२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया

कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्। उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघर समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन्। सो अवधिमा उनले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिएका छन्।

टीकापुर अस्पतालमा हरेक महिना झन्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन्। सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउँछन्। यसबाहेक अस्पतालमा सातामा तीन-चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ।

यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ। ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठजनाको शल्यक्रिया गरिएको डा. दासले बताए।

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन्। ‘कहिलेकाहीँ एकै दिन सातवटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ’, उनले भने, ‘सुत्केरी सेवाका साथै पाठेघर समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा संक्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौं।’

अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ। डा. दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताइन्।

‘मेरो बुहारीको अवस्था खतरामा थियो। बाहिर लैजान हामीसँग रकम थिएन। टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो’, उनले भनिन्, ‘धेरै गरिबको रकम बचत भएको छ।’ पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उनले बताइन्।

टीकापुर नगरपालिकाले स्त्री रोगविशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन्। स्त्री रोग विशेषज्ञ डा. दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दै आएका छन्। तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ।

‘शिशुको नाभि र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो। यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ’, डा. दासले भने, ‘हामीले दुवैलाई बचाउन सक्यौं।’

टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन्। उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको अस्पतालले जनाएको छ।

–रासस

प्रकाशित: १९ फाल्गुन २०८० ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App