१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वदेशमा भविष्य देख्दैनन् नर्स

फाइल तस्बिर

भरतपुर महानगरपालिका– २५ स्थित शुक्रनगरकी सुनिता सुनार भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्नातक तह (बिएन) दोस्रो वर्षमा अध्ययनरत छिन्। स्वदेशमै बिरामीको सेवामा लाग्ने चाहनाका साथ अध्ययनमा लागेकी सुनारको पछिल्लो समय मनस्थिति फेरिएको छ।

देशमा यही अवस्था रहे विदेश जाने सोच उनको छ। ‘यहाँ तलब सुविधा छैन। यही अवस्थामा रहे यहाँ बस्न सकिँदैन’, नर्सको पारिश्रमिक अवस्था बताउँदै उनले भनिन्, ‘यतिका रकम खर्च गरेर पढ्नु छ। यहाँको तलबमा जीवन गुजारा गर्नै सकिँदैन। विदेश जानुको विकल्पै छैन’, आफूसँगैका साथीहरूले विदेश गएर प्रगति गरेको समेत उनले बताइन्।

काठमाडौँकी दुर्गा पौडेल पनि सुनारसँगै अध्ययनरत छिन्। उनको विचार पनि सुनारको भन्दा फरक छैन। अवसर पाए विदेश जाने सोच उनमा छ। ‘दिदीहरूले सेतो कोट लगाएर बिरामीको सेवामा तल्लीन भएको देख्दा नर्सिङ पढ्न मन लाग्यो। तर यहाँ बिएन गरेपछि पनि पिसिएल बराबरको जागिर पाइँदैन’, उनले भनिन्, ‘मेहनतअनुसारको नभएपछि बिदेसिनुको विकल्प छैन।’ उनी आफ्नो पढाइसँगै बिरामीको सेवामा छिन्। अहिले योग्यताअनुसारको अवसर नभएको गुनासो उनको छ।

पेसागत रुपमा हेर्दा नर्सिङ जति सजिलो देखिन्छ, व्यावहारिक रुपमा त्यति नै जटिल छ। नर्सिङ पेसामा राज्यको कमजोर नीति अनि समाजको दृष्टिकोणका कारण नर्सिङ पढिरहेकाहरू नै नेपालमा आफ्नो भविष्य सुरक्षित देख्दैनन्।

विगत सात वर्षदेखि नर्सिङ पेसामा आबद्ध देवचुलीकी रुपा गौतम सरकारको नीतिका कारण नर्सहरू पलायन हुने अवस्थाआएको बताउँछिन्। ‘निजी अस्पतालमा तलब न्यून छ। सरकारीमा आफ्ना मान्छेलाई मात्र भर्ना गर्दछन्’, उनले भनिन्, ‘पढेकाभन्दा पनि सोसफोर्समा काम हुन्छ।’

नेपालमा ३० हजार हाराहारीमा नर्स बेरोजगार भएको आकलन छ। निजी अस्पतालमा काम गर्ने नर्समाथि चरम श्रम शोषण छ। उनीहरूले न्यून तलबमा ५० भन्दा बढी बिरामी हेर्न बाध्य छन्। जसका कारण पनि यो पेसा धराशाही बनेको गौतम बताउँछिन्।

चितवन मेडिकल सिटीका रुपमा परिचित छ। तर यहाँ पनि निजी अस्पतालहरूले न्यून तलबमा काम गराउँदै आएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्सिङ विषयमा अध्यापन गराउँदै आएकी सविता पन्थी बताउँछिन्। न्यून सेवा सुविधा कारण पनि नर्सहरू विदेशतर्फ आकर्षित भएको उनको बुझाइ छ।  

चितवनमा हाल एक हजार पाँच सयको हाराहारीमा नर्स कार्यरत छन्। तीन वर्षअघिसम्म जिल्लामा प्रत्येक वर्ष ६ सयको हाराहारीले नर्सिङ पढ्थे। उनीहरूमध्ये अधिकांश विदेश गएको उनले बताइन्। ‘नेपालमा पिसिएल र बिएन गरेपछि यहाँ बस्न मान्दैनन्, ९० प्रतिशत नर्सको त विदेश जाने सोच हुन्छ’, उनले भनिन्, ‘राज्यले नसोच्दासम्म नर्स पलायन हुने अवस्था रहिरन्छ।’  

भरतपुर क्यान्सर अस्पताल नेपालकै राम्रो तलब सुविधा भएको अस्पताल हो। यहाँ काम गर्ने नर्सिङको न्यूनतम तलब ५० हजारको हाराहारीमा छ, तर यहाँ काम गर्ने नर्सहरू पनि जागिर छाड्दै विदेश जाने क्रम बढेको अस्पतालकी पूर्व नर्सिङ प्रमुखसमेत रहेकी पन्थीले बताइन्। ‘हाम्रो जस्तो संस्थामा काम गरेका नर्सहरू त बाहिर गएका छन्। अन्यत्र न्यून तलबमा काम गर्नेहरू त नजाने कुरै भए’, उनले भनिन्। पिसिएल नर्सिङ पढ्नका लागि करिब पाँच लाख रुपैयाँ हाराहारीमा लगानी लाग्छ।  

विदेशमा नर्सका माग उच्च छ। क्यानडा, अस्ट्रेलिया, अमेरिका, बेलायत, दुबई, कतारलगायतका देशमा नेपाली नर्स गएर काम गरिरहेको उनले बताइन्। योग्यताअनुसारको पद नहुनु, मेहनतअनुसारको तलब सुविधा नहुँदा दक्ष जनशक्ति विदेश पलायन भएको उनको भनाइ छ। नर्सहरूलाई नेपालमै बस्ने वातावरण बनाउन राज्यले नीतिगत तहबाटै काम गर्नुपर्ने सुझाव उनको छ।

प्रकाशित: १७ माघ २०८० ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App