११ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

धूमपान र सुर्तीजन्य पदार्थले मुखको क्यान्सर बढ्दो

नेपालमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दै गएको बताइएको छ। विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी ऐन कार्यान्वयन गर्न सरकारले काम गरिरहेको बताए। उनले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्य रणनीतिमा सुर्तीजन्य पदार्थले गर्दा लाग्ने क्यान्सर र त्यसको उपचार पद्धतिबारे समावेश गरिएको उल्लेख गरे।

नेपाल अर्वुद रोग निवारण संस्थाका सदस्य डा. प्रदीप वैद्यले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने बताए।

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का अनुसन्धान प्रमुख डा. प्रदीप ज्ञवालीले नेपालमा कति व्यक्तिलाई क्यान्सर लागेको छ भन्नेबारेमा क्यान्सर पञ्जीकरण गर्नु आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी स्वास्थ्य विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. रुद्र मरासिनी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ शोधकर्ता डा. विष्णुप्रसाद मरासिनीलगायतले नेपालमा दाँत तथा मुखसम्बन्धी क्यान्सरको छुटै अनुसन्धान आवश्यक रहेको उल्लेख गरे।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए। उनले मुखमा हुने क्यान्सरलाई कम गर्न अस्पतालले देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै निःशुल्क स्वास्थ्य जाँच गरिरहेको जानकारी दिए।

कलेजका प्राचार्य प्रा.डा. रवीन्द्रमान श्रेष्ठ, ओरल मेडिसिन विभागका प्रमुख प्रा.डा. सिद्धार्थ गुप्ता, दन्त जनस्वास्थ्य विभाग प्रमुख डा. सुजिता श्रेष्ठलगायतले नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट वार्षिक धेरै मानिसको ज्यान जाने गरेकाले यसलाई रोक्न सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताए।

पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको संख्यासमेत बढ्दै गएको छ। सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन्। नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेको तथ्यांक छ। त्यस अवसरमा कलेजका विद्यार्थीले धूमपानबाट हुने मुखको क्यान्सरसम्बन्धी नाटक प्रदर्शन गरेका थिए।

‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना

विश्व धूमपानरहित दिवसका अवसरमा आजै कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रमा ‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना गरिएको छ। ‘सुर्तीजन्य पदार्थको लतमा लागेका व्यक्तिलाई बानीबाट छुटाउने उद्देश्यले केन्द्र स्थापना गरिएको अस्पतालका निर्देशक डा. प्रतीक्षा श्रेष्ठले जानकारी दिए।

केन्द्रले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई परामर्श प्रदान, रोकथामका उपाय, निकोटिन पदार्थको वैकल्पिक उपाय सुझाउने र विभिन्न सरोकार भएका  निकायसँगको सहकार्यमा विद्यालय तथा समुदायमा सुर्तीजन्य पदार्थको प्रयोग र यसका नकारात्मक प्रभावबारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने छ। –रासस

प्रकाशित: १८ जेष्ठ २०८१ १८:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App