८ पुस २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अस्पताल नबन्दा बिरामीलाई सास्ती

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा अस्पताल प्रांगणमा नागरिकसँग पत्रकार कार्यक्रम गरिएको छ। अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शड्ढया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर जिल्लामा पहिलोपटक नागरिकसँग पत्रकार कार्यक्रमअन्तर्गत सार्वजनिक बहस गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको निर्माणाधीन भवनको निर्माण कार्य सक्न पछिल्लोसहित चारपटक म्याद थपिएकाले आउँदो चैत मसान्तसम्म जसरी पनि भवन निर्माण कार्यलाई पूर्णता दिन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई निर्देशन दिए। उनले कार्यालयका सब–इन्जिनियर हरिशंकर रजकमार्फत दैनिक पाँच लाख रुपैयाँको हिसाबले भवन निर्माणको कार्य प्रगति हुने गरी निर्माणलाई तीव्रता दिन र आवश्यक सहजीकरण गर्न सुझाव दिए।

कार्यक्रममा आफ्नो कार्यकालमा भएगरेका काम तथा योजनाहरूका बारेमा प्रस्तुतीकरण गर्दै बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालमा अहिले डेन्टिससहित सातजना कन्सल्ट्यान्ट डाक्टर तथा १२ जना मेडिकल अधिकृत डाक्टरहरू कार्यरत रहेको बताए। विगत एक वर्षदेखि बेनी अस्पतालमा ओपिडी सेवा विस्तार गरेर हरेक दिन बिहान सात बजेदेखि बेलुका आठ बजेसम्म नागरिकलाई सेवा पुर्‍याउनुका साथै पछिल्लोपटक बेनी अस्पतालमा फिजियोथेरापी सेवा थप गरी सञ्चालन भइरहेको छ।

अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा बेनी अस्पतालको सेवा प्रवाहमा सुधार गर्नुका साथै जिल्लाको दूरदराजका स्थानीयलाई लक्षित गरी ओपिडी सेवा विस्तार गरिएको हुँदा राहत मिलेको बताए। ५० शड्ढया क्षमताको निर्माणाधीन भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको हुँदा अब छिटै भवनको बाँकी काम सकेर हस्तान्तरण हुने अपेक्षासमेत गरेका थिए। साथै नागरिकसँग पत्रकार सार्वजनिक बहसमा सहभागीले उठाएका प्रश्न तथा जिज्ञासाको समेत अध्यक्ष सुवेदीले जवाफ दिए।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्वउपसभापति तथा बेनी अस्पतालका पूर्वअध्यक्ष माधवप्रसाद रेग्मी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले अस्पतालको निर्माणाधीन भवनलाई थपिएको समयमै सक्नुपर्ने बताउँदै स्वास्थ्य बिमाको सेवा प्रभावकारी बनाएर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रममा बेनी अस्पतालका कन्सल्ट्यान्ट डा. नितेश श्रेष्ठ, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका सब–इन्जिनियर हरिशंकर रजक, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आआफ्नो धारणासहित सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी केन्द्र बेनी नगरका सचिव ओम रोका, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय म्याग्दीका प्रमुख सविन श्रेष्ठ, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश श्रेष्ठ, बेनी नगरपालिका– ७ का कार्यवाहक वडाध्यक्ष सोहन श्रेष्ठ (विश्वास), ८ नं वडाका कार्यवाहक वडाध्यक्ष यामबहादुर बानियाँ, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत रेजिना बरुवाललगायतको उपस्थिति थियो।

पत्रकार महासंघ म्याग्दीले मानवको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अस्पतालको सेवा प्रवाहलाई लिएर पहिलोपटक सार्वजनिक बहस कार्यक्रम आयोजना गरेको हो। आगामी दिनमा पनि महासंघले विविध क्षेत्रका विषय समेटेर नागरिकसँग सार्वजनिक बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित: ८ पुस २०८१ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App