२६ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पायल्स भएकाले कस्ता खानेकुरा खानु हुँदैन?

दिसा गर्दा रगत आउँने, मलद्वारमा मासु पलाएको, दुख्ने, सुन्निने चिलाउने लगायतका समस्या आम मानिसमा सुनिन्छ। कसैको त पीप बग्छ, अङ्गुरको झुप्पाजस्तो पलाएको छ भन्ने गरेको पनि सुनिन्छ। यो समस्या नै पायल्स हो।

कसैलाई यो रोग लाग्दा रगत आउँछ भने कसैलाई आउँदैन। पायल्स हुनुको मुख्य कारण खानपान र जीवनशैली नै हो। पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम कम गर्ने, अनियमित खानपान, रक्सी आदिको सेवनका कारण पायल्स हुने गर्छ।

कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा पिसाब लागेको बेलामा नहुनु पायल्स रोगको लक्षण हुन्।

शरीरलाई आवश्यकभन्दा बढी खाना खानु तथा जीवनशैली एकनासको नभए पायल्सले सताउन सक्छ। पाइल्स भएकाहरुले पानी प्रशस्त पिउने, हरियो सागपात खाने, फलफुल खाने, खानासँग मुला, काँक्रो, गाँजर खाने, अनार, स्याउ, बेलजस्ता फलफुल, करेला, धनियाँ, लौका खानु राम्रो हुन्छ। साथै कब्जियत हुन नदिने, हरेक दिन शारीरिक व्यायाम गर्ने र नआत्तिइकन उपचार गर्नुपर्छ।

औषधि उपचारबाट निको हुन केही समय लाग्न सक्छ। शल्यक्रिया अन्तिम उपचार हो। कहिलकाही शल्यक्रिया एक पटकमा नसकिएमा दुई वा तीन पटक पनि गर्नु पर्ने हुन्छ।

पायल्सका बिरामीले के नगर्ने के नखाने ?

पिरो, चिल्लो तथा मसलेदार खाना, माछामासु धेरै सेवन नगर्ने, कब्जियत गराउने खालका खानेकुरा खानु हुँदैन।

उपचार पद्धति

पायल्स भइसकेपछि शल्यचिकित्ससँग परामर्श लिनुपर्छ। यसलाई जाँच गरिसकेपछि ग्रेडिङ्ग गरिन्छ। ग्रेडिङ्ग अनुसार उपचार फरकफरक हुन्छ। तेस्रो ग्रेड भन्दामाथि भएमा अप्रेशन गर्नै पर्ने हुन्छ। तेस्रोभन्दा कम ग्रेड भए पनि रक्तचाप बढी भएको खण्डमा कहिलेकाही अप्रेशन नै गर्नु पर्ने हुन्छ।

साधारणतया पायल्स शुरु भएको थाहा भएमा सागसब्जी बढी खाने पानी धेरै पिउने, माछा, मासु कम खाने, भारी कुराहरु नउठाउने, नियमित रुपमा दिसा गर्ने बानी बसाउनु पर्छ। पायल्स कहिलेकाही प्रोष्टेडको बिरामीसँग सम्वन्धित हुन्छ। यसो भएमा प्रोष्टेडको उपचार पनिसँगै गर्नु पर्ने हुन्छ।  

अप्रेशन कस्तो हो र कति समयमा ठिक हुन्छ ? 

यो मध्यम खालको अप्रेशन हो। यो अप्रेशन दुई प्रविधिबाट गर्न सकिन्छ। नयाँ प्रविधिमा स्टाप्लरको प्रयोग हुन्छ। जुन सर्वसाधारणका लागि महंगो पर्न जान्छ। अर्को भनेको प्रचलित शल्यक्रिया पद्धति हो। जसमा दुखाई अलि बढी हुन्छ तर ६ हप्ता जतिमा राम्रोसँग निको हुन्छ र दोहोरिने सम्भावना निकै कम हुन्छ।

अन्त्यमा, पायल्स भएर अप्रेशन गरेका बिरामीले खानेकुरामा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ, मुख्यतया कब्जियत हुन नदिने र पानी प्रशस्त मात्रामा पिउनु पर्छ।

 

(डा.नविन पोखरेलसँगको कुराकानीमा आधारित)

प्रकाशित: २६ आश्विन २०८१ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App