१० फाल्गुन २०८० बिहीबार
स्वास्थ्य

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ। बाहिरी अंग भएकाले पनि पहिलो नजर मासिनको दाँतमै पर्ने गर्दछ। दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ।

त्यही दाँत बांगोटिंगो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ। हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले धेरैले धेरै रकम खर्च गर्ने गरेका छन्। अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ

 दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन्। गुलियो, टाँसिने खानेकुरा जस्तै– चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरैका दाँतमा किरा लाग्ने गरेको छ। धेरै गुलिया खानेकुरा खाँदा र दाँत नमाँझ्ने गर्दा बालबालिकाका दाँत पनि किराले खाने गरेको छ।

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्। उनका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्छन्। ‘पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरैजसो दाँत बचाउनका लागि आउने गरेका छन्’, उनले भनिन्, ‘दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन।’

अस्पतालमा दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गरी पाँच शाखा रहेका छन्। ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन्। तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा. प्रधानले बताइन्। उनले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताइन्।

उनका अनुसार बांगोटिंगो दाँत मिलाउनका लागि मानिस धेरै आउने गर्दछन्। बालबालिका तथा युवाका बिग्रेका बांगा दाँतलाई स्टिल तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उनको भनाइ छ। दाँतको उपचार ६-६ महिना गर्नुपर्ने उनको सुझाव छ।

किराले खान थालेको कसरी थाहा पाउने ?

हाम्रो मुखमा सात सय प्रकारका सूक्ष्म जीवाणु रहेका हुन्छन्। खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ राखेन भने जीवााणुले खानासँग प्रतिक्रिया गरेर एसिड निकाल्ने गर्दछ। त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ। एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ। विस्तारै जीवाणुले इनामेलभित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नशा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ।

दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खाँदा दाँत सिरिङसरिङ गर्ने गर्दछ। अनि किराले अलिभित्र खाएको छ भने चिसो पानी खाँदा दाँत सिरिङ हुन्छ। अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ। तातो खाँदा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै दुख्न थालेको हुने विभागका प्रमुख डा. प्रधान बताउँछिन्। त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ।

मुखमा रहेका सूक्ष्म जीवाणु गिँजावरिपरि लेउ बनाएर बस्ने गर्दछ। त्यसलाई सफा गर्न बिहान–बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ। खाना खाइसकेपछि बिहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तीमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेकपटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा. प्रधानको छ। दाँत माझेन भने सूक्ष्म जीवाणु दाँतवरिपरि जम्मा हुने गर्दछ। त्यही जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ।

वरिष्ठ दन्त चिकित्सक प्रा.डा. प्रधान मानिसलाई पटकपटक खानेकुरा नखान पनि सुझाव दिन्छिन्। ‘पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ। यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ’, उनले भनिन्, ‘छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ।’

उनका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलिया खानेकुरा दाँतवरिपरी टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जिब्रोमा सूक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ।  

दाँत बचाउने उपाय के हुन सक्छ ?

उनले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्नेसमेत बताउँछिन्। नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने र महँगो पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्न समस्या हुने उनको भनाइ छ।

उनले एकजना बिरामीको सामान्य उपचार गर्दा कम्तीमा चार–पाँच दिन लाग्ने र आरसिटी, दाँत बाँध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भए पनि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको छ। ‘दाँत उपचारको स्वास्थ्य बिमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट वञ्चित रहेका छन्’, उनले भनिन्, ‘सर्वसाधारणलाई दाँत उपचारमा सेवा पु¥याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ।’

पहिलेपहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये, तर अहिले मानिसमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन्। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिन्छिन्। उनले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिन्छिन्। ‘दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौं भने हाम्रो स्वास्थ्यमै असर पर्ने गर्दछ’, उनले भनिन्, ‘त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन।’

अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ। सुरुसुरुमा ब्रस गर्दा गिँजाबाट रगत आउने गर्दछ। त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर टोक्दा रगत आउने गर्दछ। त्यसलाई पनि उपचार नगर्दा गिँजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ। गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ। दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग (अल्जाइमर) रोग जस्ता थप रोग लाग्ने गर्दछन्।

दाँत किराबाट बचाउने के गर्ने ?

दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ। यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ। चुरोट सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसका गिँजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ। बच्चाले दाँत नमाझ्ने धेरै किराले खाने गर्दछ।

दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठ्नासाथ दाँत माझ्ने गर्नुपर्दछ। खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन। बिहान खाना खाएपछि दुईतीन घन्टा केही खानु हुँदैन। राति सुत्दा अनिवार्य रूपमा दाँत माझ्नुपर्दछ। दिउँसो थुक धेरै आउने भएकाले थुकले सूक्ष्म जीवाणुलाई भित्र लैजान्छ। राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतवरिपरि सूक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उनको भनाइ छ।  

हरेक तीन÷तीन महिना ब्रस फेर्नुपर्दछ। कडा नभई नरम ब्रसले दाँत माझ्नु पर्दछ। कडा ब्रसले दाँत माझ्दा दाँतका इनामेलमा असर पु¥याउने गर्दछ। एकपटकमा ठूलो केराउको दानाजति पेस्ट राखेर माझ्न सकिन्छ। दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ।

अस्पतालमा ठाउँ अभाव

वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ। थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा. प्रधानले बताइन्। उनले भनिन्, ‘अन्यभन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ। हाम्रोमा अन्यभन्दा गुणस्तरीय र सस्तो सेवा रहेको छ। त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ।’

अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ। दन्त अस्पताल बनाउनुपर्छ भनेर सम्भाव्यता अध्ययन भए पनि अगाडि नबढेको अवस्था रहेको अस्पतालका दन्त विभागका प्रमुख प्रा.डा. प्रधान बताउँछिन्। अस्पतालमा अहिले सातजनाले मास्टर एन्ड डेन्टल सर्जरीमा स्नातकोत्तर गरिरहेका छन्।  

अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै  

नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रञ्जिता श्रेष्ठ विश्वमै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।

उनले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताइन्। ‘विदेशमा गरिने सबै विशेषज्ञ सेवा हामीले नेपालमै दिने गरेका छौं’, उनले भनिन्, ‘दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन।’

उनका अनुसार बांगोटिंगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउँडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाइ नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन्।

नेपालमा दैनिक रूपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन। ‘नेपालमा दन्त चिकित्सक प्रशस्त छन्, तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन’, प्रमुख प्रा.डा. प्रधानले भनिन्, ‘राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ। दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पु¥याउन आवश्यक रहेको छ।’

उनका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सातवटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन्। तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ।

सरकारी सेवामा पर्याप्त मात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन्। नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अस्ट्रेलियामा समेत जाने गरेको उनको भनाइ छ।

उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा.डा. प्रधान बताउँछिन्। अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन्। –रासस

प्रकाशित: २९ माघ २०८० १२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App