भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित पाँच जिल्लामा ७ हजार ५७० निजी भवनमा क्षति पुगेको छ। बाढीका कारण ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ नागरिक विस्थापित भएको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययनले देखाएको छ।
भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी त्रिशूली हुँदै नारायणी नदीसम्म फैलिएको थियो। लेहन्दे खोला जलाधार क्षेत्रमा हिमपहिरोका कारण आएको तीव्र ‘डेब्रिस फ्लो’ भोटेकोसीमा मिसिएपछि बाढीले विभिन्न बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको हो।
प्रतिवेदनअनुसार नुवाकोट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ ३ हजार ९७७ निजी भवनमा क्षति पुगेको छ। रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवन प्रभावित भएका छन्।
स्थानीय तहमध्ये विदुर नगरपालिकामा सबैभन्दा धेरै क्षति भएको छ। विदुरमा मात्रै ३ हजार २६ भवनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि रसुवाको गोसाईंकुण्ड र धादिङको बेनिघाट रोराङ प्रभावित छन्।
बाढीबाट निजी भवन तथा घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ। भवन संरचनामा करिब ३८ अर्ब ९३ करोड र घरायसी सम्पत्तिमा करिब २४ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।
क्षतिग्रस्त भवनको पुनःस्थापना तथा पुनर्निर्माणका लागि करिब ९५ अर्ब ८२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यसअन्तर्गत भग्नावशेष हटाउने, अस्थायी आवास निर्माण, खानेपानी तथा सरसफाइ, भवन मूल्यांकन, मर्मत तथा पुनर्निर्माणलगायतका काम समेटिएका छन्।
यद्यपि कुन घर मर्मत गर्न मिल्ने, कुन पुनर्निर्माण गर्नुपर्ने र कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने भन्ने विषय थप स्थलगत निरीक्षण र घरधुरी प्रमाणीकरणपछि मात्रै यकिन हुने प्रतिवेदनले जनाएको छ।
समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि भने ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने आकलन गरिएको छ।
प्रकाशित: २८ भाद्र २०८३ १५:४२ आइतबार





