१६ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रामीडाँडा भूकम्प असर: त्रिपालमुनि एक हजार ७६ सुत्केरी!

गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घर भत्किँदा सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्।

त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखा परेको छ। भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरवासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।

अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड लागेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जना प्रभावित भएका थिए। ४२ जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए। पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपांगता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसंख्या जोखिममा छन्। स्वास्थ्य संस्था आठवटा पूर्ण रूपमा र आठवटा आंशिक रूपमा भत्किएको पाइएको छ।

कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जना प्रभावित भएका थिए। सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए। पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपांगता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा भत्किएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जना भूकम्पबाट प्रभावित भएका थिए। एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए। पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएकासहित सात सय ४३ जना जोखिममा रहेका छन्। आठवटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ।

नलगाड नगरपालिकामा २९ हजार दुई सय नौजना प्रभावित भएका थिए। ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए। पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने तीन सय ३१ गर्भवती, तीन सय ७४ सुत्केरी, एक हजार चार सय ८३ ज्येष्ठ नागरिक, दुई सय ३४ दीर्घरोगी र दुई सय ५० अपांगता भएका व्यक्तिसहित तीन हजार हजार नौ सय ४४ जना जोखिममा छन्। एक स्वास्थ्य संस्था पूर्ण रूपमा र पाँचवटा आंशिक रूपमा भत्किएको पाइएको छ।

बारेकोट गाउँपालिकामा १९ हजार ६ सय ७६ जनसंख्या प्रभावित भएका थिए भने १० जना घाइते भएका थिए। पाँच वर्षमुनिका एक हजार चार सय ९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने एक सय ८१ गर्भवती, ७५ सुत्केरी, चार सय ३९ ज्येष्ठ नागरिक, दुई सय २३ दीर्घरोगी र ४५ अपांगतासहित दुई हजार चार सय १७ जना भूकम्पको प्रभावबाट जोखिममा छन्। पूर्णरूपमा एक र आंशिक रूपमा चार स्वास्थ्य संस्था भत्किएका छन्।

भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार आठ सय ४३ जना प्रभावित भएका थिए। दुईजना घाइते भएका थिए । पाँच वर्षमुनिका चार सय ६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगतासहित चार सय ४६ जना जोखिममा रहेका छन्। दुईवटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएको पाइएको छ।

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार नौ सय ५० जना प्रभावित भएका थिए। पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपांगतासहित दुई सय ८३ जनसंख्या जोखिममा रहेका छन्। १५ वटा स्वास्थ्य संस्था आंशिक रूपमा भत्किएका छन्।

भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ। भूकम्पपछि प्रभावित जोखिम जनसंख्या २२ हजार दुई सय ६ रहेको छ। पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन्। त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन्। एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपांगता भएका व्यक्ति पनि समस्यमा छन्। पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ।

विवरण अझै संकलन हुँदै

मंसिर ७ भित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन। पालिकाले भने मंसिर १० सम्म विवरण पठाउन समय माग गरेका थिए। छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्यांक संकलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन्।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्यांक संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन्। अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए।

प्रकाशित: १२ मंसिर २०८० ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App