१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी

स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिने गरी ताप्लेजुङमा मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी हुन थालेको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा ल्याब टेक्निसियन निरीक्षक उदयनारायण दुलालका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मातृ मृत्युको संख्या शून्य रह्यो । यस्तै ८ जना नवजात शिशुको मृत्यु भएको छ । 

सो मध्ये ६ जना स्वास्थ्य संस्था बाहिर र २ जनाको स्वास्थ्य संस्थामै मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/८० मा भने गर्भावस्थामा १ र प्रसूति अवस्थामा तीन गरी ४ जना आमाले ज्यान गुमाएका थिए । उति बेला ४ जनाको ज्यान स्वास्थ्य संस्था बाहिर गएको थियो । यस्तै सो आवमा ११ जना नवजात शिशुले ज्यान गुमाएका थिए । तीमध्ये १० जना नवजात शिशुको मृत्यु स्वास्थ्य संस्था बाहिर र एक जनाको मृत्यु स्वास्थ्य संस्थामा भएको थियो ।

नियमित गर्भ जाँचको अभाव,शारीरिक असुरक्षा,अन्तिम समयमा स्वास्थ्य संस्थामा आउने बानी र स्वास्थ्यकर्मीको नियमित परामर्शको अभावलाई मातृ तथा नवजात शिशुको मृत्यु हुने कारणको रुपमा औँल्याउने गरिएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका नर्सिङ निरीक्षक विजया राईले यसलाई मानवीय जीवनको ठुलै हेलचेक्र्याइँकाे रुपमा लिएकी छन् । गर्भ रहेदेखि बच्चा नजमिन्जेल सम्मको अवधिमा स्वास्थ्य परीक्षण र स्वास्थ्यकर्मीको नियमित सल्लाह स्वीकार गर्ने हो भने आमा र बच्चा दुवैको जीवन जोखिम टर्ने स्वास्थ्यकर्मीहरूको सुझाव रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १ सय ५१ जना रहेको छ । 

यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्ने हुन्छ । जन्मिए पछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ । दिगो विकास लक्ष्य अनुरूप सन् २०३० सम्ममा नवजात मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ वा सोभन्दा कम र सन् २०३५ मा १० भन्दा कममा ल्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।

मातृ तथा नवजात शिशुको मृत्यु दरमा क्रमशः कमी आए पनि मातृ मृत्यु दरको तुलनामा नवजात शिशुको मृत्यु दरमा भने अपेक्षाकृत सुधार आउन नसकेको देखिएको छ । गर्भावस्था र सुत्केरी हुने बेलामा देखिने जटिलता र चुनौती तथा नवजात शिशुमा देखिने समस्यालाई नै समाधान गर्ने हो भने मातृ तथा नवजात शिशुको मृत्यु दरमा धेरै कमी आउने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । 

प्रकाशित: २८ श्रावण २०८१ १४:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App