१६ माघ २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा विद्यार्थीलाई सुर्तिजन्य पदार्थ बिक्री गर्न प्रतिबन्ध

विराटनगर महानगरपालिकाले विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रिवितरणमा रोक लगाएको छ । विराटनगर महानगरपालिका र व्यवसायीको संयुक्त छलफलपछि महानगर क्षेत्रभित्र जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्दै विद्यार्थी र बालबालिकालाई सुर्तिजन्य पदर्थ बिक्रि वितरणमा रोक लगाउने  निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।  

महानगरका मेयर नागेश कोइरालाले धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का सेवन गर्ने गरेको गुनासो आएपछि सम्बन्धित व्यवसायीगँग छलफल गरी विभिन्न निर्णयहरू गरिएको जानकारी गराए । ‘विद्यालय पोशाक लगाएका र १८ वर्षमुनिका  युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने, बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गरिने कोइरालाले स्पष्ट पारे ।

हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समस्या भएका कारण सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्ने छलफलले निर्णय गरेको छ । निर्णय कार्यान्वयन भए–नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायीसमेतको सहभागितामा अनुगमन समितिसमेत गठन गरिएको छ । 

समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरु रमण भगत, सुमन खड्का, विवेक बडुवाल सदस्य रहेका छन् । अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल र व्यवसाय कर तिरे नतिरेको, सफाई कार्ड लिए नलिएको लगायत पनि हेर्नेछ । छलफलमा सहभागी व्यवसायीहरुले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विगतका कमीकमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्कासहित सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने स्पष्ट पारे  ।

प्रकाशित: १९ पुस २०८१ १८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App