१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

 अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२/१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए। टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका फिजिसियन डा. सविन थपलियाले दैनिक १० देखि १५ जना डेंगी संक्रमित उपचारका लागि आउने गरेको बताए।

त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन्। त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन्। एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए। उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन्। बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा. गैरेले बताए।

काठमाडौं महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौं महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए।

चिकित्सकका अनुसार काठमाडाैं उपत्यकाका डेंगी संंक्रमितमा गत वर्षजस्तो गम्भीर समस्या धेरैमा छैन। गत वर्षको तुलनामा कम संक्रमित भएकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको अनुमान छ। मनसुन सकिएपछि फैलिएको डेंगी संक्रमण भएकाले गत वर्ष जस्तो यसले प्रकोप लिने सम्भावना कम रहेको डा. पुनको विश्लेषण छ।

‘एडिस एजिप्टाई’नामक लामखुट्टेले मानिसलाई टोकेमा यो डेंगी संक्रमण हुन्छ। विशेषगरी सफा पानी जम्ने टायर, प्लास्टिकका बोटल, कुलरलगायतमा यो लामखुट्टे फैलिन्छ।

लामखुट्टेले टोकेपछि रगतको माध्यमबाट भाइरस शरीरभरि फैलिन्छ। यो फैलिएपछि कलेजो र दिमागमा समेत असर पुग्न सक्छ। डेंगी संक्रमितलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोकेमा पनि संक्रमण हुन्छ।

लामखुट्टेले टोकेको तीन देखि आठ दिनभित्र संक्रमण शरीरमा फैलिन्छ। कतिपयलाई सामान्य उपचारपछि निको भए पनि कतिपयमा आन्तरिक रक्तश्राव भई वान्ता हुने, मुखबाट रगत निस्कने, कडा ज्वरो आउने, शरीर दुख्ने जस्ता समस्या देखिन्छ। यो रोगको कुनै खोप र औषधि नबनेकाले लक्षणअनुसारको उपचार गरिन्छ।

गत माघयता डेंगी संक्रमितको संख्या ३५ हजार दुई सय २३ पुगेको छ। संक्रमणबाट २० जनाको मृत्यु भएको छ। सुनसरी, झापा, धादिङ, तनहुँ, मोरङ, काठमाडौं, संखुवासभा, कैलाली र धनकुटामा संक्रमण दर बढी छ। काठमाडौंमा मसात सय ६४ जना संक्रमित भइसकेका छन्।

स्थानीय सरकारले डेंगी सार्ने लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान प्रभावकारी बनाउनुपर्नेमा भाषण र हल्लामा सीमित राखेकाले मनसुन सकिएपछि पनि उपत्यकामा डेंगी संक्रमण रोकिएको छ। ‘समयमै लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानभन्दा भाषण बढी भयो,’ पुनले भने।

डेंगी संक्रमणपछिको उपचार सहज नभएकोले सकेसम्म लामखुट्टेको टोकाइबाट बच्नु उचित भएको चिकित्सकको सुझाव छ। चिकित्सकका अनुसार कालो सेतो छिर्केमिर्के रङको लामखुट्टेको टोकाइबाट बच्नु पर्छ।

डेंगी सार्ने लामखुट्टे बिहान घाम उदाउने समय र साँझ घाम अस्ताउनु दुई घण्टाअघि सक्रिय हुन्छ। यो समयमा यसको टोकाइबाट बच्न शरीर छोपिने लुगा लगाउनुपर्छ ।

प्रकाशित: २५ आश्विन २०८० ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App