दुई सातायता देशका विभिन्न भागमा हैजा फैलने क्रम जारी छ। आइतबारसम्म १२ जनामा हैजा पुष्टि भइसकेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका विभिन्न स्थानमा सात र कैलालीको धनगढीमा पाँच जनामा हैैजा पुष्टि भएको हो। शनिबारसम्म १० जनामा हैजा पुष्टि भए पनि आइतबार धनगढीमा दुई जना थपिएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बताए।
शनिबार र आइतबार गरी उपत्यकाका विभिन्न ठाउँबाट थप तीनजना बिरामी उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेर भर्ना भएका छन्। उनीहरूमध्ये एक महिला काठमाडौंको कालिमाटीस्थित भीमसेनथानकी, एक महिला ललितपुरको चापागाउँकी र एक पुरुष थैबको पुनःस्थापना केन्द्रका हुन्।
हैजाको लक्षण देखिएपछि उनीहरूको आरडिटी परीक्षण गरिएको छ। कल्चर परीक्षणको रिपोर्ट तयार भइरहेको छ र त्यो आइसकेपछि मात्र हैजा हो कि होइन भनी यकिन गर्न सकिने डा. घिमिरेले बताए। ललितपुरमा हैजा पुष्टि भएकामध्ये ६ जना गोदावरी नगरपालिकाको थैबस्थित सुधार केन्द्रका हुन् । एक जना भने ग्वार्कोको रहेको बताइएको छ। उपचारपछि धेरैजसो निको भई घर फर्के पनि एक जनाको डिस्चार्ज हुन बाँकी छ ।
काठमाडांैको भीमसेनथानकी महिलामा हैजाको लक्षण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार घटनास्थल पुगी त्यहाँको पानीको परीक्षणका साथै अन्य अध्ययन गर्ने तयारी गरेको जनाइएको छ । ‘सोमबार नै स्वास्थ्य कार्यालयबाट टोली गएर पानी परीक्षण गर्ने कार्यक्रम छ,’ जिल्ला जनस्वास्थ्य कार्यालयकी सूचना अधिकारी शारदा चापागाईंले भनिन् । आइतबार र सोमबार टेकु अस्पतालमा उपचारका लागि पुग्नेमा ललितपुर सुधार केन्द्रका एक पुरुष र ललितपुर चापागाउँकी एक महिला रहेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले हैजाको संक्रमण बढ्न नदिन खानेपानी र स्थानीय निकायलाई निर्देशन दिइसकेको बताए । ‘सफा पानीको व्यवस्थापनका लागि स्थानीय तह र खानेपानी कार्यालयलाई निर्देशन दिइसकेका छौं, अरू व्यक्तिगत सफाइ आफैंले पनि गर्नुपर्छ,’ उनले भने ।
ललितपुरका दुईजना संक्रमितको कल्चर रिपोर्ट आउन बाँकी छ । गत सातादेखि नै हैजा पुष्टि भएको ललितपुरको थैबस्थित पुनःस्थापना केन्द्रमा आइतबार पनि थप एक जना बिरामी परेपछि उपचारका लागि शुक्रराज ट्रपिकल अस्पताल रेफर गरिएको हो । यो केन्द्रमा स्वस्थ पानीको व्यवस्थापन गरिसकिएको र व्यक्तिगत सफाइका लागि पहिला नै निर्देशन दिइसकिएको अवस्थामा पनि पुनः बिरामी देखा परेका हुन् ।
घटना देखिएपछि गोदावरी नगरपालिकाले स्थानीयसँग शुद्ध पानीको विषयमा छलफल कार्यक्रम राख्ने तयारी गरिसकेको डा. पौडेलले जानकारी दिए । पुनःस्थापना केन्द्रमा पानी व्यवस्थापनपछि पुनः संक्रमण देखिनुमा सफाइको कमी रहेको डा. पौडेलको भनाइ छ । केन्द्रमा बसोबास गर्नेहरू धेरै भएकाले सबैले उमालेको पानी प्रयोग नगरेको, पहिल्यै देखा परेको हैजाको जीवाणु कतै रहेको हुन सक्ने भएकाले थप अनुसन्धान गर्ने तयारी भएको बताए । ‘जनस्वास्थ्य कार्यालयले पुनः पानीको परीक्षण गर्ने जनाएको छ र अन्य समस्याको पनि खोजी गर्दैछ,’ उनले भने ।
लगातारको वर्षापछि पानीकोे स्रोत र खानेकुरा दूषित बनेका कारण हैजा देखिएको भन्दै समयमै यसको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूबाट छलफलपछि समन्वयकारी काम भइरहेको इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाका निर्देशक डा. घिमिरेले बताए । ‘स्थानीय तह, प्रदेश जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालयसँग भूमिका निर्वाह गर्न भनिसकेका छौं,’ उनले भने । साथै हरेक निकायले पानीजन्य रोगबाट बच्न सुरक्षित पानी, खाना र व्यक्तिगत सफाइमा ध्यान दिने गरी जनचेतनाको कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको डा. घिमिरेले बताए ।
हैजा तथा झाडापखाला दूषित पानी या खानाका कारण हुन्छ । कोलिफर्म, भिब्रियो कलेरा आदि कीटाणुले मुखभित्र पसेपछि पेटमा संक्रमण गराउने भएकाले सकेसम्म उमालेको र शुद्धीकरण गरिएको पानी पिउने, शौचालय गइसकेपछि राम्रोसँग हात धुने, फलफूल र सलाद राम्रोसँग पखालेर मात्र खाने, ताजा खानेकुरा खाने गर्नाले हैजा तथा झाडापखालाबाट बच्न सकिने डा. घिमिरेले सुझाव दिए । ‘हातको सफाइमा ध्यान दिएर उमालेको या शुद्ध पानी पिए यस्ता रोेगबाट बच्न सकिन्छ,’ उनले भने ।
त्यसैगरी सकेसम्म घरबाहिरको खाना नखाने, खाना व्यवसायीहरूले शुद्ध र सफा खानाको व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ । साथै पानी आपूर्ति गर्ने कम्पनीहरूले पनि सक्दो रूपमा शुद्ध पानी उत्पादनमा ध्यान दिनुपर्ने डा. घिमिरले सुझाए । ‘बजारमा पाइने जारका पानी पनि शतप्रतिशत सुरक्षित हुनुपर्छ,’ उनले भने ।
प्रकाशित: १४ श्रावण २०८१ ०८:०९ सोमबार