७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

किन काठमाडौँ विश्वकै प्रदूषित सहर ? चिकित्सक भन्छन्, ‘घरबाहिर ननिस्किनुस्’

नेपालको सङ्घीय राजधानी काठमाडौँ आइतबार विश्वकै सबैभन्दा प्रदूषित सहरमा सूचिकृत भयो। विश्वका प्रमुख सय वटा सहरहरूमध्ये काठमाडौँको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ।

उक्त संस्थाका अनुसार आइतबार साँझ काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) २०० अङ्क पुगेको छ। यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थ तह हो। काठमाडौँपछि १६७ अङ्कसहित बङ्गलादेशको ढाका विश्वकै दोस्रो र त्यति नै अङ्कसहित थाइल्यान्डको चेङमाई तेस्रो प्रदूषित सहरको सूचीमा परेका छन्।

तर सोमबार (आज) दिउँसो भने नेपाल विश्वकै दोस्रो प्रदूषित सहरमा सूचिकृत छ। थाइल्यान्डको चेङमाई पहिलाे र बङ्गलादेशको ढाका तेस्रो प्रदूषित सहरको सूचीमा परेका छन्।

किन बढ्यो वायु प्रदूषण ?  

वातावरण विभागका अनुसार देशका विभिन्न स्थानमा लागेको डढेलो, अव्यवस्थित सहरीकरण, धुवाँलो, उद्योग कलकारखाना लगायतले काठमाडौँमा प्रदूषण ह्वात्तै बढेको हो।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा अङ्क विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई बैजनी रङ दिइएको छ। बैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआईलाई मरुन् रङ दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ।

विशेषगरी डिजेलमा आधारित सवारीसाधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाले गर्ने उत्सर्जन, कृषि अवशेष जलाउँदा हुने उत्सर्जन तथा फोहोर बाल्दा हुने उत्सर्जन वायु प्रदूषणको प्रमुख कारण मानिँदै आएको छ।

मानव शरीरमा वायु प्रदूषणको असर

स्टेट अफ ग्लोबल एयर–२०२० का अनुसार घरभित्र र बाहिर हुने वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार जनाको मृत्यु भएको थियो। वायु प्रदूषणजन्य मृत्युमध्ये १९ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र २७ प्रतिशत ७० वर्षमाथिका रहेको अध्ययनले देखाएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा वार्षिक रूपमा ९ हजार ९ सयभन्दा बढीको मृत्यु  वायु प्रदूषणका कारण उत्पन्न हुने रोगबाट हुने गरेको छ।  

के भन्छन् चिकित्सक ?

छाती रोग विशेषज्ञ डा.निरज बमका अनुसार वायु प्रदूषण मानव स्वास्थ्यका लागि निकै जोखिमयुक्त मानिन्छ। प्रदूषित वायुमा पाइने हानिकारक कण, रसायन र ग्याँसले मानव शरीरमा तत्कालीन रूपमा छाला चिलाउने, श्वास नली सुक्खा हुने, कपाल झर्ने, नाक चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने चिलाउने, कन्जक्टभाइटिस जस्ता समस्याहरू देखिन्छन्। यो प्रदूषणले दीर्घकालीन रूपमा श्वासप्रश्वास, मुटु र फोक्सोमा गम्भीर समस्या निम्त्याउँछ।

डा.बमले शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको विभिन्न अध्ययनहरूले देखाएको बताए।

उनले अहिले नै पनि वायु प्रदूषणले निम्त्याएका समस्याहरू लिएर अस्पताल आउने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरे।

डा.बलले हरेक वर्षको चैत महिनामा प्रदूषण निकै बढ्ने गरेको भन्दै कचौरा आकारको काठमाडौँ उपत्यकामा ‘हावा पास’ हुने वातावरण नभएको बताए । ‘यसले गर्दा पनि प्रदूषण बढेको हो’, उनले भने ।

डा.बमले मानव स्वास्थ्यका लागि अहिलेको वातावरण अत्यन्त अस्वस्थ भएकाले यो समयमा  खुला ठाउँमा शारीरिक गतिविधि नगर्न सुझाव दिए। डा. बम भन्छन्, ‘वायु प्रदूषणको कारण हामीले सास फेर्दा हावामा भएका साना र ठुला कण घाँटीमा अड्किने हुन्छन्। यसरी अड्किएका कणले गर्दा घाँटी चिलाउने र खोकी लाग्ने हुन्छ। हावामा भएका साना कणहरू भित्र फोक्सोमा पुग्दा सीओपीडी दमले सताउने गर्दछ। यी कणहरू फोक्सोबाट रगतको नली हुँदै पुरै शरीरमा फैलिन्छन्। जसले गर्दा हृदयाघात हुने खतरा बढेर जान्छ।’

उनले समय बढ्दै जाँदा विभिन्न दम रोग हुँदै जाने र फोक्सोमा क्यान्सरसमेत हुनसक्ने भन्दै आफ्नो शरीरमा केही असजिलो भयो भने तुरुन्त अस्पताल जानु पर्ने सुझाव पनि दिए।

डा.बमका अनुसार प्रदूषणका कारण सबै उमेर समूहलाई उत्तिकै जोखिम हुन्छ। तर विशेषगरी दीर्घ रोगी जसलाई मुटु, दमको समस्या छ उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। उनले बालबालिका र वृद्ध वृद्धालाई प्रदूषणबाट जोगाउन घरको झ्यालहरू बन्द गर्ने, बाहिर ननिस्कने जस्ता कुरामा ध्यान दिनुपर्ने बताए।

डा.बम भन्छन्...

(क) सकभर घरबाट बाहिर ननिस्कने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने।

(ख) चस्मा लगाएर मात्र घरबाट निस्किने।

(ग) सकेसम्म उमालेर सेलाएको मन तातो पानी मात्रै सेवन गर्ने।

(घ) बाहिरको खाना नखाने।

(ङ) पुरै शरीर ढाक्ने सूतिका कपडा लगाउने।

(च) सधैँ छाता ओढेर निस्कने ।

डा.बमले प्रदूषण नियन्त्रणका दीर्घकालीन उपायहरू पनि सुझाएका छन्।

उनका अनुसार पुराना सवारी साधन विस्थापित गर्दै लैजाने र नयाँ सवारी साधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने। वनजंगल फडानी नगर्ने, जङ्गलमा डढेलो लगाउने काम नगर्ने, डढेलो लागेको थाहा पाउनासाथ त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्ने, वृक्षारोपण गर्ने कामलाई प्रोत्साहन गर्ने। सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध लगाउने। ढल निकासको उचित व्यवस्था गर्ने। इन्धनको रूपमा दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने। र, व्यवस्थित सहरीकरण र विकासमा ध्यान दिने।

अन्त्यमा डा.बम भन्छन्, ‘सरकारले वायु प्रदूषण नियन्त्रणका लागि खासै ठोस योजना ल्याएर काम गरेको देखिँदैन। वातावरण प्रदूषित हुनबाट रोक्न सरकारले आवश्यक सबै क्षेत्रमा मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ।’

‘आफैले बनाएका नीति नियमको पालना कडाइका साथ गर्न लगाउने विषयमा सरकार चुकेको छ। सरकार पटक–पटक फितलो रूपमा प्रस्तुत भइरहँदा समस्या जहाँको त्यही देखिन्छ’, उनले भने ।  

प्रकाशित: २६ चैत्र २०८० १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App