१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

अब चामलमै आठथरी पौष्टिक तत्त्व

हामीले मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेका छौं। अब भने हाम्रो भान्सामा केही फेरबदल आउने भएको छ। अर्थात् विभिन्न सूक्ष्म पोषण तत्त्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ। सरकारले चालु आर्थिक वर्षदेखि नै बजारमा उपलब्ध हुने गरी त्यस्तो चामल उत्पादन सुरु गरेपछि त्यस्तो परिस्थिति बनेको हो। त्यसलाई ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) भनिएको छ।

ठुला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रले जनाएको छ। यही पुस २५ गते बर्दियाको राजापुर मिलबाट यस्तो चामल उत्पादन सुरु गरिएको हो। त्यस्तो चामलमा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य तत्त्व मिसाइएका हुन्छन्।

उत्पादनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका हुन्। पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ९० मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका  बिक्री–वितरण विभागका प्रमुख हिम थापाले बताए।

विश्व खाद्य कार्यक्रम, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साउनमा स्वीकृति दिएसँगै नेपालमा पोषण तत्व मिश्रित चामल उत्पादन सुरु भएको हो।

उत्पादनको पहिलो चरणमा कर्णाली प्रदेशमा र क्रमशः अन्य प्रदेशहरूमा उत्पादन तथा वितरण सुरु गर्ने विभागका प्रमुख थापाले जनाए। उनका अनुसार माघदेखि जनकपुरका मिलहरूबाट पनि यो प्रविधिबाट सूक्ष्म पोषण तत्व मिसाएर उत्पादन गर्ने तयारी गरिएको छ। ‘पूर्वसम्झौता तथा योजनाअनुसार भदौसम्म कर्णाली प्रदेशमा यस्तो चामल वितरण गरिसक्ने कार्यक्रम छ। विशेष प्रविधिबाट सूक्ष्म पोषण तत्व चामलमा मिसाउने  प्रक्रिया हुन्छ।

प्रविधि र भिटामिन एकैपटक व्यवस्थापन गर्न नसकिएकाले सुरुमा कर्णाली प्रदेश र क्रमशः अरू प्रदेशहरूमा वितरण गर्ने कार्यक्रम बनाइएको प्रमुख थापाले जानकारी दिए।

विभिन्न अध्ययनले नेपालीहरूको स्वास्थ्यमा सूक्ष्म पोषण तत्वको कमी भएको पाइएपछि सरकारले चामलमा त्यस्ता तत्व मिसाएर बिक्री गर्ने कार्यक्रम अघि सारेको हो।

भिटामिन ‘बी १२’, जिंक, आइरन, भिटामिन ‘ए’जस्ता अति सूक्ष्म तत्वको कमीले स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले नियमित खानामा समावेश गर्ने सरकारको उद्देश्य रहेको परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापा बताउँछन्।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टअनुुसार कर्णाली, मधेस, लुम्बिनी र सुुदूरपश्चिममा यी सूक्ष्म पोषण तत्व बढी कमी भएको पाइएको छ।

उक्त रिपोर्टअनुसार नेपालमा प्रजनन उमेर समूहका ३४ प्रतिशत महिला, ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र ३९ प्रतिशत किशोेरीहरूमा रक्तअल्पताको समस्या पाइएको छ। सर्वेक्षणअनुसार ५४ प्रतिशत महिलाले अस्वस्थकर खाना खाएको पाइएको छ।

त्यसैगरी पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको छ। पोषण शाखाका प्रमुख थापाका अनुसार यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमशः हटाउँदै लाने उद्धेश्यअनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो।

नेपालीहरूले नियमित खानामा दिनको एकपटक अनिवार्य रूपमा भात खाने हुनाले चामलमा यी आठथरीका पोषण तत्व समावेश गरेर पर्र्याप्त मात्रामा पोषण तत्व पुर्‍याउने कोसिस गरेको जनाएको छ।

नेपालसहित बंगलादेश, भुटान, अमेरिका, कोस्टारिका, भारतलगायत देशहरूमा यी सूक्ष्म पोषण तत्व मिश्रित चामल उत्पादन र वितरण प्रक्रिया पहिला नै सुरु भइसकेको छ। ‘धेरै नेपालीको भान्छामा एक छाक अनिवार्य भात नै हुने भएकाले चामलमै मिसाउन उचित ठान्यौ,’ प्रमुख थापाले भने। सरकारले सन् २०१९ मा सरकारले चामलमा पौष्टिक तत्व समावेश गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो।  

प्रकाशित: १ माघ २०८० ००:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App