१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बेनी अस्पतालमा बिहानैदेखि ओपिडी

१८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७ लामाखेतबाट चेली परियारले बिहानकै समयमा ओपिडीबाट बच्चाको उपचार पाइन्।

हतार–हतारमा अस्पतालमा प्रवेश गरेकी परियार बिहानै डाक्टरले छोराको उपचार गरेपछि खुसी हुँदै घर फर्किइन्। परियारजस्तै बेनी नगरपालिका–९ गलेश्वर बजारबाट आएकी ५५ वर्षीया लोककुमारी पुर्जा बिहान ८ बजेभित्र चिकित्सकले चेकजाँच गरेपछि औषधी लिएर घर फर्किइन्।

दिउँसो भिडभाड हुने भएकाले बिहानै ओपिडी टिकट लिन लाइनमा बस्न आएका बागलुङका टेकबहादुर खत्री, मालिका गाउँपालिका–२ रूमकी जोनिका पुन, पर्वत जलजला–३ मल्लाजकी केशवकुमारी रेग्मीले लाइनमा नबसी बिहानै सेवा लिएर घर फर्किए।

उपचारका लागि अस्पतालमा प्रवेश गर्नेबित्तिकै बिहानै डाक्टर भेट्टाउँदा निकै खुसी लागेको बेनपा–५ पुलाचौरका प्रदिप पौडेलले बताए।

‘बिहानै ओपिडी सेवाको शुभारम्भ निकै राम्रो काम हो, बिरामी घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ,’ पौडेलले भने। बेनी अस्पतालले दैनिक १३ घण्टा ओपिडी सेवा सुरु गरेपछि बिरामीलाई निकै सहज भएको छ।

जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको अस्पतालले बिरामीलाई सहज सेवा दिने उद्देश्यले हरेक दिन बिहान ७ बजेदेखि राति ८ बजेसम्म ओपिडी सञ्चालनमा ल्याउँदा बिहानै उपचारमा जाने बिरामीको संख्यासमेत धेरै देखिएको छ।

ओपिडी सेवा विस्तारको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गर्दै अस्पतालमा जनशक्ति थप र सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता जनाइन्।

‘बेनी अस्पतालमा गुणस्तरीय सेवामा कुनै कमी हुनेछैन, म यहीँबाटै जनशक्ति व्यवस्थापनको काम सुरु गर्नेछु,’ मन्त्री सिंखडाले भनिन्। उनले ओपिडीसँगै अन्य ल्यावसेवामा जनशक्ति थप गर्ने प्रतिबद्धता जनाइन्।

गत असोज २१ गतेदेखि सुरु गरिएको परीक्षण तथा जनशक्तिसहित अन्य व्यवस्थापन गरेपछि नियमित सञ्चालन गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

‘ओपीडि टिकट र सेवाका लागि दिनभरी बिताउनुपर्ने बाध्यता हटेको छ, थप व्यवस्थित गर्दै लैजान्छौँ,’ अध्यक्ष सुवेदीले भने। अस्पतालले थप दुई चिकित्सकसमेत थपेर सेवा विस्तार गरेको अध्यक्ष सुवेदीले बताए।

बिहान, बेलुकी र रातिको समयमा सञ्चालन हुने ओपिडी सेवामा थप शुल्कसमेत नलाग्ने उनले बताए।

अस्पतालले बिरामीलाई स्वास्थ्य बिमा कार्डबाट दिने सेवालाई समेत थप सहज बनाउने अध्यक्ष सुवेदीको भनाइ छ।

अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विशेषज्ञ सेवासमेत उपलब्ध हुनेछ। यसअघि १० बजेदेखि ४ बजेसम्म ओपिडी टिकट खुल्ने गरेको थियो। शनिबार र सार्वजनिक बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गरिने अस्पतालकी निमित्त प्रमुख अञ्जु थापाले बताइन्।

उनले जनशक्ति र पूर्वाधार पर्याप्त भएमा थप सेवाहरू विस्तार गर्न सकिने बताइन्। स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउन जिल्ला जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, व्यवस्थापन समिति, कार्यरत डाक्टर, नर्स र कर्मचारीको समन्वयकारी भूमिका आवश्यक रहेको डा. थापाको भनाइ छ।

कार्यक्रममा बेनी नगरपालिका नगरप्रमुख सुरत केसी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन जनशक्ति र पूर्वाधारमा प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए।

विगत ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जना मात्र कार्यरत रहेको अस्पतालले बिहानदेखि रातिसम्म सञ्चालन गर्ने ओपिडी सेवालाई गण्डकी प्रदेशबाट थप जनशक्ति मागसमेत गरिएको छ।

२०७२ मा १५ बाट ५० शड्ढया क्षमतामा विस्तार भएको अस्पतालले अहिले १५ शड्ढयाकै दरबन्दीबाट ७८ शड्ढया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ। अस्पतालमा हाल दैनिक दुई सयदेखि दुई सय ९० जनाले अन्तरङ्ग विभागबाट सेवा लिने गरेका छन्।

अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागका अलावा शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ। अस्पतालमा निर्माणाधीन नयाँ भवन शक्तिशाली ठेकेदारको अटेरीका कारण अलपत्र परेको छ।

प्रकाशित: ४ कार्तिक २०८० ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App