१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दसैँमा मासुः मात्रा पुर्याएर नखादा स्वास्थ्यका लागि हानीकारक

यस वर्षको दसैँं घर–घरमा भित्रिसकेको छ। आज दसैँको महाअष्टमी, विशेषगरी आजबाट घरघरमा मासु खाने क्रम सुरु हुन्छ। हुन त दसैँ सुरु भएदेखि नै मासु खाने क्रम सुरु हुन्छ। दसैँमा धेरैले मासुलाई नै बढी महत्व दिने हुँदा मासुका विभिन्न परिकार बनाउने पनि गरिन्छ।  मासु खान थालेपछि हामी हरीया सागसब्जी लगायत अन्य साधारण खानेकुरा खान बिर्सिदिन्छौ। एकैपटक मासु मात्रै धेरै खाँदा बिरामी पर्ने मात्र होइन, दीर्घकालीन असर पर्ने पनि चिकित्सकहरू बताउँछन्।  

चिल्लो मासु खाएर आरामले बस्दा स्वास्थ्यलाई प्रत्यक्ष असर पर्छ। दसैँको समयमा स्वाद र सन्तुष्टिका लागि मासुका परिकार मात्रै खाने तर कुनै व्यायम नगर्दा त्यसले स्वास्थ्यलाई झन् नराम्रो असर पर्ने हुन्छ।

मासु ठिक्क मात्रामा मात्रै खानुपर्छ। अत्याधिक मात्रामा चिल्लोयुक्त र मसलेदार मासु खाँदा तत्काल असर नदेखिए पनि केही दिनपछि विस्तारै समस्या देखापर्ने हुन्छ। रक्तचाप बढी भएका, युरिक एसिड भएका मानिसले भित्रि अङ्गका मासु तथा रातो मासु खाँदा उनीहरूको शरीरमा ठूलो नोक्सानी गराउँछ।    

बढी मसलेदार मासु, धेरै दिनको बासी मासु, राम्ररी नपाकेको मासु खाँदा अपच हुने, वान्ता हुने, आउँ, हैजाजस्ता समस्या निम्तिन्छ। यसकारण मासुलाई ताजा राख्नका लागि फ्रिजमा राख्नुपर्छ। मासुमा धेरै प्रोटिन हुन्छ, थोरै मात्रामा मासु सेवन गर्दा भने शरीरलाई फाइदा पुग्ने भएकाले धेरै खानु हुँदैन।  

मुटुरोग, युरिक एसिड लगायतका दीर्घरोगीलाई मासु घातक मानिन्छ। अझै दीर्घरोगीले मासु खानु विष सेवन गरेसरह नै हुने गरेको छ। त्यसैले दीर्घरोगीले मासु सेवन नगरेकै उत्तम हुन्छ। तेलमा भुटेको, तारेको, सेकुवा र मसलेदार मासु खानु शरीरका लागि झनै हानिकारक हुने गर्छ।  

कस्तो मासु नखाने ? मासुको गुणस्तर कस्तो हो, नबुझी खाँदा स्वास्थ्यमा समस्या निम्तिन्छ। अमिलो र नमिठो गन्ध आएको छ भने त्यस्तो मासु खानु हुँदैन। प्याजी रङ्गको मासु मात्रै खान योग्य हुने गरेको छ। बजारमा झुन्डाएर राखिएको मासु हल्का गुलाबी रङ्गको छ भने त्यसमा सचेत हुनुपर्छ।

पसलमा झुन्ड्याएर खुला रूपमा राखिएको मासुमा ब्याक्टेरियाको सङ्क्रमण धेरै हुने गर्छ। अस्वस्थ मासुको सेवनले स्वस्थ मानिस समेत बिरामी हुने सम्भावना रहन्छ। त्यसकारण दीर्घरोगी झन् खतरामा जान सक्छन्। खानामा सन्तुलन मिलाउनुका साथै अभ्यासलाई पनि ध्यानमा राख्न जरुरी हुन्छ।  

मासुको बढी प्रयोगले कस्ता समस्या ?  

मासुको बढी प्रयोगले युरिक एसिड, रक्तचाप, झाडापखाला, फुड पोइजनिङ्गको समस्या आउँने गर्छ। बोसो तथा छालारहित मासु खाने गरेमा हानी कम हुन्छ। रगत पकाएर रक्ति बनाएर खानुलाई पनि खासै उपयोगी मानिँदैन। यस्तो मासु खाएको केही समयभित्र नै झाडापखाला लाग्ने, अपच हुने, ग्यास्ट्रिक बढ्नेलगायतका समस्या हुने गर्छ।  

कस्तो मासु कसरी खाने ?  

सुरुमा खसी, बोका, कुखुरा, च्याङग्रा किन्दा नै मेडिकल डाक्टरले स्वस्थ छ भनेर प्रमाणित गरेको मात्रै किन्नुपर्छ। त्यसरी सम्भव नभए नजिकैको पसल, जहाँ आफूलाई विश्वास लाग्छ त्यहीबाट मात्र मासु किन्नुपर्छ। जहाँ पायो त्यहिँबाट मासु किन्न नहुने भएकाले मासु किनेर ल्याइसकेपछि राम्रोसँग पकाएर मात्रै खानुपर्छ।

राम्रोसँग नपाकेको मासुले शरीरलाई हानी गर्छ। मासुमा राँगा खसी भन्दा कुखुरा, माछा स्वस्थ्यकर हुन्छ। छालामा धेरै बोसो हुने भएकाले त्यो स्वस्थ्यकर हुँदैन। त्यसैले सकेसम्म उसिनेको परिकार बढी स्वस्थकर हुन्छ। पोलेर, साँधेर, भुटेर राखेको मासुमा क्यान्सर गराउने  तत्व हुने भएकाले त्यसरी नखाएको ठिक।  

मासुले पाचन प्रक्रियालाई राम्रो गर्दैन। दसैँमा मीठो बनाउनु पर्छ भन्दैमा अनावश्यक मरमसला हाल्न तिर लाग्नु हुँदैन। मासु बनाउँदा हरेक कुरा नुन, मसला तेलको प्रयोग कम गर्नुपर्छ।  

सकेसम्म मासुको परिकारलाई कम गरेर फलफूल, हरियो सागसब्जी, तरकारी, सलादको सेवन बढी गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

 

(आहार विशेषज्ञ बिनिता पन्तसँगको कुराकानीमा आधारित)

प्रकाशित: ५ कार्तिक २०८० ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App