७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ललितपुरमा हैजा संक्रमितकाे संख्या २६ पुग्याे

दुई सातादेखि हैजा संक्रमण फैलिएको ललितपुरमा बुधबार दुईजनामा हैजा पुष्टि भएको छ। उनीहरू दुवैको क्रिस्ट मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

हैजा संक्रमित हुनेमा ललितपुर महानगरको सातदोबाटोकी ८६ वर्षीया महिला र धोबीघाटका ४५ वर्षीय पुरुष छन्। यी दुई संक्रमितसहित ललितपुरमा हैजा संक्रमितको संंख्या २६ पुगेको छ। थप संक्रमितसहित देशभर ३७ जना पुगेका छन्। 

दुवै संक्रमितको प्रारम्भिक अध्ययनअनुसार वृद्धाले उमालेको पानी पिउने गरेको बताएकी छन् भने पुरुषले जारको पानी पिउने गरेको बताएको जिल्ला जनस्वास्थ्य कार्यालयकी सम्पर्क अधिकृत गीता आचार्यले बताइन्।

सुरक्षित पानी पिएको दाबी गरे पनि फलफूल, सलाद या व्यक्तिगत सफाइको कमीले हैजा भएको हुन सक्ने अधिकृत आचार्यले बताइन्। अन्य जिल्लामा हैजा संक्रमण समयमै नियन्त्रणमा आए पनि ललितपुरमा जारी रहेको छ।

ललितपुरमा हैजा संक्रमण गोेदावरीबाहेक अन्य ठाउँमा छिटपुट रूपमा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले बताए। विभिन्न ठाउँमा देखिनुको मुख्य कारण भान्छामा प्रयोग हुने पानी दुषित भएको हुन सक्ने उनको अनुमान छ।

‘पिउँदा जारको पानी पिए पनि भान्छामा प्रयोग हुने धाराको पानी वर्षातसँगै दुषित भएका छन्। धेरै ठाउँमा जम्मा गरेको पानीमा भिब्रियो कलेरा भेटियो, जुन पानीको स्रोतमा दिसा मिसिएपछि मात्र भेटिन्छ’, उनले भने।

छिटपुट रूपमा देखिएका संक्रमित भने कतिपय दुषित पानी र दुषित खानाका कारण भएको हुन सक्ने डा. पौडेलले बताए। ललितपुरसहित सबैजसो ठाउँमा पानीको स्रोत दुषित बनेकाले सकेसम्म उमालेको पानी मात्र प्रयोग गर्न उनले सुझाए। यसका साथै फलफूल तथा सलाद खाँदा उमालेको या शुद्धीकरण गरिएको पानीले पखालेर मात्र खान उनले सुझाए।

प्रकाशित: २४ श्रावण २०८१ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App