१ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको क्यान्सरमा एचपिभी डिएनए परीक्षण प्रभावकारी

फाइल तस्वीर

पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाले अकालमै ज्यान गुमाउने गरेका छन्। तर, सानो परीक्षणले पनि क्यान्सरबाट जोगिन सकिन्छ। त्यो हो, एचपिभी डिएनए परीक्षण। यसबाट पाठेघरको मुखको क्यान्सर गराउने जीवाणु छ कि छैन भन्ने पहिला नै पत्ता लगाउँछ।

यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन्। अंकोलोजिष्ट सरिता घिमिरेका अनुसार यो विधि ३० वर्ष उमेर पुगेका हरेक महिलामा प्रत्येक पाँच वर्षमा परीक्षण गर्न सकिन्छ।

 परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु भेटिएमा चिकित्सकले भिआइए परीक्षण (एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि) बाट शरीरमा एचपिभीले कोषिकामा कति असर परेको छ भनेर हेर्न सकिन्छ।

भाइरसले असर गरेको कोषिका पछि गएर क्यान्सर बन्छ। यो कोषिकालाई चिकित्सकले ‘थर्मकोवालेसन’ उपचार पद्धतिबाट नष्ट गर्छन्। भाइरस प्रभावित कोषिका नष्ट भएपछि पाठेघरको मुखको क्यान्सर हुने जोखिम हुँदैन।

नेपालमा यो परीक्षण पेपिलोमा भाइरसविरुद्धको खोप भित्रिएसँगै भित्रिएको हो। अहिले सरकारी र निजी दुवै स्वास्थ्य संस्थामा उपलब्ध छ। यो परीक्षणबापत सरकारी अस्पतालमा दुई हजार शुल्क लाग्छ भने निजीमा पाँच हजार रूपैयाँसम्म लाग्छ।

भिआइए परीक्षण भने स्थानीय तहका स्वास्थ्य संस्थामा उपलब्ध छैन। चिकित्सकका अनुसार व्यक्तिको शरीरअनुसार ह्युमन पेपिलोमा भाइरसको फरक अवधिमा असर देखिन्छ।

शरीरमा प्रतिरक्षा क्षमता बलियो भएका व्यक्तिलाई ढिला मात्र असर गर्छ भने प्रतिरक्षा क्षमता कमजोर भएमा छिटो असर गर्छ।

सामान्यतया यो भाइरस शरीरमा प्रवेश गरेको १५ देखि २० वर्षमा मात्र पाठघेरको मुखमा क्यान्सर हुन सक्छ। यो भाइरस शरीरमा प्रवेश गरे पनि ८० प्रतिशत व्यक्तिको शरीरबाट आफैं बगेर बाहिर जान्छ। बाँकी २० प्रतिशत व्यक्तिमा मात्र पाठेघरको मुखको क्यान्सर हुन सक्छ। नेपालमा यो भाइरस देखा पर्नेबित्तिकै पाठेघर निकाल्नुपर्ने आम बुझाइ रहेको घिमिरे बताउँछिन्।

पाठेघर निकालेर फाले पनि सिलाएकै भागमा भाइरस रहेमा पछि गएर योनीको क्यान्सर पनि हुन्छ। सिलाएको भागमा रहेको भाइरस सुरुमै पत्ता लगाउन सकिँदैन। क्यान्सर भइसकेपछि मात्र थाहा हुने भएकोले योनीको क्यान्सरको मात्र उपचार गर्नु पर्ने जोखिम हुन्छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन पाठेघर नै निकालेर फाल्नुभन्दा एचभिपी, भिइआइए परीक्षणजस्ता परीक्षण गरेमा समयमै क्यान्सरको जोखिम पत्ता लगाई उपचार गर्न सकिने उनको सुझाव छ। ‘पाठेघर निकालेर फाल्नु समाधान रहेको स्वास्थ्यकर्मी र जनता दुवैमा भ्रम छ, यो समाधान होइन,’ घिमिरेले भनिन्।

तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने पहिलो क्यान्सर हो। नेपालमा प्रति एक लाखमा संख्यामा १५ जनामा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गर्छ। यस हिसाबले लक्षित वर्गमा धेरैको संख्यामा हरेक वर्ष पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको परिवार कल्याण महाशाखा परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाकी प्रमुख कविता अर्यालले बताइन्।

नेपालमा पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्नको लागि स्थानीय तहसम्म पुगेर भिआइए परीक्षण, केही जिल्लामा एचपिभी परीक्षण सेवा सुरु गरेको छ। यसका साथै यही वर्षदेखि पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप दिन पनि सुरु गरेको प्रजनन स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशित: १६ पुस २०८० ०१:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App