१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

बढुवा प्रक्रिया सुरु नभएपछि वीपीका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान

सहमति बमोजिम बढुवा प्रक्रिया सुचारु नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरू काठमाडौं प्रस्थान गरेका छन्।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री र सहकुलपति तथा स्वस्थ्यमन्त्रीलाई भेटेर माग पेश गर्न शिक्षकहरू आज बिहान काठमाण्डौं प्रस्थान गरेका हुन्। शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानका अनुसार ५५ जनाभन्दा बढी शिक्षक चिकित्सकहरू काठमाण्डौं प्रस्थान गरेका छन्। प्रतिष्ठानका पदाधिकारीहरुले आफैले सहमति गरेको विषय पनि पुरा गर्न नसकेर असक्षमता देखाएको कारण आफुहरु बाध्य भएर काठमाडौं जानुपरेको अध्यक्ष खानले बताए। उनले भने,‘जायज माग पनि पुरा गर्न सकेनन्, उहाँहरू फेलियर हुनुभयो। त्यसैले कुलपति र सहकुलपतिलाई भेटेर मागपत्र बुझाउन जादैछौं।’

गत भदौ २४ गते एक महिनाभित्र बढुवा प्रक्रिया सुचारु गर्ने सहमति भएपनि एक महिना बित्न लाग्दा कुनै सकरात्मक पहल भएको नदेखिएको भन्दै शिक्षक कल्याण समाजले पुनः आन्दोलनमा उत्रन बाध्य भएको जनाएको छ। गत महिना सहमति हुँदा नै एक महिनाभित्र माग सम्बोधन भए आन्दोलनको कार्यक्रम सुचारु गर्ने भनिएको पनि उनले बताए। प्रतिष्ठानका शिक्षक चिकित्सकहरूले लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने एक सुत्रिय माग राखेका छन्। प्रतिष्ठानमा शिक्षकहरुको विगत ७ बर्षदेखि बढुवा प्रक्रिया रोकिएको छ भने कर्मचारीहरुको १५ बर्षदेखि अवरुद्ध छ। शिक्षक चिकित्सकहरु बढुवा प्रक्रिया लामो समय अवरुद्ध हुनु वीपीकै लागि दुर्भाग्यपुर्ण भएको टिप्पणी गर्छन्।  

शिक्षकहको प्रमोसशनले विद्यार्थीको सङ्ख्या बढाउन सकिने र यसले प्रतिष्ठानको आम्दानी पनि बढ्ने समाजका अध्यक्ष डा.खानले बताए। ‘शिक्षकहरूको सङ्ख्या जति बढ्यो विद्यार्थीहरुको सङ्ख्या बढ्छ, पिजीको सङ्ख्या बढ्छ, र वीपीकै आम्दानी पनि हुन्छ, त्यसैले प्रमोशन नहुनु भनेको वीपीकै दुर्भाग्य पनि हो,’उनले भने,‘पछिल्लो २ वर्षमा नै ५० जना दक्ष डाक्टरहरुले छोडेर गइसकेका छन्, तर पदाधिकारीहरूले अझै कुरा बुझेनन्।’

काठमाडौंमा कुलपति र सहकुलपतिलाई भेटेर शिक्षकहरूले ज्ञापन पत्र बुझाउने र ठोस निष्कर्ष नआए सामुहिक राजिनामा दिने घोषणा पनि गरेका छन्। ‘स्वास्थ्यमन्त्री भेट्छौं, प्रधानमन्त्रीलाई भेट्छौं। असोज २६ गेतसम्म केही निष्कर्ष भएन भने साुमहिक राजिनामा दिन्छौं । हामीले १५० भन्दा बढीले हस्ताक्षर गरिसकेका छौं,’ उनले भने।

निलम्बनमा परेका अघिल्लो उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बढुवा प्रक्रिया शुरुवात गरेका थिए। उनी निलम्बनमा परेपछि हाल कायममुकायम उपकुलपतिमा नियुक्त भएका प्रा.डा.प्रह्लाद कार्कीले उक्त प्रक्रिया रोकेका छन्। पचास प्रतिशतको अन्र्तवार्ता सकिएको अवस्थामा बढुवा प्रक्रिया रोकिएपछि शिक्षक, कर्मचारीहरू पनि पठनपाठन रोकेर आन्दोलित भएका थिए।  

प्रकाशित: २२ आश्विन २०८० ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App