ललितपुरमा थप दुई जनामा हैजा पुष्टि भएसँगै देशभरिमा हैजा सङ्क्रमितको संख्या २२ पुगेको छ ।मंगलवार क्रिष्ट अस्पतालमा भर्ना भएर उपचार गराएका उनीहरूको कल्चर रिपोर्टबाट बुधवार हैजा पुष्टि भएको हो ।
उनीहरूसँगै ललितपुरमा मात्रै हैजा सङ्क्रमितको संख्या १३ पुगेको छ भने देशभरिमा हैजा सङ्क्रमितको संख्या २२ पुगेको छ । यस अघि ललितपुरको चापागाउँमा एक जनामा र गोदावरी नगरपालिका थैवस्थीत एक पुनर्स्थापना केन्द्रमा १० जनामा हैजा पुष्टि भएको थियो।
पुनर्स्थापना केन्द्रमा हैजा नियन्त्रणमा आइसकेको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रोकथामको लागि औषधी, सङ्क्रमितहरूले प्रयोग गरेको पानीको इनार शील गर्दै ट्याककीको पानी परिवर्तन गरी औषधी राखेपछि हैजा नियन्त्रणमा आएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले दाबी गरेका छन् । बुधवार हैजा पुष्टि भएका थप दुई जनाको बारेमा विवरण संंकलन गर्न बाँकी रहेको उनले बताए।
बर्सात र गर्मीको कारण उपत्यकामा हैजा तथा झाडापखाला लाग्ने क्रम जारी रहेकोले यसबाट बच्न उमालेको पानी मात्र पिउनको साथै काँचो खानेकुराहरू फलफूल, सलाद राम्ररी पखालेर खाने, सडे गलेका खानेकुरा नखाने, शौचालय गएपछि राम्रोसँग साबुन पानीले हात धुने, खाना खानु र खाना खाइसकेपछि साबुन पानीले हात धुन डाक्टर पौडेलले सुझाव दिएका छन् ।
प्रकाशित: १६ श्रावण २०८१ १६:३५ बुधबार




-600x400.jpg)
