१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

‘प्रधानमन्त्रीले डडेलधुरामा शिक्षण अस्पताल बनाउने तयारी गर्नुभएको मैले भर्खरै जानकारी पाएको छु। अब पालो भरतपुर अस्पतालको हो। मैले भनेपछि शेरबहादुरजीले नमान्ने कुरा हुँदैन, अब भरतपुर अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन हुनेछ,’ यो अभिव्यक्ति भरतपुर अस्पतालको वार्षिकोत्सव उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि दिएका थिए।

त्यतिखेरको आश्वासनलाई केन्द्रित गर्दै भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले आइतबार अस्पतालको ६८औं वार्षिकोत्सवको अवसरमा बताए, ‘हामी भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउने भनेर धेरै लाग्यौं। पटकपटक प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, राजनीतिक दल सबैलाई भेट गर्‍यौं। उहाँहरूबाट आश्वासन मात्र पाइयो अझै सम्बन्धन पाउन सकेका छैनौं।’

उनले एमबिबिएस कक्षा सञ्चालनका लागि आश्वासन दिए पनि कार्यान्वयन हुन नसकेको बताए। उनले आगामी वर्षदेखि एमबिबिएसका कक्षा सञ्चालन गर्नका लागि सहयोग गर्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई अनुरोधसमेत गरे।

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्। ‘एमबिबिएसका कक्षा सञ्चालन गर्न पहल गर्छु। म अस्पताल प्रशासनको मागप्रति गम्भीर छु।

आश्वासन होइन यो मेरो प्रतिबद्धता हो,’ उनले भने, ‘त्यसकारण यसलाई त्यही रूपमा हेर्नुहोला।’ भरतपुर अस्पताललाई २०७९ साल चैत १० गते राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट आंगिक कलेजका रूपमा विस्तार गरिएको छ। कार्यान्वयन गर्ने काममा आफू प्रतिबद्ध भएको उनले बताए। उनले जिल्लास्तरबाट केन्द्रीय अस्पताल बनाउन पहल गरेको समेत बताए।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई चिकित्सा शिक्षा, उपचार, र अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताए। ‘उपचारको पक्ष, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान क्षेत्रमा पूर्वाधारहरू तयार भएको छ,’ मन्त्री यादवले भने, ‘चितवनलाई स्वास्थ्य उपचारको केन्द्रका रूपमा विकास गरिने छ।’

उनले भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि चिकित्सा शिक्षासँगै क्यान्सरको अनुसन्धान केन्द्रका रूपमा विकास गरिने बताएका छन्। उनले भरतपुर अस्पतालको आवश्यकताका आधारमा पूर्वाधार निर्माण गरिने बताए।

भरतपुर अस्पतालमा २०७२ सालदेखि चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)अन्तर्गत बिएन र पोस्ट ग्य्राजुएट (पिजी) को पठनपाठनका कक्षा सञ्चालन भइरहेका छन्। एमबिबिएसका कक्षा सञ्चालनका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपनि स्वास्थ्य मन्त्रालय र चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठानले अगाडि नबढाएको निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘२०७२ सालदेखि एमडिएमएस पढाइ भएको छ। तर, पूर्णकालीन शिक्षक पाइएको छैन,’ उनले भने, ‘सम्बन्धन प्राप्त नहुँदा  

६ महिना मात्र पढाउने गरेका छौं।’ 

भरतपुर अस्पतालमा औसतमा दैनिक दुई हजार बिरामी आउने गर्छन्। गत वर्षको तुलनामा ५० प्रतिशतले बिरामी बढेको मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिवारीले बताए। यहाँ  शय्याकाे संख्या ६ सय छ। वार्षिक १२ हजारभन्दा बढी प्रसूति हुन आउने गर्दछन्।

नौ हजारभन्दा बढीको ठूलो शल्यक्रिया भएको उनले बताए। गरिब बिरामीका लागि पाँच करोड रूपैयाँ खर्च गरिएको उनले बताएका छन्। भरतपुर अस्पतालमा ७० प्रतिशत स्वास्थ्य बिमाका बिरामी आउने गर्छन्। 

प्रकाशित: २६ चैत्र २०८० ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App