२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

सेनेटरी प्याड ग्रहण गर्दै। तस्बिर : नागरिक

पहिले महिनावारी (छुई) हुँदा लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्ने गर्थिन्। जुम्लाको पातारासी गाउँपालिका– ४  की तारादेवि बुढा। लगाउन नमिल्ने कपडालाई सानो–सानो टुक्रा बनाई महिनावारी (छुई) भएका बेला प्रयोग गर्ने गरेको उनी बताउँछिन्।

‘महिनावारी हुँदा कुनामा फालेको टालो (कपडा) लगाउने गर्थाैं’ बुढाले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो। एकपटक धोएर राखेको र राम्रोसँग नसुकेको कपडा लगाउँथ्यौं।’

महिनावारीको समयमा पुराना कपडालाई प्याडका रुपमा प्रयोग गर्दै आएकी हरिदेवी हिजोआज नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन्। ‘बुढाले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि सजिलो लाग्ने रहेछ।’

महिनावारीका समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उनी खासै जानकारी थिइनन्। त्यति मात्र होइन, महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न पनि लज्जित हुन्थिन्। महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले अहिले सरसफाइका रुपमा पनि बुझ्न थालेकी छन्। उनी भन्छिन्, ‘यस्तो बेलामा सरसफाइमा ध्यान दिनुपर्ने रहेछ।
 


सेनेटरी प्याड लिन नाम लेख्दै पातरासीका महिला। 

पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले केही वर्षदेखि प्याड वितरण सँगै प्रयोग गर्ने तरिका र डिस्पोज गर्ने उपायबारे सचेतना दिएबाट उनी प्रस्ट भइन्। उनले भनिन्, ‘छोरीहरूलाई पनि भन्ने गरेकी छु।’

हरिदेवीजस्तै सोही वडाकी मुना बुढाले पनि झुत्रा कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेको बताइन्। अहिले सोही वडाकी प्रायः महिला सेनेटरी प्याड प्रयोग गर्छन्। गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले महिलालाई प्याड वितरण गरिरहेको शाखा प्रमुख भगवती गिरीले बताइन्

४ नम्बर वडामा स्वास्थ्य सामग्री सहित सेनिटरी प्याड वितरण गरिएको उनी बताउँछिन्। छुइगोठ मुक्त घोषणा कार्यक्रमबाट महिलालाई प्याड वितरण हुँदैछ। ‘महिला शाखा र ४ वडाको आर्थिक सहयोगमा उक्त वडा भित्रका पाँच सय घरधुरीका महिलालाई सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन उपलब्ध गराइएको हो।

४ वडाका तिर्खु, डिल्लीचौर, डोल्काटी, लाम्री र वैसेनी गाउँका महिलालाई कतै घरदैलोमा त कतै वडा कार्यालयमा पुगेर बाँडिएको थियोे। यसअघि सो वडाको लुम र भोटागउँमा पनि सेनिटरी प्याड, भित्री वस्त्र, नुहाउने र कपडा धुने साबुन र टावेल प्रदान गरिएको शाखाले जनाएको छ।

यस्तै २ नम्बर वडाका पेरे र तल्फि गाउँका महिलाले पाइसकेकी छन्। यसैगरी गाउँपालिकाकोे – २, ४ र ५ नम्बर वडा छाउपडीमुक्त घोषणा भइसकेका छन् भने वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा पनि गरिएको छ।

शाखा प्रमुख गिरीका अनुसार आगामी दिनमा किशोरीलाई विद्यालयमा सेनेटरी प्याड बनाउने तालिम दिन आवश्यक छ। आगामी बजेटमा प्रस्ताव गरिने छ। महिला शाखा र वडा पालिकाले सुरक्षित स्वास्थ्य सामग्री घरदैलोमा वितरण गर्दै आएको छ।

प्रकाशित: २४ माघ २०८० ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App