२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

मधुमेहका बिरामी काठमाडौंमा सबैभन्दा बढी

फाइल तस्बिर

मधुमेह र उच्च रक्तचापका बिरामी काठमाडौंमा सबैभन्दा बढी पाइएका छन्। ६ महिनाको अवधिमा काठमाडौंभित्रका प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराएका बिरामीमध्ये धेरैमा मधुमेह देखिएको हो। प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा संकलित रिपोर्टअनुसार मधुमेहका रोगीको संख्या बढेको पाइएको महानगरले जनाएको छ।  

उपचारमा पुगेका बिरामीमध्ये २१ हजार ६ सय ९२ जनामा मधुमेह देखिएको हो। उच्च रक्तचाप १९ हजार ६ सय ९२ जनामा, श्वास–प्रश्वाससम्बन्धी ११ हजार दुई सय ११, दाँतसम्बन्धी १० हजार २६, दाँत दुख्ने नौ हजार दुई सय, ज्वरो आउने आठ हजार दुई सय ४० र पेटसम्बन्धी सात हजार पाँच सय १५ जना छन्।

पिसाब संक्रमण भएका ६ हजार दुई सय सातजना थिए। यो तथ्यांक काठमाडौ महानगरले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत जिल्ला जनस्वास्थ्य सूचना प्रणालीबाट प्राप्त गरेको हो।  

मधुमेहका बिरामी धेरै हुनुमा गलत जीवनशैली मुख्य कारण रहेको महानगरकी स्वास्थ्य शाखा इन्चार्ज सजिरा महर्जनले बताइन्। दैनिक व्यायम, अस्वस्थ खानालगायतका कारण रोगीको संख्या बढ्दै गएको उनले बताइन्।

संंघीय सरकारको नसर्ने रोेगको पहिचान र नियन्त्रण निर्देशिकाअनुसार महानगरले सबै वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमा उपचारमा आउने बिरामीको नसर्ने रोगको परीक्षण गरेको थियो। नेपालको नेपाल स्टेप हेल्थ सर्वेक्षण २०१९ ले पनि नेपालमा नसर्ने रोग बढ्दै गएको देखाएको छ। महानगरपालिकाभित्र पनि सोही तथ्य देखा परेको काठमाडौं महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख महर्जनले बताइन्।  

महानगरमा देखिएको नसर्ने रोगको स्थितिलाई नियन्त्रण गर्न महानगरले हालै स्थानीय तहका ७५ जना मेडिकल अफिसर तथा पारामेडिक्सलाई यी रोगको तत्काल उपचार तथा नियन्त्रणसम्बन्धी तालिम दिइसकेको महर्जनले बताइन्।

‘मधुमेह र उच्च रक्तचाप बढिसकेकालाई तालिमप्राप्त मेडिकल अफिसर र पारामेडिक्सले समेत औषधि दिन सक्नेछन्,’ उनले भनिन्। प्राथमिक केन्द्रबाटै औषधि वितरण गरेमा उनीहरूको स्वास्थ्य स्थिर राख्न सकिने उनले बताइन्। यसको साथै हरेक वडामार्फत स्थानीय तहमा नसर्ने रोगको बारेमा अन्तरक्रिया कार्यक्रम गर्ने योजना महानगरले लिएको छ।  

कम चिल्लो, कम गुलियो खाना, खानामा फलफूल तथा तरकारी र फाइबरयुक्त खानाको समावेस गरेमा मधुमेहको जोखिमबाट बच्न सकिने भएकाले यो सूत्र हरेक नगरवासीले अपनाउनुपर्ने महर्जनको सुझाव छ।

यसका साथै दैनिक व्यायाम गर्ने अभ्यास गरी स्वस्थ रहन उनले सुझाव दिइन्। ‘मुख्य कुरा स्वस्थ जीवनशैली हो, यो हरेक नागरकले अपनाउनु आवश्यक छ,’ उनले भनिन्।

प्रकाशित: १२ वैशाख २०८१ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App