नेपालमा पहिलो पटक एक नेपालीमा एमपक्स (मंकीपक्स) देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका तनहुँका ३६ वर्षीय युवकमा एमपक्स संक्रमण पुष्टि भएको हो।
ती युवक कामका लागि खाडी मुलुक गएका थिए। स्वदेश फर्केका ती युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै काठमाडौंको एक निजी अस्पतालमा पुगेका थिए। निजी अस्पतालले थप उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रेफर गरेपछि ती युवक त्यहाँ गएका थिए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टेकुले उनको रगतको नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। प्रयोगशालाबाट शुक्रबार साँझ प्राप्त रिपोर्टअनुसार ती युवकमा एमपक्स पुष्टि भएको अस्पतालले जनाएको छ।
ज्वरो आउने, थकाइ लाग्ने, छालामा बिबिरा आउने जस्ता लक्षण देखिएपछि ती युवक जाँचका लागि अस्पताल पुगेका थिए। ती युवकमा देखिएका लक्षणअनुसार उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालका विशेषज्ञ फिजिसियन डा. मिलन बज्राचार्यले जानकारी दिए। डा. बज्राचार्यका अनुसार ती युवक एमपक्स संक्रमण भएको सुरुवाती चरणमा अस्पतालले पुगेका हुन्।
एमपक्स ‘अर्थोपो’ नामक भाइरसबाट मानिसमा सर्छ। पहिलो पटक यो रोग सन् १९७० मा अफ्रिकामा देखापरेको थियो। यो रोग हाल एक सय २२ राष्ट्रमा फैलिएको छ। अर्थोपो भाइरस यौन सम्बन्ध, थुकको छिटा, संक्रमितले प्रयोग गरेका र छोएका सामानलगायतबाट अर्को मानिसमा सर्छ। यो संक्रमण भएको एकदेखि तीन साताभित्र लक्षण देखिन्छ। एमपक्स संंक्रमण भएमा ज्वरो आउने, यौन अंग वा मलद्वारवरिपरि बिबिरा आउने, आँखा रातो हुने, छालामा बिबिरा आउने, मुखमा घाउ हुनेजस्ता लक्षण देखिन्छन्।
एमपक्स संक्रमितलाई लक्षणअनुसार उपचार गरिन्छ। संक्रमितले शरीरमा प्रतिरक्षा बढाउने खानेकुरा खानुपर्छ र आराम गर्नुपर्छ। यसको उपचारका लागि खास औषधि नबनेकाले लक्षणअनुसार उपचार गरिन्छ।
लक्षण
ज्वरो आउने, थकाइ लाग्ने, शरीरका विभिन्न भागमा बिबिरा आउने, आँखा रातो हुने, मुखमा घाउ हुने जस्ता लक्षण देखिन्छन्।
कसरी सर्छ ?
यौन सम्बन्ध, थुकको छिटा, संक्रमितले प्रयोग गरेका रुमाल, ओछ्यान, लुगा, छोएका ढोका, चुकुल, डन्डीलगायतबाट यसको संक्रमण हुन्छ।
कसरी निको हुने ?
यसको खास औषधि छैन, चिकित्सकले लक्षणअनुसार उपचार गर्छन्। संक्रमण देखिए चिकित्सकको सम्पर्कमा जाने, आइसोलेसनमा बस्ने, शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने खाना खाने, आराम गर्ने गर्नुपर्छ।
मिल्दाजुल्दा लक्षण देखिएमा चिकित्सकको सम्पर्कमा जानुपर्छ। अरू व्यक्तिमा नसरोस् भनेर संक्रमित एक्लै (आइसोलेसन) बस्नुपर्छ। वृद्ध, बालबालिका, एचआइभी, दीर्घरोगी, प्रतिरक्षा प्रणाली कमजोर भएका मानिसमा यो भाइरसको संक्रमण भएमा विशेष सावधानी अपनाउनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महााशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले बताए। नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएपछि यसको जोखिम बढेको डा. बज्राचार्यले बताए। ‘समुदायमा अरू पनि संक्रमित हुन सक्छन्, खोजी गर्नुपर्ने देखिन्छ’, उनले भने। गत वर्ष नेपाल घुम्न आएका एक पर्यटकमा पनि एमपक्स संक्रमण पुष्टि भएको थियो। ती पर्यटकलाई आइसोलेसनमा राखी उपचार गरिएको थियो। पर्यटकमा एमपक्स देखिएपछि सरकारले उपचारको मार्गदर्शन बनाएको थियो।
गत सेप्टेम्बरमा छिमेकी राष्ट्र पाकिस्तानमा एमपक्स संक्रमण पुष्टि भएपछि नेपालमा पनि जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको थियो। पाकिस्तानमा संक्रमण पुष्टि भएको चार महिनाभित्र एक नेपालीमा संक्रमण पुष्टि भएको हो। नेपालीमै एमपक्स संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको डा. घिमिरेले बताए। ‘सबै स्वास्थ्य संस्थालाई निगरानी राख्न र रिपोर्टिङ गर्न भनेका छौं’, उनले भने। संक्रमितको ‘कन्ट्याक्ट टे«सिङ’ गर्ने काम पनि सुरु गरिएको महाशाखाले जनाएको छ।
समयमै उपचार नभएमा आँखाको दृष्टि गुम्ने, मस्तिष्क ज्वरो आउने जस्ता जटिलता थपिन गई अन्त्यमा मृत्युसम्म हुन सक्ने चिकित्सक बताउँछन्। एमपक्स संक्रमितमा एक देखि १० प्रतिशत मृत्युको जोखिम हुन्छ। संक्रमितसँग नजिकै बसेर कुराकानी गर्दा थुकको छिटा उछिट्टिएर यो संक्रमण अर्कोमा सर्ने जोखिम हुन्छ। संक्रमितले प्रयोग गरेको रुमाल, ओछ्यान, लुगा प्रयोग गरेमा पनि यसको संक्रमण हुन्छ। संक्रमितले छोएको ढोका, चुक्कुल र डण्डीबाट यसको संक्रमण सर्ने जोखिम हुन्छ।
तथ्यांकअनुसार एमपक्स संक्रमण विभिन्न देशमा भइरहे पनि यसबाट सबैभन्दा बढी अफ्रिका र कंगो प्रभावित छन्। भारत र पाकिस्तानमा पनि एमपक्स संक्रमण भइसकेको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ देखि २०२४ डिसेम्बर ९ सम्म विश्वका एक लाख १५ हजार एक सय एक जनामा एमपक्स पुष्टि भएको छ। तीमध्ये तीन सय ८१ जनाको मृत्यु भइसकेका छ। विगतका वर्षको तुलनामा यो वर्ष धेरैको एमपक्स संक्रमणबाट मृत्यु भएको र अन्य देशमा फैलिने क्रम पनि जारी रहेको भन्दै संगठनले यसलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य चासोको विषय भएको बताएको छ।
प्रकाशित: ८ पुस २०८१ ०८:३१ सोमबार