२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डेङगूको उच्च जोखिममा भक्तपुर

भक्तपुर जिल्ला डेङगूको उच्च जोखिममा परेको सरोकारवालाहरूले बताएका छन्। जनस्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका अनुसार जिल्लामा डेङगूको अवस्था भयावह छ।

कार्यालयले राखेको तथ्याङ्क अनुसार जिल्लाका चार वटा नगरपालिकाहरू मध्ये दुई वटा नगरपालिकाहरूमा डेङगूको जोखिम उच्च छ। भक्तपुर र मध्यपुर थिमि नगरपालिकामा डेङगूकोे जोखिम उच्च रहेको तथ्याङ्क कार्यालयले दिएको छ।

कार्यालयका डेङगू हेर्ने अधिकृत दीपक अच्छामीले भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङगू देखिएको जानकारी गराए। उनले भने, यो हामीसँग प्राप्त डाटा मात्रै हो, खास त न्यूनतम पनि यहाँ बिरामीहरूको संख्या यो भन्दा पनि तेब्बर बढी छ।

आफूहरुकहाँं सरकारी अस्पतालबाहेक निजी पोलिक्लिनिक, मेडिकलहरूबाट परीक्षण गरी पोजेटिभ देखिएकाहरूको तथ्याङ्क नभएकाले वास्तविक पीडित यो भन्दा पनि कम्तीमा तेब्बर रहेको उनको भनाई छ।  उनका अनुसार परीक्षण नगरेर पनि तथ्याङ्क नदेखिएहरुको संख्या उतिकै बढी छ।

तथ्याङ्क अनुसार जिल्लामा महिला र पुरुषहरूमध्ये सबैभन्दा बढी पुरुषहरू डेङगूको जोखिममा रहेका छन् । जिल्लामा कुल नौ सय ३३ पुरुष र सात सय ९६ महिला डेङगूका रोगी छन्। उच्च जोखिममा रहेका नगरपालिकाहरू मध्ये पनि भक्तपुर नगरपालिका क्षेत्रमा डेङगूको जोखिम सबैभन्दा बढी उच्च रहेको छ । तथ्याङ्क अनुसार भक्तपुर नगरपालिका क्षेत्रमा चार सय १६ जना पुरुष र तीन सय ६६ जना महिला गरी कुल सात सय ८२ जना डेङगूका पीडित छन् । त्यसपछि दोश्रो धेरै पीडित मध्यपुर नगरपालिका क्षेत्र छ। यहाँ कुल चार सय ७७ डेङगूका बिरामीहरूमध्ये दुई सय ५६ पुरुष र दुई सय २१ महिला डेङगूका बिरामी रहेका छन्।

जनस्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख शान्तिराम खतिवडाले आइतबार पत्रकारहरुसँंग गरेको अन्तरक्रियामा नयाँ नगरपालिकाका रुपमा रहेका सुर्यविनायक  र चाँगुनारायणमा  परीक्षण नगरेकाले कम संख्या देखाएको बताए । जिल्लामा चल्ने भनेको भक्तपुर, ख्वप र कोरियामैत्री नगरपालिका अस्पताल हो, उनले भने, यी तीनमध्ये भक्तपुर र ख्वपमा भक्तपुर नगर बासी र कोरियामैत्री नगरपालिका मध्यपुर थिमिबासीको नजिकका भएकाले उनीहरुले ती अस्पतालहरूमा परीक्षण गरेकाले त्यहाँ बढी बिरामी देखिएका हुन्। सूर्य विनायक र चाँगुनारायण नगरपालिका क्षेत्रका बासीहरूले भने यी तीनबाहेक निजी तथा काठमाडौंका अस्पतालहरूमा परीक्षण गराएकाले ती दुई नगरपालिकाहरूमा बिरामीको संख्या कम देखाएको दाबी उनले गरे।

डेङगू एउटा भाइरल हो। यो लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यसको लागि झोल पदार्थ बढी खानु पर्दछ। यो रोग लागिसकेपछि रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने भएकाले झोल पदार्थ बढी खानुपर्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित: २५ कार्तिक २०८१ १८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App