्पताल पुग्न सकिनन् ।
तीन साताअघि गाउँमा आएको एक शिविर मनमायाका लागि बरदान नबनेको छ । वरुण फाउन्डेसनको स्वास्थ्य शिविर तीन साता अघि उनको गाउँसम्मै पुग्यो । गाउँलेले मनमायालाई शिविरमा पु¥याए ।
शिविरमा पुगेका चिकित्सकले मनमायाको पाठेघर खसेको हुनसक्ने अड्कल गरे । तर, रोगको वास्तविक परिचय भने खुलेन । शिविरका चिकित्सकले उनलाई थप उपचारको लागि काठमाडौँ मोडेल अस्पतालमा जान सुझाए । त्यहाँसम्म पुग्न पनि फाउन्डेसनले नै सघायो ।
पुसको पहिलो साता मनमाया मोडेल अस्पतालमा पुग्दा स्त्रीरोग विभागले स्वास्थ्य परीक्षण गर्दा मनमायाको समस्या अनुमान गरेभन्दा भिन्न समस्या देखियो ।
चिकित्सकका अनुसार मनमायाले गर्भमै मृत्यु भएका चार वटा सन्तान जन्माएकी रहिछन् । कान्छो सन्तान छ वर्ष अघि मात्र जन्मिएछ । ‘गर्भमै मृत्यु भएको बच्चा जन्मिन ढिला हुँदा पिसाबको थैलीमा दबाब पर्छ । त्यही दबाब पर्दा थैलीमा प्वाल परेको देखिन्छ,’ उपचारमा संलग्न एक चिकित्सक भन्छन्। त्यही प्वालबाट पिसाब चुहिने स्थिति फिस्टुला हो ।
मनमायाले जन्माएका सबै सन्तान गर्भमै मरे । केही वर्षअघि उनका पतिको पनि मृत्यु भएपछि मनमाया घरमा एक्लो बनेकी छन् । गाउँघरमा अरूको सानोतिनो ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छन् ।
यता काठमाडौँ मोडेल अस्पतालमा पु¥याएपछि मनमायाको पिसाब थैलीको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि १४ दिनको उपचार गर्दा उनको पिसाब चुहिने समस्या पूरै रोकिएको अस्पतालमा आवासीय चिकित्सक डा। राकेश स्वर्णकारले बताए ।
मनमायालाई उपचारसहित घर जाने खर्च समेत फाउन्डेसनले नै व्यहोरेको छ । रोग निको भएपछि मनमाया अस्पतालमा रमाएकी छन् । बुधवार नागरिककर्मी पुग्दा उनी अन्य बिरामीसँग हँसिलो शैलीमा गफिँदै थिइन। ‘अहिले उहाँलाई फिस्टुला वार्ड घर जस्तै लाग्न थालेको छ । तत्काल डिस्चार्ज हुन नमानेपछि तीन चार दिन थप बस्न दिएका छौँ,’ डा. स्वर्णकारले भने ।
सुरुमा भने मनमाया उपचार नगरी भाग्न खोजेकी थिइन । चिकित्सकले फकाएर उपचार गरिदिए । अस्पतालका चिकित्सक र नर्सहरूले खानेकुरा र लत्ताकपडा सहयोग गरिदिएपछि उनी रमाएकी छन् ।
‘आउँदा उहाँको शरीरमा न्यानो लुगा पनि थिएन। त्यो अवस्था देख्दा सबैले दया भाव देखाएर सामान दिनुभयो । अहिले झोला भरिएको छ,’ उनलाई नजिकबाट हेरिरहेकी अर्का बिरामीकी एक कुरुवाले भनिन् ।
काठमाडौँ मोडेल अस्पतालले वरुण फाउन्डेसनको सहयोगमा १४ वर्षदेखि फिस्टुलाको निःशुल्क उपचार गर्दै आएको छ ।
प्रकाशित: १९ पुस २०८१ १८:२९ शुक्रबार





