१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अर्बाैको क्षतिपछि लम्पी स्किन खोपमा अनियमितताको आशंका

गाईभैंसीमा लागेको लम्पी स्किन रोग (एलएसडी) विरुद्धको खोप ११ लाख पशुमा लगाइसकेपछि सरकारी निकाय पशु सेवा विभाग नै अन्योलमा परेको छ।

विभागको अनुमतिमा आयातकर्ता कान्तिपुर भेट डिस्टिब्युटर्सले बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियाबाट खोप ल्याउनेक्रममा नक्कली कागजात प्रयोग गरेको भन्ने विवाद आएपछि खोपकै वैधतालाई लिएर अन्योल उत्पन्न भएको हो।

विभागको भेटेरेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाले खोप आयातबारे बुझ्न तान्जानियामा रहेको बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाहलाई इमेल गरिसकेको छ। ‘११ लाख पशुलाई खोप लगाइसकिएको छ, खोप लगाएपछि विभिन्न तहमा विवाद आयो।त्यसबारे बुझ्न हामीले त्यहाँको कम्पनीलाई इमेल लेखेका छौं’, स्रोतले भन्यो।

लम्की स्किनविरुद्ध गाईभंैसीलाई खोप लगाइसकिएको छ, अहिलेसम्म खोपबाट कुनै क्षति भएको उजुरी आएको छैन।

चन्द्र ढकाल, प्रवक्ता, पशु सेवा विभाग

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले विभागले खोप खरिद नगर्ने र निजी कम्पनीले खरिद गरेका कारण विवाद आएको बताए। ‘गाईभैसीलाई खोप लगाइसकिएको छ, अहिलेसम्म खोपबाट कुनै क्षति भएको उजुरी र गुनासो दुवै आएको छैन’, उनले भने।तर पनि खोप खरिद गर्ने कम्पनी अयोग्य रहेको र उसले खरिद गरेको खोप पनि शंकास्पद रहेको भन्ने कुरा बाहिर आएपछि छानबिन प्रक्रिया चलिरहेको उनले बताए।

‘नियमअनुसार एलसी खोल्न खोप आयत गर्ने कम्पनीले आवश्यक कागजात पेस गर्नुपर्ने हुन्छ।त्यसका लागि कान्तिपुर भेट डिस्टिब्युटर्स त्रिपुरेश्वरले पेस गरेका कागजमा विवाद आएको हो।तर खोप नै नक्कली होइन’, सूचना अधिकारी ढकालले भने।विभागमा भने खोप नै नक्कली भएको गुनासो पुगेको छ।गुनासोपछि विभाग अन्योलमा परेको हो।

लम्पी स्किन खोपमा अनियमितताको आशंका

‘हामी नै अन्योलमा पर्‍यौं, परीक्षण गर्ने कुनै पनि ल्याब नेपालमा छैन, उताबाट जे ल्यायो त्यसमा भर पर्नुपर्छ, ल्याउने कम्पनीले पेस गरेका कागजातमा भर पर्नुपर्छ’, विभाग  स्रोतले भन्यो।

भेटेरेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका सूचना अधिकारी नवीन उपाध्याय घिमिरेले भने लम्की स्किन रोगविरुद्धको खोपमा विवाद आएको पुष्टि गरे। खोपको नियमन गर्ने निकाय नेपालमा नभएकाले तान्जिानियामा रहेको कम्पनीलाई इमेल गरी खोपबारे आवश्यक जानकारी मागिएको छ।

‘हामी नै यो विषयमा अलि अन्योलमा परेका छौं, राम्रो होला भनेर खोप खरिदको अनुमति दिइयो तर विवाद आयो। यसको परीक्षण गर्ने नेपालमा उच्चस्तरको प्रविधि पनि छैन, त्यसकारण हामी अन्योलमा पर्नु स्वाभाविक हो’, घिमिरेले भने।

पशुलाई दिइने खोप विश्व पशु स्वास्थ्य संगठनको स्थापित प्रयोगशालाबाट आधिकारिक रूपमा परीक्षण भई प्रमाणित हुनपर्छ।जसअनुसार अफ्रिकन युनियनले स्थापना गरेको एयु प्यान भ्याक नामक प्रयोगशालाबाट खोप परीक्षण हुनुपर्छ।

एयु प्यान भ्याकको कार्यालय इथिओपियामा छ।सोही एयु प्यान भ्याकको नक्कली प्रमाणपत्र कान्तिपुर भेट डिस्टिब्युटर्सले पेस गरेको कुरा बाहिर आएपछि विवाद भएको हो।

यही विवादका कारण खोपको वैधतामाथि नै प्रश्न उठेको भन्दै विभागले खोप सक्कली वा नक्कली के हो भन्ने विषयमा स्पष्ट हुन यहाँ ल्याइएको नमूनासहित बायोसाइन्सेस अफ्रिका लिमिटेड किबाह, तान्जानियालाई इमेल गरेको हो। कान्तिपुर भेटले सन् २०२३ जुलाई ६ मा ३ लाख डोज, जुलाई १४ मा ५ लाख डोज र पछि थप दुई लाख डोज खरिद गरेर ल्याएको छ।

यस सम्बन्धमा कान्तिपुर भेटका सञ्चालक ऋषि बडालले आफूले सबै प्रक्रिया पूरा गरेर खोप आयात गरेको बताए। ‘मैले सबै प्रक्रिया पूरा गरेर खोप ल्याएको हो तर कसैले ममाथि प्रतिशोध साँध्न यस्तो विवाद खडा गरेका हुन्’, उनले भने।

उनले आफूले १० लाख डोज खोप आयात गरेको बताए।‘मैले आवश्यक सबै कागजात पेस गरेको छु। सोहीअनुसार खोप आयात गरेको हुँ, खोप नक्कली भन्ने हुँदैन’, बडालले भने। गत चैतदेखि नेपालमा लम्की स्किन रोगको महामारी फैलिएको थियो।विभागले उपलब्ध गराएको तथ्यांकअनुसार लम्पी स्किन महामारीबाट ५२ हजार ४ सय ५८ वटा गाईभैंसीको मृत्यु भएको छ। यसबाट १५ लाख १९ हजार ७ सय ७९ वटा गाईभैंसी संक्रमित भएका छन्।

लम्पी स्किन महामारी नियन्त्रणका लागि सरकारले खोप आयात गर्न कान्तिपुर भेट डिस्टिब्युटर्ससँगै सुनगाभा लोटस इन्टरनेसनल र वनदेवी भेटफर्मालाई पनि अनुमति दिएको थियो। कान्तिपुरले ल्याएको खोपको मूल्य एक डोजको सुगम स्थानमा १२० र दुर्गममा १४० रूपैया तोकिएको छ। खोप आयात गरेका कम्पनीले स्थानीय तहलाई बिक्री गर्दै आएका छन्।उनीहरूले मागअनुसार पठाउने गरेका छन्। हिमाल, पहाड र तराईमा रोग लागेका चौपायालाई एकै किसिमको खोप लगाइएको छ। यो खोपबिना परीक्षण लगाइएको हो।विभागमा अनुसार यो खोप परीक्षण गर्ने र रोग परीक्षण गर्ने प्रविधि नै नेपालमा छैन ।

प्रकाशित: ८ आश्विन २०८० ०१:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App