३० भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा झाडापखालाका बिरामी बढे, झाडापखालाका लागि छुट्टै उपचार कक्ष

मौसम परिवर्तनसँगै बाँकेमा झाडापखालाका बिरामी बढ्न थालेका छन् । मौसम परिवर्तन, खानपिनमा समस्या, पानीको स्रोत दूषित हुनु, खुला दिसा गर्ने परम्परा, पानी निर्मलीकरण नगरी पिउनु लगायतका कारणले बाँकेमा झाडापखाला देखिएको हो ।

दुई सातादेखि भेरी अस्पतालमा आउने झाडापखालाका बिरामीको संख्या बढ्न थालेको भेरी अस्पतालका कार्यालय प्रमुख डा.प्रकाश थापाले बताए । कहिलेकाहीँ देखिने झाडापखालाका बिरामी हिजोआज दैनिक २० देखि २५ जनामा देखिने गरेको छ । यदि यसलाई सामान्य मान्ने हो भने यसले प्रकोपको रुप लिन सक्ने उनी बताउँछन् ।

सिकिस्त बिरामीलाई अस्पतालमा भर्ना गरिने र अरूलाई उपचार हुने व्यवस्था गरिएको छ । बाँकेमा झाडापखालाका बिरामी बढ्दै गएपछि छुट्टै वार्ड (उपचार कक्ष) को स्थापना समेत गरिएको छ । उक्त वार्डमा २० देखि २५ जना बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने भेरी अस्पतालका सूचना अधिकारी तथा इमरजेन्सी प्रमुख डा.संकेतकुमार रिसालले जानकारी दिए ।

झाडापखालाका बिरामीको उपचारका लागि एक जना एमबिबिएस डाक्टर, एक जना स्वास्थ्यकर्मी राखिएको छ भने अन्य डाक्टरले पनि चेकजाँच गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार भेरी अस्पतालमा सोमबारसम्म १२ जना झाडापखालाका बिरामी भर्ना भएका छन् ।

‘बाँकेमा झाडापखाला देखिन सक्ने अनुमान गरिएपछि हामीले छुट्टै वार्ड बनाएका छौं,’ उनले भने, ‘जसले गर्दा झाडापखालाका बिरामीलाई सहज ढंगले उपचार हुने विश्वास छ ।’ केही अगाडीको बैठकमा झाडापखाला वार्डमा जनप्रतिनिधिले स्वास्थ्यकर्मी उपलब्ध गराउने आश्वासनसमेत दिएका थिए । 

बाँकेको नरैनापुर गाउँपालिका–३, गेगलीमा चार जनाको मृत्यु भएपछि झन् सजकता अपनाइएको भेरी अस्पतालले जनाएको छ । यहाँका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको थियो । स्थानीयले उनीहरूको मृत्यु झाडापखालाबाट भएको भने पनि यसको पुष्टि भने भएको छैन ।

उनीहरूको फरक फरक मितिमा मृत्यु भएको नरैनापुर गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । ‘हामीले यहाँ पानीको जाँच गरिरहेका छौं,’ नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नागेन्द्रकुमार साहले भने, ‘पानीमा कीटाणु हुन सक्ने अनुमान गरेका छौं ।’ झाडापखाला भएको भन्ने अहिले नै पुष्टि नभएकाले मृतकको फुड पोइजनलगायतका कारणबाट पनि मृत्यु हुन सक्ने उनको भनाइ छ ।

टाउको दुख्ने र झाडापखाला लागेको एक घण्टापछि ती व्यक्तिको मृत्यु भएको नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अजय कुमार मिश्रले जानकारी दिए । उनका अनुसार अहिले यहाँको अवस्था सामान्य छ ।

प्रकाशित: १७ भाद्र २०८१ १८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App