नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। तलब वृद्धि लगायतका माग राखेर कर्मचारीले गत मंसिर २६ गते देखी चरणबद्ध आन्दोलन घोषणा गरेका थिए।
कर्मचारीको आन्दोलन चर्किँदै जाँदा मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जको सेवा प्रभावित बनेको हो। कर्मचारीको आन्दोलनका कारण बाँकेको चिसापनीमा रहेको कलेजको शैक्षिक क्रियाकलाप प्रभावित बन्न पुगेको छ।
कर्मचारीले अस्पतालको आपत्कालीन सेवा बाहेक सबै सेवा ठप्प पारेका छन्। सेवा ठप्प भएपछि अस्पतालमा भर्ना भएका र उपचारका लागि भर्ना हुन आउने बिरामी समस्यामा परेका छन्।
अस्पतालको ओपिडी, प्रशासनिक, लेखा, एकेडेमी लगायत शाखामा कर्मचारीले तालाबन्दी गरेका छन्। कलेजमा कार्यरत कर्मचारीका तीन वटा संगठनले संयुक्त रूपमा गत असारमा ७ बुँदे र ४५ उपबुँदे माग पत्र व्यवस्थापन पक्षलाई बुझाए पनि बेवास्ता भएको आरोप लगाइएको छ।
पटक–पटक वार्तामा बसेपनि निष्कर्षमा विहीन भएपछि कानुनी प्रक्रिया पुर्याएर आन्दोलन गर्नु परेको आन्दोलन परिचालन केन्द्रीय कमिटी संयोजक रत्ना गिरीले बताइन्। कर्मचारीले उठाएका माग जायज भएको र व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने भन्दै विभिन्न कर्मचारीका संगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।
आन्दोलन परिचालन केन्द्रीय कमिटीका सह–संयोजक यमबहादुर खड्का कर्मचारीको आन्दोलनलाई कमजोर नठान्न व्यवस्थापनलाई चेतावनी दिए। कर्मचारीको माग पुरा नगर्दासम्म आन्दोलन नरोकिने उनले बताए। मेडिकल कलेजमा एक हजार ५ सय ५० जना कर्मचारी कार्यरत छन्।
‘कर्मचारीको माग पुरा गर्न सकिँदैन’
कर्मचारीको आन्दोलन चर्किँदै जाँदा व्यवस्थापन पक्षले भने उनीहरूको माग तत्काल पुरा गर्न नसकिने प्रष्ट्याएको छ। नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर व्यवस्थापन पक्षले कर्मचारीले उठाएको मुख्य माग तलब वृद्धिलाई सम्बोधन गर्न सक्ने स्थिति नै नरहेको प्रष्ट्याएको हो।
कलेजका सिइओ सन्तोष कुमार बि.एनले कर्मचारीहरूले माग गरेको तलब, भत्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ साउन महिनादेखि लागु हुने गरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागु गरिने बताए।
कर्मचारीले तलब वृद्धिको माग राखेर अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा ठप्प पार्ने काम गरेको उनको भनाई छ। कम्पनीले नेपाल सरकारले तोके अनुसार कर्मचारीलाई तलब दिइरहेको दाबी गरेको छ।
‘कम्पनीमा कार्यरत हाम्रा कर्मचारीहरूले तलब भत्ता तथा सेवा सुविधा प्रति हामी सजग रही हालको अवस्थालाई मध्यनजर गरी कम्पनीले दिन सक्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउँदै आएका छाैं,’ सिइओ बि.एन.ले भने।
कलेजका एच.आर. प्रमुख श्यामकुमार शर्माले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अवरोध गर्न उचित नरहेको र मानवता विरोधी कार्य समेत भएकाले यस्ता क्रियाकलाप नगरी बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे।
कर्मचारीले तालाबन्दी गर्दा शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा दैनिक करिब ८ सय जना बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेको शर्माले बताए।
मेडिकल कलेजलाई विगत ८ महिनादेखि नयाँ व्यवस्थापनले सञ्चालनको जिम्मा लिएको छ। सञ्चालन गरेको एक वर्ष नपुग्दै कर्मचारीले अनावश्यक रुपमा मागहरू राखेर व्यवस्थापन पक्षसँग निहुँ खोजेको उनीहरूको आरोप छ।
प्रकाशित: ९ पुस २०८१ १९:२७ मंगलबार