ललितपुरमा एक महिनादेखि सुरु भएको हैजा संक्रमण अहिलेसम्म नियन्त्रणमा आएको छैन। बुधबार थप एकजनामा हैजा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ललितपुर बालकुमारीका एकजना पुरुषमा हैजा पुष्टि भएको हो। थप पुरुषसहित ललितपुरमा हालसम्म हैजा संक्रमित हुनेको संख्या ४८ पुगेको छ भने देशभर ६८ पुगेको छ।
महाशाखाको तथ्यांकअनुसार ललितपुरबाहेक काठमाडौंमा नौजना, कैलालीमा आठजना, प्युठानमा दुईजना, मकवानपुरमा एकजना संक्रमित छन्। कुल संक्रमितमध्ये सबैभन्दा बढी उपत्यकाभित्र रहेको तथ्यांकले औंल्याएको छ। ललितपुरमा कुल संक्रमितमध्ये ७० प्रतिशत रहेका छन् । कुल संक्रमितमध्येमा ३० जना महिला र ३८ जना पुरुष छन्।
विकसित राष्ट्रमा १८औं शताब्दीमै उन्मूलन भइसकेको हैैजा भने अहिले पनि महामारीका रूपमा रहेको इपिडिमियोलोजी महाशाखा महामारी व्यवस्थापन शाखाका डा. मुकेश पौडेलले बताए।
विकसित राष्ट्रले महामारीलगत्तै हैजाको कारणका संरचनामा सुधार गरिसकेकाले हैजा उन्मूलन भएको तर नेपालमा अहिले पनि संरचना र सफाइको अवस्थामा पूर्ण सुधार आउन नसकेका कारण ललितपुरमा हैजाले महामारीको रूप लिइरहेको उनको तर्क छ।
संक्रमित हुनेहरू सबै वर्ग र पेसाका रहेकाले संक्रमणको कारण मुख्य दुषित पानी रहेको ललिपतुर स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताए।
उनका अनुसार एक महिनायता हैजा फैलिएका ठाउँहरूमा पानी परीक्षण गर्दा धेरैजसो इनारको पानी र केही धाराको पानीमा समेत हैजाको किटाणु फेला परेको थियो। प्रमुख पौडेलका अनुसार ललितपुरमा क्लोरिन नराखेका इनारको पानी भान्छामा प्रयोग गरेको देखिन्छ।
‘कतिले इनारको पानी पिउने गरेको पाइयो, कतिले तरकारी, फलफूल पखाल्न र भाँडा सफा गर्न प्रयोग गर्ने गरेको पाइएको छ’, उनले भने। सबै वर्ग र पेसागत समूहका मानिसमा हैैजा संक्रमण देखिएकाले मुख्य स्रोत पानी नै रहेको उनको दाबी छ।
धेरैमा हैजा संक्रमण भए पनि कतिपयमा प्रतिरक्षा प्रणाली बलियो रहेकाले लक्षण नदेखिएको हुन सक्छ’, उनले भने । ललितपुरमा पानीका स्रोतहरू फरक–फरक भएकाले पनि पानीकै कारण हैजा भएको भन्न नसकिने डा. पौडेले बताउँछन्।
महामारी व्यवस्थापन महाशाखाका प्रमुख डा. मुकेश पौडेल भने उपत्यकामा पानी सुरक्षित नहुनु हैजाको मुख्य कारण रहेको बताउँछन्। ‘वितरण भएका पानीमा एकरूपता छैन नै; अनुगमनको पाटो पनि कमजोर देखिन्छ’, उनले भने। विकसित देशहरूमा पानी दुषित हुन नदिन एकरूपतासहितको बलियो संरचना विकास भइसकेकाले हैजा उन्मूलन भएको देखिन्छ भने नेपालमा पानी वितरणको स्रोत एकरूपता नहुनु नै मुख्य कारण देखिन्छ।
जस्तो कि ललितपुरको हकमा ट्यांकर, इनार, जार, धारा सबै पानी प्रयोग भएको देखिन्छ । त्यसमा पनि धाराबाट वितरण हुने पानीसमेत विभिन्न उपभोक्ता समितिले वितरण गर्ने गरेको देखिन्छ। ‘पानी आपूर्ति गर्नुअघि नै सुरक्षित पानीको सुनिश्चतता हुनुपर्छ, यो भइसकेको छैन’, शाखाका प्रमुख डा. पौडेलले भने।
दुषित पानीबाहेक नागरिकमा व्यक्तिगत सफाइको कमीले पनि हैजा नरोकिएको उनी बताउँछन्। पछिल्लो समय हातको सफाइमा कमी हुँदै गएका कारण पनि संक्रमित रोग सजिलै सर्ने गरेको डा. पौैडेले बताउँछन् । ‘कोरोनाका बेलामा जत्तिकै नियमित हातको सफाइमा मात्र ध्यान दिन सकेमा सरुवा रोग सजिलै सर्दैन’, उनले भने ।
व्यक्तिगत सफाइको कमी र दुषित पानीको प्रयोग हैजाको मुख्य कारण भए पनि यी दुईमध्ये कुनको भूमिका बढी छ भन्नेबारेमा जानकारी लिनका लागि महाशाखाले अनुसन्धानको तयारी गरिरहेको उनले बताए। ‘वैज्ञानिक अनुसन्धानविना नागरिकका बानी–व्यवहार थाहा पाउन सकिँदैन; त्यसैले अनुसन्धान गरी आगामी कार्ययोजना तयार पार्दै छौं’, उनले भने।
वर्षा जारी रहेसम्म हैजाको जोखिम रहेकाले सबैले आफ्नो रिजर्भ ट्यांक र साना भाँडाहरूमा समेत क्लोरिन प्रयोग गरी पूर्ण सुरक्षित पानी प्रयोग गर्न, सकेसम्म उमालेको पानी प्रयोग गर्न, हातको सफाइमा ध्यान दिन र घरबाहिर जथाभावी खाना नखान डा. पौडेलले सुझाए।
प्रकाशित: १३ भाद्र २०८१ ०७:३० बिहीबार