१२ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विद्यालयमै चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि अभिभावक खुसी

<br>

जुम्लाको तातोपानी गाउँपालिका-५ मा अवस्थित दुर्गा माध्यमिक विद्यालय लाम्राका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ। विद्यालयमा अध्ययनरत १ सय ८० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको हो।

जुम्लाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको चिकित्सक टोली चेकजाँच गर्न पुगेको थियो। हिउँदे याम सुरु भएसँगै अत्यधिक चिसो बढेकाले बालरोग विशेषज्ञ डा. कमलप्रसाद थानीको नेतृत्वको चिकित्सक टोली विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न विद्यालयमा पुगेको प्रतिष्ठानले जनाएको छ।

विद्यार्थीको नाक, कान र घाँटीको जाँच गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक तथा विशेषज्ञ डा. पुजन रोकायाले बताए। उनका अनुसार आँखा, छाला र मुटुको समेत चेक गरिएको छ। चिकित्सक टोलीले विद्यार्थीको स्वास्थ्यमा देखिएको समस्याका आधारमा नि:शुल्क औषधि उपलब्ध गराएको बालरोग विशेषज्ञ डा. थानीले बताए।

विद्यालयमा चिकित्सक टोली पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरेपछि विद्यार्थीका अभिभावक खुसी भएका छन्। यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदीप्रसाद न्यौपाने विद्यालयमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेकोमा विद्यार्थीहरू उत्साहित बनेको बताउँछन्। 'कैयन विद्यार्थीहरू आर्थिक अभावका कारण अस्पतालसम्म पुग्न सकेका थिएनन्। केही विद्यार्थीहरू अस्पतालसम्म पुगे पनि विशेषज्ञ सेवा पाउन सकेका थिएनन्,' अध्यक्ष न्यौपानेले भने, ‘अस्पतालको टोली नै विद्यालयमा पुगेपछि मन खोलेर विद्यार्थीले स्वास्थ्य जाँच गराए। विद्यार्थीमा देखिएको समस्याको औषधि पनि विद्यालयमै पाए।’ 

उनका अनुसार पहिलोपटक विशेषज्ञ चिकित्सकसहितको १५ जनाको टोली विद्यालयमा पुगेर विद्यार्थीको स्वास्थ्य जाँच गरेको हो। पटकपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विद्यालय र समुदायस्तरमा विशेषज्ञ टोली पठाएर विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको छ।

यसअघि चिकित्सकसहितको टोली जुम्लाकाे पातारासी गाउँपालिकाको विद्यालयहरूमा पुगेर विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित: ११ पुस २०८१ १३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App