२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायलाई सरकारको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनको हेटौंडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरेका छन् ।  

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस गेब्रिएसेससँगको कुराकानीमा उनले तालिम केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्न आग्रह गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।  

जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेब्रिएसेसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।  

६ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन विश्व समुदायसँग आग्रह

मन्त्री पौडेलले सम्मेलनका क्रममा विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे । उनले नेपालका बालबालिकामा क्यान्सरको समस्या बिकराल बन्दै गएको बताउँदै बाल क्यान्सर नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरे । मन्त्रालयले सानै उमेरदेखि नै क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले नियन्त्रणका लागि भरथेग हुने बताए ।  

जर्मनीका स्वास्थ्य मन्त्रीसँग डिजिटल स्वास्थ्य सुदृढिकरणका लागि छलफल

मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए । जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।

खोप तथा पोषणमा भैरहेको सुधारबारे अन्तर्राष्ट्रिय समुदायद्वारा प्रशंसा

नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भैरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालको ग्रामिण क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताएका थिए ।  

स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले बताएपछि सहभागीहरुले त्यस कार्यको प्रशंसा गरेका हुन् ।  

सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्य मन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँगसमेत भेटवार्ता गरेका थिए । भेटमा मन्त्री पौडेलले स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए ।

युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्नका लागि सशक्तिकरणका लागि पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए । जवाफमा युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टरले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय भन्दै सघाउन तयार रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख सापकोटाले जानकारी दिए । 

प्रकाशित: २९ आश्विन २०८१ १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App