१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीरमा विश्वस्तरीय ‘अनुहार शल्यक्रिया’

महिला या पुरुष हरेकमा सुन्दर देखिने चाहना हुन्छ। धेरैले सुन्दरता अनुहारमा खोज्छन्। तर कोही जन्मजात अमिल्दो अनुहारका हुन्छन्, कसैको चोटपटकका कारण अनुहार बिग्रेको हुन्छ। 

चोटपटकले च्यापुको जोर्नी फुत्किएर तलमाथि हुने, अनुहारकाे हड्डी भाँच्चिने र च्यापु लामो हुने जस्ता समस्या आउँछन्। यस्तो अवस्थामा अनुहार अमिल्दो देखिने मात्र होइन, खान र बोल्दासमेत समस्या आउँछ। यी समस्याको उपचार मुख तथा अनुहारको आकृति मिलाउने शल्यक्रिया (ओरल एन्ड माक्सिलोफेसियल सर्जरी) बाट गरिन्छ। वीर अस्पतालमा दुई वर्षयता यस्तो समस्या लिएर आउनेको चाप बढेको चिकित्सक बताउँछन्।

जनकपुरका २६ वर्षीय अंकित चौधरीको जन्मिँदै च्यापु अमिल्दो थियो। च्यापु अमिल्दो भएकाले लामो देखिन्थ्यो। खाना खाँदा पनि उनलाई सकस हुन्थ्यो। खाना चपाउन सुरु गर्‍यो कि पछाडिको भाग दुखेर हैरान हुन्थे उनी।

यस्तो हैरानीको उपचार खोज्न उनी कोरोनाकालमा भएको ‘लकडाउन’का बखत काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा गए। त्यहाँ चिकित्सकले दाँत नमिलेको भन्दै तार बाँधेर दाँत मिलाउने कुरा गरे। उनलाई चित्त बुझेन। उनी आफन्तमार्फत वीर अस्पताल पुगे।

वीरमा उनले वरिष्ठ अर्थोडोन्टिस्ट डा. मनीष बज्राचार्यलार्ई भेटे। गत मंसिरमा उनको शल्यक्रिया भयो। शल्यक्रियापछि अहिले उनी स्वस्थ छन्, हेर्दा पनि आकर्षक देखिन्छन्। उनले भने, ‘पहिला खाना खाँदा पछिल्लो भाग दुखेर हैरान हुन्थेें, अहिले सजिलो भएको छ।’

त्यस्तै काठमाडौंकी २३ वर्षीया शर्मिला थापा (नाम, थर परिवर्तन) को अनुहार पनि अमिल्दो थियो। खाना चपाउँदा कानको जोर्नी दुख्थ्यो। च्यापुको भाग अघि आएका कारण साथीभाइको अघि उनले हीनताबोध गर्थिन्। कतै जानुपरे मास्कको प्रयोग गर्थिन्।

उनी राजधानीकै एक सरकारी अस्पतालमा गइन्। त्यहाँ उनको दाँत बाँधियो। कुनै सुधार भएन। त्यसपछि उनी गत असारमा वीर अस्पताल पुगिन्। वीरमा ओरल एन्ड माक्सिलोफेसियल टिमले उनको उपचार गर्‍यो।

उपचारपछि अहिले उनी सजिलै खाना खान सक्ने भएकी छिन् भने अनुहार पनि चिटिक्क देखिएको छ। ‘पहिला उनी झन्डै डिपे्रसनमा गइसकेकी थिइन्, अहिले सबैसंग हाँसेर बोल्छिन्,’ उपचारमा संलग्न वरिष्ठ अर्थोडोन्टिस्ट डा. बज्राचार्यले भने।

अहिले वीर अस्पतालमा यो सेवा लिन आउनको चाप बढेको छ। अस्पतालका वरिष्ठ ओरल तथा माक्सिलोफेसियल सर्जन डा. किशोर भण्डारीका अनुसार दुई वर्षदेखि यो सेवा लिन आउनेको संख्या बढ्दै गएको हो। उनले वैसाखसम्म अनुहार मिलाउने शल्यक्रियाको पालो तोकिइसकेको बताए। 

अनुहार मिलाउन चाहनेमा धेरैजसो १८ देखि २५ वर्ष उमेरभित्र युवा छन्। युवामा ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिला छन्। ‘शल्यक्रिया गर्न वैसाखसम्मको समय बुक भइसकेको छ,’ डा. भण्डारीले भने।

उपचारका लागि कोही अन्य अस्पतालबाट रेफर भएर आउँछन् त कोही पत्रपत्रिकाबाट जानकारी पाएर। कोही दाँत नमिलेको समस्या लिएर आउँदा समस्या अनुहारको हड्डी नमिलेको पाइएको छ। चिकित्सकका अनुसार वीरमा यो सेवा सुरु भएको केही वर्षसम्म सेवा लिन आउने निकै कम थिए। हालसम्म ६० जनाको माक्सिलोफेसियलसम्बन्धी शल्यक्रिया भइसकेको छ।

जसमा पछिल्लो दुुई वर्षमा ५० जनाको शल्यक्रिया भएको अस्पतालको ओरल एन्ड माक्सिलोफेसियल युनिटले जनाएको छ। शल्यक्रिया गराउन पुरुषको उमेर १८ वर्ष र महिलाको उमेर १६ वर्ष पुगेको हुनुपर्छ। स्वास्थ्य अवस्था ठिक भएमा ५० वर्ष उमेरसम्म यस्तो शल्यक्रिया गर्न सकिने चिकित्सक बताउँछन्।

वीर अस्पतालको सेवा अब्बल भएका कारण बिरामीको चाप बढेको चिकित्सकद्वय भण्डारी र बज्राचार्यले बताए। भण्डारीका अनुसार वीरमा आधुनिक तरिकाले उपचार हुने भएकाले बिरामीको चाप बढेको हो। सेवा सुरुका वर्षहरूमा अनुहारको नाप ‘म्यानुअल’ प्रणालीबाट लिने र त्यहीअनुसार शल्यक्रिया गरिन्थ्यो।

चिकित्सकद्वय बज्राचार्य र भण्डारीले चीन र अमेरिकाबाट तालिम लिएर आएपछि उपचारमा डिजिटल प्रविधि सुरु गरियो। यो प्रविधिमा विशेष ‘एप्स’ मार्फत अनुहारको नाप गरी अनावश्यक भाग शल्यक्रिया गरी हटाइन्छ।

यो प्रविधिबाट शल्यक्रिया गर्दा अनुहार चिटिक्क मिल्छ, घरीघरी शल्यक्रिया गर्नुुपर्दैन र उपचारमा त्रुटि हुने सम्भावना पनि निकै कम हुन्छ। ‘वीरमा हुने ओरल एन्ड माक्सिलोफेसियल सर्जरी अमेरिकाको सरह छ, शल्यक्रिया गरिएका सबै खुशी छन्,’ डा. भण्डारीले भने।

बिरामीको चाप बढेको तर शल्यक्रिया कक्ष कम भएकाले पालो कुराउनुपर्ने अवस्था आएको डा. बज्राचार्य बताउँछन्। उनका अनुसार वीरमा ओरल एन्ड माक्सिलोफेसियल सर्जरी महिनामा दुईवटा मात्र हुन्छ। यसैकारणले बिरामीले लामो समय कुर्नुपर्ने भएको हो।

प्रकाशित: १९ माघ २०८० ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App